कर कथा
देवर्षि नारद मृत्यु लोकमा के कस्ता कर लगाउँदा रहेछन् र कसरी लगाउँदा रहेछन् भन्ने बुझ्न मर्त्यलोकमा झरेछन् । मर्त्यलोकमा आइपुग्ने वित्तिक्कै धुलो उड्ने सडकको छेउमा अब कता जाने होला भनि अलमल परि यताउता हेर्दै रहेछन् । अलि परबाट हेर्दा एउटा जुँगामुठे एक्लै सडक खन्दै देखिन्थ्यो नजिक आइपुग्दा त कुलेलम पो ठोक्यो । सडक खनिक भागेको देखेर नारदजीले उसैलाई पछ्याउँदै ऊ जता जान्छ उतै पुगे । खनिक एउटा टहरा भएको ठाउँमा पुग्यो । त्यहाँ अरु मान्छे पनि थिए । बाहिर पट्टी अर्धसंस्कृत भाषामा केही लेखिएको थियोः मोबिलाइजेसन पेश्की निर्माण सेवा लिमिटेड ।
नारद अघिको मान्छे आफूलाई देख्दा किन भागेको रहेछ बुझ्न खोज्दै थिए । भित्र कोठामा एउटा सुटेड बुटेड मानव देखियो । स्वस्ति गर्दै नारदले कुरा शुरु गरे ।
नारदोवाचः वत्स उसै त धुलो सडक छ । खाल्टाखुल्टीले रथ हिडाउन मिल्ला जस्तो पनि छैन । ती खाल्टामा कति गहिरो धुलो छ अनुमान पनि लगाउन सकिदैन । रथ हिड्न सके पनि धुलोले सासै फेर्न सकिदैन । तेही सडक पनि कुनै एक मानव बनाउँन लागे जस्तो लागेको थियो । मलाई देखेर हो की किन हो भागेर यहाँ लुक्न आयो । खोज्न सहयोग गरिदिनु होस् ।
त्यो कुनै निर्माण कम्पनी परेछ । ठेक्का पार्ने र मोबिलाइजेसन पेश्की लिएर जग्गा दलाली गर्ने दलेको । सुटेड बुटेड मानव त्यो कम्पनीको मालिक परेछ । सात साल अगावै सात महिनामा सक्नुपर्ने ठेक्काको काम स्थानीयले नाराजुलुस गरेर बल्ल खने जस्तो देखाउन ठेकेदारले एक जना कामदार पठाएको रहेछ । आजै कर कानूनमा संशोधन आएर अब काम गरौं की नगरौं दोधारमा परेर बसेको रहेछ ।
कम्पनीको मालिकले आफ्ना कुरा नारदलाई सुनाएछ ।
सन्त महाराज । मेरा कुरा सुन्नुहोस् । मैले सात वर्ष अगावै सक्नु पर्ने ठेक्कामा पेश्की लिएर जग्गामा लगानी गरि खुबै कमाएँ तर ठेक्काको काम चाँही गरिन । अहिले स्थानीयले नारा जुलुस गरेर अति भए पछि काम शुरु गरौं भनेर कामदार पठाएको कर कानून संशोधन भएर बर्बाद भयो । त्यही भएर उसलाई तु फर्कनु भनेर मैले भनेकाले नै त्यो फर्केको हो । तपाईलाई देखेर होइन । तपाई देख्दै सन्त जस्तासँग त्यो किन डराउँथ्यो । ठेक्का पार्दा दश आठ त त्यो एक्लैले फालेर ठेक्का पारेको पो हो बुझ्नु भो ।
नारदले खासै कुरा बुझेनन् । तर मर्त्यलोकको मनुवाको कुरा नबुझेको जस्तो गर्नु नी भएन । तैपनी उनले अँ अँ ह ह भन्दै थप सवाल सोधे ।
"काम शुरु गरेर पनि करले कसरी अप्ठेरो पार्न सक्दछ र?"
समस्यामा परेको ठेकेदारले गुह्य कुरा नारदलाई सुनाउन इच्छा नै गरेन र भन्योः
"तपाई यस्ता प्राविधिक कुरा नै बुझ्नु हुन्न क्या ।"
तर नारद सामान्य मानिस थिएनन् नारद थिए । कागको फूल चोर्न सक्ने चलाख ।
पटक पटक भने पछि ठेकेदारले साउतीको स्वरमा उदाहरण सहित कर कथा यसरी सुनायो ।
" ल सुन गुरु ।
पहिलो पसलेले दोश्रो पसलेलाई सामान बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि लिन्छ र आफूले तिरेको कर कटाएर बाँकी राजस्व तिर्दछ । पहिलो पसलेले १ करोडमा किनेको सामान १ करोडमै बेच्यो भने आफूले १३ लाख कर तिरेको हुन्छ र १३ लाख नै उठाउने हुनाले उसको केही जाँदैनथ्यो ।
अब नियममा संशोधन भए पछि उसले १३ लाखको आधामात्र पाउँदछ आधा चाही राजस्वमा जान्छ ।
म त्यो दोश्रोबाट सामान किन्दथेँ । उसले मलाई नाफा नराखी १ करोडमै बेच्यो भने मैले १३ लाख कर तिर्नु पर्दछ । पहिला मबाट पाएको १३ लाख र उसले तिरेको १३ लाख राफसाफ हुन्थ्यो । तर अब मैले तिर्ने १३ लाखको आधा राजस्वमा जम्मा गरिदिन्छु आधा मात्रै दिन्छु ।
मैले त्यो सडकको काम गरे पछि मैले पनि १ करोड र करवापतको १३ लाख पाउनु पर्दछ । तर अब मैले पाउने १३ लाखको आधा सिधै राजस्वमा जम्मा हुने हुनाले मैले पाउने साढे ६ लाख र तिर्ने १३ लाख हुन्छ ।
समग्रमा सडक विभागले १३ लाख कर तिर्दछ तर राजस्वमा चाँही सडक विभागले नै साढे ६ लाख, मैले साढे ६ लाख, मलाई सामान दिने पसलेले साढे ६ लाख र पहिलो पसलेले १३ लाख गरी साढे ३२ लाख सिधै राजस्वमा जम्मा हुन्छ ।
लिने चाही टोटलमा १३ लाख तर राजस्वमा जम्मा गर्ने चाँही साढे ३२ लाख । तिर्ने १३ प्रतिशत क्रेडिट चाँही प्रभावकारी रुपमा साढे ६ प्रतिशत । ल भन्नुस् त कसरी काम होला । "
जेठको हप्हपी गर्मीमा पसिना पुछ्दै नारद पहिल्यै पूरै अलमलमा थिए । ठेकेदारको कुराको कुनै भेउ नै पाएनछन् ।
नारायण नारायण जप्तै थिए ।
ठेकेदारले ठेक्कामा १ करोड जतिको डिजेल लाग्दछ । त्यसको १३ लाख क्रेडिट पनि नपाइने भयो भन्न् खोजेको रहेछ । यसो हेर्दा त नारद त अन्तर्ध्यान पो भएछन् ।
हरि ॐ तत् सत् ।