VAT has single tax rate

कर कथा

देवर्षि नारद मृत्यु लोकमा के कस्ता कर लगाउँदा रहेछन् र कसरी लगाउँदा रहेछन् भन्ने बुझ्न मर्त्यलोकमा झरेछन् ।  मर्त्यलोकमा आइपुग्ने वित्तिक्कै धुलो उड्ने सडकको छेउमा अब कता जाने होला भनि अलमल परि यताउता हेर्दै रहेछन् ।  अलि परबाट हेर्दा एउटा जुँगामुठे एक्लै सडक खन्दै देखिन्थ्यो नजिक आइपुग्दा त कुलेलम पो ठोक्यो । सडक खनिक भागेको देखेर नारदजीले उसैलाई पछ्याउँदै ऊ जता जान्छ उतै पुगे । खनिक एउटा टहरा भएको ठाउँमा पुग्यो । त्यहाँ अरु मान्छे पनि थिए । बाहिर पट्टी अर्धसंस्कृत भाषामा केही लेखिएको थियोः मोबिलाइजेसन पेश्की निर्माण सेवा लिमिटेड ।

नारद अघिको मान्छे आफूलाई देख्दा किन भागेको रहेछ बुझ्न खोज्दै थिए । भित्र कोठामा एउटा सुटेड बुटेड मानव देखियो ।  स्वस्ति गर्दै नारदले कुरा शुरु गरे ।

नारदोवाचः वत्स उसै त धुलो सडक छ । खाल्टाखुल्टीले रथ हिडाउन मिल्ला जस्तो पनि छैन ।  ती खाल्टामा कति गहिरो धुलो छ अनुमान पनि लगाउन सकिदैन । रथ हिड्न सके पनि धुलोले सासै फेर्न सकिदैन । तेही सडक पनि कुनै एक मानव बनाउँन लागे जस्तो लागेको थियो । मलाई देखेर हो की किन हो भागेर यहाँ लुक्न आयो । खोज्न सहयोग गरिदिनु होस् ।

त्यो कुनै निर्माण कम्पनी परेछ । ठेक्का पार्ने र मोबिलाइजेसन पेश्की लिएर जग्गा दलाली गर्ने दलेको । सुटेड बुटेड मानव त्यो कम्पनीको मालिक परेछ ।  सात साल अगावै सात महिनामा सक्नुपर्ने ठेक्काको काम स्थानीयले नाराजुलुस गरेर बल्ल खने जस्तो देखाउन ठेकेदारले एक जना कामदार पठाएको रहेछ । आजै कर कानूनमा संशोधन आएर अब काम गरौं की नगरौं दोधारमा परेर बसेको रहेछ । 

कम्पनीको मालिकले आफ्ना कुरा नारदलाई सुनाएछ । 

सन्त महाराज । मेरा कुरा सुन्नुहोस् । मैले सात वर्ष अगावै सक्नु पर्ने ठेक्कामा पेश्की लिएर जग्गामा लगानी गरि खुबै कमाएँ तर ठेक्काको काम  चाँही  गरिन । अहिले स्थानीयले नारा जुलुस गरेर अति भए पछि काम शुरु गरौं भनेर कामदार पठाएको कर कानून संशोधन भएर बर्बाद भयो । त्यही भएर उसलाई तु फर्कनु भनेर मैले भनेकाले नै त्यो फर्केको हो । तपाईलाई देखेर होइन । तपाई देख्दै सन्त जस्तासँग त्यो किन डराउँथ्यो । ठेक्का पार्दा दश आठ त त्यो एक्लैले फालेर ठेक्का पारेको पो हो बुझ्नु भो । 

नारदले खासै कुरा बुझेनन् । तर मर्त्यलोकको मनुवाको कुरा नबुझेको जस्तो गर्नु नी भएन । तैपनी उनले अँ अँ ह ह भन्दै थप सवाल सोधे ।

"काम शुरु गरेर पनि करले कसरी अप्ठेरो पार्न सक्दछ र?"

समस्यामा परेको ठेकेदारले गुह्य कुरा नारदलाई सुनाउन इच्छा नै गरेन र भन्योः

"तपाई यस्ता प्राविधिक कुरा नै बुझ्नु हुन्न क्या ।"

तर नारद सामान्य मानिस थिएनन्  नारद थिए । कागको फूल चोर्न सक्ने चलाख ।
 
पटक पटक भने पछि ठेकेदारले साउतीको स्वरमा उदाहरण सहित कर कथा यसरी  सुनायो । 

" ल सुन गुरु ।

पहिलो पसलेले दोश्रो पसलेलाई सामान बेच्दा १३ प्रतिशत मूल्य अभिवृद्धि लिन्छ र आफूले तिरेको कर कटाएर बाँकी राजस्व तिर्दछ ।  पहिलो पसलेले १ करोडमा किनेको सामान १ करोडमै बेच्यो भने आफूले १३ लाख कर तिरेको हुन्छ र १३ लाख नै उठाउने हुनाले उसको केही जाँदैनथ्यो । 
अब नियममा संशोधन भए पछि उसले १३ लाखको आधामात्र पाउँदछ आधा चाही राजस्वमा जान्छ । 
म त्यो दोश्रोबाट सामान किन्दथेँ । उसले मलाई नाफा नराखी १ करोडमै बेच्यो भने मैले १३ लाख कर तिर्नु पर्दछ । पहिला मबाट पाएको १३ लाख र उसले तिरेको १३ लाख राफसाफ हुन्थ्यो । तर अब मैले तिर्ने १३ लाखको आधा राजस्वमा जम्मा गरिदिन्छु आधा मात्रै दिन्छु । 

मैले त्यो सडकको काम गरे पछि मैले पनि १ करोड र करवापतको १३ लाख पाउनु पर्दछ । तर अब मैले पाउने १३ लाखको आधा सिधै राजस्वमा जम्मा हुने हुनाले मैले पाउने साढे ६ लाख र तिर्ने १३ लाख हुन्छ । 

समग्रमा सडक विभागले १३ लाख कर तिर्दछ तर राजस्वमा चाँही सडक विभागले नै साढे ६ लाख, मैले साढे ६ लाख, मलाई सामान दिने पसलेले साढे ६ लाख र पहिलो पसलेले १३ लाख गरी साढे ३२ लाख सिधै राजस्वमा जम्मा हुन्छ ।  

लिने चाही टोटलमा १३ लाख तर राजस्वमा जम्मा गर्ने चाँही साढे ३२ लाख  । तिर्ने १३ प्रतिशत क्रेडिट चाँही प्रभावकारी रुपमा साढे ६ प्रतिशत ।  ल भन्नुस् त कसरी काम होला । " 

जेठको हप्हपी गर्मीमा पसिना पुछ्दै नारद  पहिल्यै पूरै अलमलमा थिए । ठेकेदारको कुराको कुनै भेउ नै पाएनछन् ।  

नारायण नारायण जप्तै थिए ।

ठेकेदारले ठेक्कामा १ करोड जतिको डिजेल लाग्दछ । त्यसको १३ लाख क्रेडिट पनि नपाइने भयो भन्न् खोजेको रहेछ । यसो हेर्दा त नारद त अन्तर्ध्यान पो भएछन् ।

हरि ॐ तत् सत् ।
 
 

Bhava Nath Dahal

Bhava Nath  Bhava Nath

About me

Bhava Nath Dahal is a renowned tax consultant and trainer in Nepal and the author of the bestselling tax book titled, “Income Tax and Value Added Tax.” Mr. Dahal was felicitated by Nepal Government in 2016 for his outstanding contribution to the public through tax education. Mr. Dahal is highly regarded for his understanding of Nepalese tax and has provided opinion on complex tax issues for all key industries in Nepal.

Social Links