दीर्घकालीन अल्पकालीन, लगानी व्यापार, ३६५ दिन अघि कि पछि
२०७८ जेठ १५ गते जारी भएको आर्थिक अध्यादेश, २०७८ ले सूचिकृत सुरक्षणको विक्रीमा हुने मुनाफामा ३६५ दिनभन्दा बढी र ३६५ दिनभन्दा घटी अवधिमा लाग्ने करको दर क्रमसः ५ र ७.५ प्रतिशत हुने गरी संशोधन भयो । पूजिँगत लाभकर भनिने यो करमा दुई वर्ष अगाडी संशोधन हुँदा बजारले प्रतिक्रिया जनायो । राज्यले पनि लगत्तै अर्को वर्ष पुरानै ५ प्रतिशत कायम गरेर लगानीकर्ताले उठाएको प्रतिक्रिया सम्बोधन गर्यो । यस पटक भने अलि फरक तरीकाबाट ३६५ दिनभन्दा बढी अवधि धारण गरेका सुरक्षणमा साविककै ५ प्रतिशत कर र ३६५ दिनभन्दा कम अवधि धारण गरेकालाई ७.५ प्रतिशत कर लाग्ने व्यवस्था गर्यो । यस पटक भने कर बढाउँदा लगानीकर्ताले सहज रुपमा लिए भने सामाजिक सञ्जालमा कर अझ बढाउनु पर्ने सम्मका पोस्ट पनि देखिए ।
नयाँ व्यवस्थामा भने अध्यादेश जारी भए पछि विभिन्न लगानीकर्ता, लेखाव्यवसायी तथा अन्य सरोकारवालाहरु यो थपको कार्यान्वयन र प्राविधिकता बारे सोध्ने बुझ्ने सक्रियता शुरु भएको छ । यस सन्दर्भका समस्या र समाधानको उपायमा यो लेख केन्द्रित छ ।
भन्दा बढी भन्दा कम
अध्यादेशले ३६५ दिनभन्दा बढी अवधि धारण गरेको सुरक्षणको लाभमा ५ प्रतिशत कर लाग्ने र ३६५ दिनभन्दा कम अवधि धारण गरेका सुरक्षणको लाभमा ७.५ प्रतिशत पूँजिगत कर लाग्ने व्यवस्था गरेको छ । कर कानूनमा अङ्क किटान भएका कानूनी व्यवस्था प्रायजसो यस्तै प्राविधिक समस्या परेका देखिन्छन् । दिन नै किटान गरेकाले यो अङ्क किटान गरेको अवस्था हो ।
आज किनेर आजै बेचियो भने यसको गणना १ दिन हुन्छ, शुन्य दिन हुदैन । त्यही सिद्धान्त अनुसार भोली बेचियो भने त्यो २ दिन हुने कुरा त यसैले बताइ हाल्छ । एवं क्रमले किनेको ३६४ औं दिनसम्मको विक्री निसर्ग पहिलो समूहमा पर्दछन् । त्यस हिसावले सोमबार किनेको शेयर बाउन्नौं हप्ताको आइतबार ३६४ औ दिन पर्न जान्छ । त्यसैले सोमबार किनेको शेयर बाउन्नौं हप्ता पुग्ने आइतबार बेचेमा त्यो ३६५ दिनभन्दा घटी भएकाले ७.५ प्रतिशत लाभकर लाग्दछ ।
सोही शेयर भोलीपल्ट बेचेमा त्यो ३६५ औं मा विक्री हुन्छ । तर यो दिन न ३६५ दिनभन्दा बढी हो न घटी हो । अध्यादेशमा ३६५ भन्दा बढी दिनका लागि साविकको ५ प्रतिशत कर लाग्ने व्यवस्था छ । त्यसले गर्दा कसैले ठीक ३६५ दिनमा नै शेयर बेचेमा के गर्ने समस्या पर्न आउँछ, ५% वा ७.५% कुन चाँही त । यसको जवाफ कर प्रयोजनमा सीधा छ । कर कानूनमा उही व्यवस्थाका लागि एकभन्दा बढी विकल्प उपलव्ध भएमा सम्बन्धित करदातालाई सबैभन्दा फाइदा हुने विकल्पलाई विधायिकाले कर लगाएको मानिन्छ, संविधानमा कानून बमोजिममात्र कर लाग्ने व्यवस्थाका कारण । यहाँ जम्मा दुई विकल्प छन् र ती सीधा तरीकाका छन्, ५% वा ७.५% । त्यसकारण कसैले ठीक ३६५ औं दिनमा शेयर बेचेमा त्यसमा करदातालाई सबैभन्दा फाइदाजनक विकल्प ५ प्रतिशत भएकाले लाग्दछ ।
शुरु दिन अन्तिम दिन
शेयर किनेकै दिन राफसाफ हुदैन । त्यसैले ३६५ दिन गन्दा पहिलो र अन्तिम दिन कसरी तय गर्ने त? यसको सरल उत्तर लगानीकर्ताको स्वामित्वमा शेयर आएको दिन पहिलो दिन हो भने स्वामित्वबाट शेयर झिकिएको दिन अन्तिम दिन हो । आफ्नो खाताबाट शेयर गइसके पछि पाउनेले जहिले सुकै पावस् बेच्नेले वास्ता गरेर बस्नु पर्दैन ।
नयाँ डिम्याटको पहिलो दिन
कर कानूनले लगानीकर्ताको शेयरमा भएको अवधिका रुपमा कर लगाउने व्यवस्था गरेको हो, सफ्टवेयरको डाटावेशको आधारमा होइन । सफ्टवेयर बनाउँदा आवश्यक पर्ने लगानीकर्ताको वास्तविक विवरण डाटाबेसमा लिएकै हुन्छ । त्यसकारण पुराना लगानीको नयाँ डिम्याट गरिएमा ती शेयरको अवधि सो लगानीकर्ताले वास्तवमा लगानी गरेको मितिबाट गणना हुन्छ, डिम्याट गरेको मितिबाट होइन ।
सूचिकरण भैरहेकै कम्पनीको नयाँ शेयरको सूचिकरण, नयाँ कम्पनीको सूचिकरण, बोनस शेयर, हकप्रद शेयर सबैमा यही तरीका लागु हुन्छ, शेयर जारी गरेका वा खरिद गरेको वास्तविक दिनका आधारमा ।
भारित औषत
लाभको गणना गर्दा विक्री रकम त सजिलै निर्धारण हुन्छ कारोवार अङ्कका आधारमा हुने हुनाले । तर लागतका लागि सम्बन्धित कम्पनीका शेयर किन्दा तिरेको रकमको भारित औषतलाई लागत मान्ने व्यवस्था सोही दफामा रहेको छ । अब एउटा कम्पनीको शेयर धनीले सो कम्पनीका शेयर बेच्दा तीन थरी अवस्था पर्न सक्दछः
पहिलो अवस्था, भएका सबै शेयर ३६५ दिन वा सोभन्दा बढी अवधी धारण गरेको अवस्थाः यस्तोमा पूरै शेयरको भारित मूल्य गणना गरी लागत गणना गरी लाभ गणना गरिन्छ । यसमा कुनै समस्या द्विविधा पनि पर्दैन ।
दोश्रो अवस्था, भएका सबै शेयर ३६५ दिनभन्दा घटी अवधी धारण गरेको अवस्थाः यस्तोमा पूरै शेयरको भारित मूल्य गणना गरी लागत गणना गरी लाभ गणना गरिन्छ । यसमा पनि कुनै समस्या द्विविधा पनि पर्दैन ।
तेश्रो अवस्था, शेयरधनीसङ्ग ३६५ दिनभन्दा घटी र बढीका दुई थरी नै शेयर भएको अवस्थाः यस समूहमा तीन वटा उपसमूह बन्दछन् । दुवै थरी शेयरमध्ये बेचेका शेयरको संख्या ३६५ दिनभन्दा बढी भएको संख्यामात्र विक्री गरेको वा ३६५ दिनभन्दा कम अवधी भएको संख्यामात्र विक्री गरेको र बेचेको शेयरको संख्याले नै दुवै थरीका संख्या देखाउने । शेयरको अवधी र संख्या जेसुकै भएता पनि यसको समाधान भने एउटै हुन्छ ।
कर कानूनको अर्को एक सिद्धान्तले यसलाई समाधान गर्दछ । कुनै करदाताले कर निर्धारणको कुनै सुविधा पाउने रहेछ भने त्यस्तो सुविधा लिन तोकिएका सबै शर्त पूर्णरुपमा पालना(strict compliance) गरेको हुनु पर्दछ । त्यस्ता सुविधा लिन आवश्यकता अनुसार करदाता वेग्लै व्यक्तिको रुपमा आय गणना गर्ने, वेग्लै कारोवारको रुपमा लेखाङ्कन गर्ने वा वेग्लै कर अवधीको रुपमा लेखाङ्कन गर्नुपर्ने हुन सक्दछ ।
यस सिद्धान्त अनुसार ३६५ दिनभन्दा बढी र घटीको कारोवार निर्धारण गर्न खरिद गरिएका शेयरमध्ये ३६५ दिन नपुगेका शेयर एक कम्पनीका शेयर सरह बेग्लै गणना गर्नु पर्दछ । खरिद गरेको ३६५ नाघेका शेयर उही कम्पनीलाई अर्को कम्पनी जस्तो सम्झेर अर्कै समूहमा समावेश गर्नु पर्दछ । खरिद गरेको शेयर जुनदिन ३६५ दिन पुग्छ सोही दिन पहिलो समूहबाट दोश्रो समूहमा स्थानान्तरण गर्नु गरिन्छ । सारेका दिनको भारित औषत लागत नै सर्ने लागत हुन्छ र पहिलो समूहमा लागत तथा शेयर घट्छ भने दोश्रो समूहमा बढ्दछ र नयाँ भारित दर गणना हुन्छ । यसरी शेयर बेच्दा कुन समूहको शेयर बेचेको हो करदाताले छान्नु पर्दछ । आफ्नो स्वामित्वको शेयर विक्री गर्दा समूह नै तोकिने हुनाले सोही समूहको तत्काल कायम रहेको भारित औषत दरले हुने रकम नै लागतमा गणना गरिन्छ ।
अब प्रश्न उठ्छ, के कुनै करदाता लगानीकर्ताले यत्रो हिसाव राख्न सक्छ त? यहाँ बुझ्नु पर्ने आधारभूत कुरा भनेको यो गणना गर्ने उत्तरदायित्व आयकर कानूनले सुरक्षणको कारोवार गर्ने बजार अर्थात नेप्सेको हो । नेप्सेले आफ्नो सफ्टवेयरमा अद्यावधिक गर्ने हुनाले लगानीकर्तालाई आफ्नो हिसाव मिल्यो मिलेन कति कर तिरियो जस्ता व्यक्तिगत जानकारी बाहेक कर गणना गरिरहनु पर्दैन । सामान्य जानकारी राखे पर्याप्त हुन्छ । नेप्सेका लागि पनि सफ्टवेयर अद्यावधिक गर्न जेठ १५ देखि डेढ महिनाको समय छदैंछ ।
बोनस शेयर हकप्रद शेयर
शेयरको लागतमा उठ्ने अर्को विषय भनेको बोनस शेयर वा हकप्रद शेयरको समायोजन हो । बोनस हकप्रद ३६५ दिनभन्दा बढी की घटी त? यसको जवाफ आयकर कानूनमा खुलाएरै राखिएको छ । बोनस शेयरलाई शुन्य मूल्यको मानिदैन र शेयरको अङ्कित मूल्य जस्तै रु १०० लगानीकर्ताले तिरेको मानिन्छ । हकप्रद शेयरमा त आफ्नै पैसा तिरेकै हुन्छ । जुन दिन यी शेयर लगानीकर्ताले प्राप्त गरेका हुन्छन्, त्यो दिन त्यो शेयरको स्वामित्वको पहिलो दिन हुन्छ । कम्पनीले शेयर जारी गरेको दिन यी शेयर प्राप्त गरेको मानिन्छ, त्यो शेयर सूचिकरण भएको वा डिम्याट भएको दिन होइन ।