NMB Bank

सूचिकृत सुरक्षण विक्रीमा पूँजिगत लाभकर

सुचिकृत सुरक्षणको पूजिगत लाभमा कर

आधुनिक अवधारणा मानिएका अन्य पेशा, ब्यवसाय, लगानी जस्तै हाम्रो शेयरबजार पनि आधुनिक तर अल्पविकसित स्वरुपमा रहेको छ । शेयर बजार सानो छ । थोरै थोरै शेयरको कारोवार हुन्छ । मूल्य सूचकाङ्क देखाउने सूचक कहिले हररर बढ्छ कहिले सर्ल्याक्सुर्लुक घट्छ । लगानीकर्ता स्वयं ज्ञानी हुनु पर्दछ,खासै लगानी शिक्षा उपलव्ध छैन । नजानी नजानी लगानी गर्‍यो कहिलो नाफाले खुशी भयो कहिले सावाँ नै डुब्ने अवस्था हुन्छ । यसरी नै चलिरहेको छ ।

कुनै पनि पेशा व्यवसाय वा लगानीमा नाफा कमाउनेलाई सो नाफामा राज्यले कर लिन्छ, आयकर । कारोवारका आधारमा अन्य शुल्क तथा करहरु पनि लागेकै हुन्छन् । तर आयकर भने नाफा भएमा लाग्दछ नाफा नभएमा लाग्दैन । हाम्रो पूँजिबजारमा यस्तो आयकरलाई पूँजिगत लाभकर वा लाभकर मात्रै पनि भन्ने गरेको सुनिन्छ। आयकर कानूनमा पनि एक ठाउँमा यो करलाई पूजिगत लाभकै नाममा लिइएको छ ।

सानो बजार र पूँजिबजारको खासै शिक्षा नभएका लगानीकर्ता भएकाले पूँजिगत लाभकरमा बजार संचालक नेपाल स्टक एक्स्चेन्ज(नेप्से)नियामक धितोपत्र बोर्ड वा शेयर दलालले जे जे भन्दछन् लगानीकर्ताले त्यसैलाई आधार मानेर करशिक्षा पाइरहेका छन् । सहि र अद्यावधिक कर सूचना उपलव्ध गराउने हो भने करशिक्षाको यो तरीका पनि सहि हो । सही कर सूचना समयमा नै उपलव्ध गराउन नसक्ने हो वा आफैं अन्यौलमा रहने हो भने लगानीकर्ताहरु जहिले पनि करका कारण अप्ठेरोमा पर्ने नै हुन्छन् ।

अप्रत्यक्ष कर

लगानीकर्ताले कारोवार नै पिच्छे सिधै तिर्ने कर तथा शुल्कहरुलाई अप्रत्यक्ष कर हुन । हुन त धितोपत्र बोर्ड तथा शेयरबजार र दलालले लिने कारोवार शुल्कलाई कर भनिएको छैन, तर पनि यी शुल्कको अवधारणा करभन्दा खासै फरक पनि छैन । नियामक निकायले शुल्क लिनु करको वृहद परिभाषा अनुसार कर नै हो । यस्तो शुल्कको रकम विगतभन्दा घटाइए पनि अझै ठूलै रकम रहेको छ ।  

पूँजिबजारमा विगतका केही वर्ष शेयर दलाल र नेप्सेले उठाएको सेवा शुल्कमा मूल्य अभिवृद्धि कर लाग्ने हो की होइन भन्ने विवादमै वित्यो । तर २०७५ जेष्ठ १५ देखि यस्तो शुल्कमा मूल्य अभिवृद्धि कर नलाग्ने स्पष्टता गरिएको छ । मूल्य अभिवृद्धि करको यो विवाद शुरुदेखि नै अर्थात २०५४ मंशिर १ गतेदेखि नै यस्ता शुल्कमा मूल्य अभिवृद्धि कर नलाग्ने गरी सहुलियत दिएको छ । विगतमा कर निर्धारण भैसकेको पनि रद्द भएको छ ।

आयकर

पूँजि बजारमा लगानीकर्ताले आफ्नो लगानीमा रहेको शेयर वा सुरक्षण विक्री वा अन्य तरीकाले हक हस्तान्तरण गर्दा आयकर ऐन, २०५८ अनुसार कर लाग्दछ । आर्थिक ऐन २०५८ ले नेप्सेमार्फत २०५८ श्रावण १ गतेदेखि लगाएको कर २०५८ साल चैत्र १९ गते आयकर ऐन, २०५८ लागु भए पछि नेप्सेले नउठाइ लगानीकर्ता स्वयंले आयविवरण भरी तिर्नु पर्नेमा कानूनमा व्यवस्थै नभए पनि २०५८ चैत्र १९ देखि २०६४ आषाढ मसान्तसम्म उठाइरह्यो । लगानीकर्ताहरुले तिरी रहे तर कानूनले भनेको स्वयंकर विवरण चाही बुझाएनन् । यसरी सुरक्षण विक्रिको लाभमा लागेको कर करदाताले तिरेर पनि कानून मिचे । नेप्से र शेयर दलालले कानून मै नभएको कर कटाएर कानून मिचे । राज्यले जति कर आउनु पर्ने थियो त्यति कर आएको देखेर आँखा चिम्लेर कानून मिच्यो । सबै तैं चुप मैं चुप भए । यस बिचमा करको कुनै हेराफेरी तलमाथि भयो भएन खासै मत्लव गरिएन ।

सुरक्षण विक्रीमा भएको लाभमा लाग्ने कर नेप्सेले उठाउनु पर्ने व्यवस्था २०६४ श्रावण १ मा पुनः कानूनमा नै ल्याए पछि कसरी गणना गर्ने भन्ने विषयमा गोलमाल उठ्न पुग्यो । त्यतिखेरसम्म आन्तरिक राजस्व विभागको पूजिगत लाभसम्बन्धि निर्देशिका पनि बनेको थिएन । अर्थ मन्त्रालयले २०६५।८।२३ मा आयकर कानुन अनुसार अधिकार नै नभएता पनि अभिभावकीय परिपत्र गरि यो गोलमालको तत्कालिन निप्टारा गरिदियो ।

अर्थ मन्त्रालयको तत्कालिन निप्टरामा लाभ गणना गर्ने विषयमा आयकर कानूनले तोकेको तरीका अवलम्बलन गरिएन । सरोकारवालाहरुसँगको छलफलबाट निर्धारण गरिएको तरीकालाई लगत्तैको आर्थिक ऐनमा समाहित गरेर सो परिपत्रका अक्षरलाई कानूनी स्वरुप दिनु अनिवार्य हुन्थ्यो । तर यसका कुनै पनि सरोकारवालाहरुले यसतर्फ ध्यान पुर्‍याउन सकेनन् वा चाहेनन् । यसले गर्दा विगत एक दशकदेखि लाभ गणनाको कानूनमा भएको तरीका कानूनमा नै बसिरह्यो परिपत्रको तरीका व्यवहारमा बसिरह्यो ।

आयकर कानून अनुसार लाभ गणना

आयकर ऐन, २०५८ को दफा ३९, ३८, ३७३६मा सुरक्षण विक्रीको लाभ गणना गर्ने तरीकाको कानूनी व्यवस्था रहेको छ । धेरैले पूँजिगत लाभमा करका लागि आयकर ऐन, २०५८ को दफा ९५क को व्यवस्थामा मात्र ध्यान दिए । वास्तवमा दफा ९५क लाभ गणना गर्ने वा कर लगाउने दफा नै होइन । यो त नेप्सेलाई अग्रिम कर उठाउन जिम्मेवारी दिएको दफा थियो ।

आम्दानी  (Incomings):  आयकर ऐन, २०५८ को दफा  ३९,अनुसार कुनै सुरक्षणका लागि सो लगानीकर्ताले सो सुरक्षण निजको स्वामित्वमा आएका मितिदेखि निःशर्ग गरेको मितिभित्र जुनसुकै रुपमा प्राप्त गरेको रकमलाई आम्दानी मान्ने व्यवस्था गरेको छ । यसरी गणना गर्दा सुरक्षण आफ्नो स्वामित्वमा भइ राखेका अवधीमा पाउने लाभांसलाई  fruit and tree conceptअनुसार आम्दानी मानिदैन । शेयर सुरक्षणमा विक्रीका समयमा मात्र विक्री मूल्य हुने हुनाले स्वामित्वमा आएको मिति वा आफूले सो सुरक्षण लिइराखेको अवधिमा कुनै लेना प्राप्त हुदैन ।

खर्च  (Outgoings):  आयकर ऐन, २०५८ को दफा३८ अनुसार कुनै सुरक्षणका लागि सो लगानीकर्ताले स्वामित्व लिँदाका बखत तिरेको वा स्वामित्व बहन गरिरहेका अवधीमा तिरेको वा सुरक्षण निःशर्ग गर्दा तिरेको सम्पूर्ण रकम खर्चमा समावेश हुन्छ । यदी बोनस शेयर वा यस्तै सुरक्षण रहेछ भने सो बोनस शेयर प्राप्त भएका कारण कर तिर्ने आधार अंक वा अंकित मूल्य नै सो सुरक्षणको लागि तिरिएको रकम मानिन्छ । यसरी शेयरको खर्चमा निम्न रकमहरु समावेश हुन्छन्:

  • सो शेयर खरिद गर्दा तिरेको मूल्य र सो खरिद गर्दा तिरेको शुल्क,
  • बोनस शेयर भए सो शेयरको अंकित मूल्य,
  • हकप्रद शेयर भए तिरेको मूल्य र लागेका शुल्कहरु (हकप्रद अधिकार छोड्दा लिने रकमलाई आम्दानीमा समावेश गर्नुपर्ने भएता पनि अहिलेसम्म व्यवहारिक रुपमा वास्ता गरेको चाही छैन),
  • एफपिओबाट खरिद गरेकोमा खरिद मूल्य र सो खरिद गर्दा तिरेको शुल्क
  • लिलामीको शेयर भए तिरेको मूल्य र लागेका शुल्कहरु

लगानीकर्ताहरुले व्यवहारमा प्रयोग नगरेको भएता पनि शेयरको खर्चमा'प्रमाण पुर्‍याउन'सक्ने हो भने हुलाक टिकटको मूल्य, आतेजाते खर्च, स्टेसनरी खर्च,  ऋण लिएर शेयर खरिद गरेको अवस्थामा तिरेको व्याज रकम समेत् समावेश गर्न पाइन्छ । आयकर ऐन, २०५८ ले सो लगानीसँग सम्बन्धित खर्चहरु सबैलाई खर्च  (Outgoings) मानेको छ । तर यस्ता खर्चमा वार्षिक साधारण सभामा जाँदा भएका खर्चहरु वा व्यक्तिगत खर्चहरु चाही समावेश गर्न निषेध गरेको छ ।

लाभ वा नोक्सानी  (Gain/loss):आयकर ऐन, २०५८ को दफा ३७ अनुसार कुनै सुरक्षण निःशर्ग हुँदा सो सुरक्षण वापत को आम्दानी  (Incomings) बाट सोही सुरक्षणको खर्च(Outgoings)घटाइ आउने रकमलाई लाभ  (gain) वा  (loss)  भनेको छ । कुनै सुरक्षण विक्री वा अन्य तरीकाका निःशर्ग भएमा नेप्सेले यही लाभको रकममा दफा ९५क अनुसार अग्रिम कर असुल गर्दछ । नोक्सानी भएको निःशर्गमा नेप्सेले कुनै कर लिन पाउँदैन । प्रत्येक सेयरको लाभ वा नोक्सानी गणना गर्ने हुनाले अघिल्ला वा पछिल्ला लाभसँग यस्तो नोक्सानी भने नेप्सेले समायोजन गर्न सक्दैन पाउँदैन । 

हरेक शेयर वा सुरक्षणलाई बेग्लावेग्लै सम्पति मानी लाभ गणना गर्नेः सुरक्षण वापतको आम्दानी  (Incomings), खर्च  (Outgoings)  र लाभ वा नोक्सानी  (Gain/loss) को गणना हरेक सुरक्षणको वेग्लावेग्लै गर्ने  कानूनी व्यवस्था छ । ससाना लटमा किनिएका शेयर वा अडलट शेयरहरुका प्रत्येक शेयरको बेग्लावेग्लै गणना गर्नु पर्ने काम पट्यार लाग्दो चाही हुन्छ । कुनै शेयरप्रमाणपत्रमा भएका धेरै कित्ता शेयरहरुमध्ये आंशिक विक्री गरी बाकी रहने शेयरमा पनि पुरानै खरिद मूल्यमा  बाकी शेयरको गणना हुन्छ । 

बैंक र वित्तीय संस्थाहरु मर्जरका कारण जारी भएका नयाँ शेयरको मूल्य गणना गर्न कानूनी रुपमा केही असहजता छ  । कारण स्पष्ट छ मर्जरमा गएका बैंकका शेयरधनीले विभिन्न मूल्यमा किनेका शेयरहरु प्रतिष्थापित भएर नयाँ शेयर पाएका छन् विभिन्न अनुपातमा । आन्तरिक राजस्व विभागले यस्ता शेयरको खर्च  
(Outgoings)  गणना गर्ने तरीकाको हालसम्म कुनै सार्वजनिक परिपत्र गरेको देखिंदैन । यही २०७५।२।१८मा जारी भएको पत्रमा पनि यस्तो तरीका खुलाएको देखिन्न । कानून बमोजिम त्यस्तो सार्वजनिक परिपत्रले कार्यविधीसम्म तय गर्ने हो यसका लागि दफा ४९ मा भएको बाँडफाँडको तरीका तोक्नेसम्म हुन सक्दछ ।  कुनै सार्वजनिक परिपत्रबाट खर्च  (Outgoings)  गणना गर्ने विधी निर्धारण नभएसम्म हालको बैंकका हरेक शेयरको खर्च  (Outgoings) मर्जर हुँदाका बखतमा बन्द भएको कम्पनीका शेयरको भार अनुसारको संख्या र परेको लागतलाई प्रतिष्थापन गर्ने नयाँ बैंकको शेयरले भाग गरी गणना गर्नु पर्दछ । विभागले कुनै कार्यविधीमा अन्यथा नतोकेसम्म rounding error मा पर्ने शेयरको लागत करदातालाई फाइदाजनक हुने अंशमा राख्न पाउनेछ ।  नेप्से र सिडिएसको डाटाबेसमा दफा ४९ बमोजिम गणना गर्न नमिल्ने अवस्था भएमा सरलताका लागि मर्जर भएका शेयरको प्रतिशेयर मूल्य जम्मा लागतबाट भाग गर्ने गरी भारित औषत दर कायम गर्न पूर्वादेश माग गर्न सक्दछ ।  

यस्तो लाभ वा नोक्सानीको गणना बासिन्दा वा गैर बासिन्दा तथा प्राकृतिक व्यक्ति वा निकायका लागि उस्तै र समान तरीकाले हुन्छ ।


अग्रिम करः यस्तो लाभमा नेप्सेले कर लिँदा भने  दफा ९५क मा देहाय अनुसारको व्यवस्था गरिएको देखिन्छः

                              आर्थिक वर्ष २०७४/७५                          आर्थिक वर्ष २०७५/७६

बासिन्दा प्राकृतिक व्यक्ति          ५%                                                          ७. ५%

बासिन्दा निकाय                       १०%                                                           १०%

गैरबासिन्दा व्यक्ति                 १०%                                                            २५%

तर तीनपुस्ताभित्रको हस्तान्तरण वा म्युचुअल फन्डको निःशर्ग वा स्वीकृत अवकाशकोषको निःशर्गमा भने कर लाग्दैन । अर्कातिर कुनै निकायमा दफा ४१, ४३, ४५वा ४६ का व्यवस्था लागु भएमा नेप्सेमा कारोवार नै नभइ कर लाग्न जान्छ ।

अर्कातिर आयकर कानूनमा value shifting provision नभएका कारण पूरानो कम्पनीले जारी गरेका नयाँ शेयर (वा पूरानै शेयरमा पनि) परेको मूल्य नै मूल्य हुन्छ । त्यसकारणले एफपिओको शेयर जारी भएको अवस्थामा पूराना शेयरधनीलाई कुनै कर लाग्दैन । नयाँ शेयरधनीले तिरेको मूल्य नै शेयरको लागत खर्च  
(Outgoings) हुन जान्छ । 

आन्तरिक राजस्व विभागले नेपाल स्टक एक्स्चेन्ज, धितोपत्र बोर्ड र सिडिएसलाई२०७५।२।१८मा लेखेको र २०७५।२।२० देखि लागु हुने गोप्य पत्र चुहिएको देखिन्छ । उक्त पत्रको भाषामा सामान्य असहजता रहे पनि सो पत्रको भनाइ यिनै दफा ३९, ३८ र ३७ सँग तादम्यता राख्दछ । उक्त पत्रले २०७५।२।२० देखि लागु हुने गरी गणना विधीमात्र उल्लेख गरेको हो करको नयाँ दर त आर्थिक आदेश अनुसार २०७५ श्रावण १ देखिमात्र लागु हुन्छ ।  नेप्सेले २०७५ जेष्ठ २० गतेदेखिका कारोवारमा प्रत्येक शेयरमा सो लगानीकर्ताले खरिद गरेका मितिदेखि हालसम्म भएका खर्च कटाएर लाभ निकाल्नु पर्दछ, शेयरगत रुपमा । कुनै शेयरमा नोक्सानी हुन गएमा भने  दफा ९५क ले नेप्सेलाई सो नोक्सानी अर्को शेयरमा हुने लाभमा मिलाउने अधिकार रहन्न ।

खुदलाभ वा खुदनोक्सानी  (net-gain/net-loss):  आयकर ऐन, २०५८ को दफा ३६ अनुसार कुनै व्यक्तिको आय गणना गर्दा खुद लाभभएमात्र सो खुदलाभ आयमा समावेश गर्नु पर्दछ । यसरी खुदलाभ गणना गर्दा सो व्यक्तिले सो वर्ष बेचेका सुरक्षणमा भएको नोक्सानी वा विगत जतिसुकै वर्ष पुरानो भएता पनि त्यस्ता नोक्सानी समायोजन गरीबाकी रहने रकममात्र खुद लाभ हुन्छ । यदी सो व्यक्तिको शेयरमा लगानी बाहेक अन्य कुनै व्यवसायमा नोक्सानी रहेछ भने वा जग्गा विक्रीमा नोक्सानी रहेछ भने जतिसुकै पुरानो नोक्सानी पनि यो खुदलाभमा समायोजन गर्न पाइन्छ । सबै नोक्सानीहरु कटाइ बाकी रहेको लाभमा वार्षिक कर गणना हुन्छ ।  वार्षिक करको दर चाही निम्न अनुसार हुन्छ र नेप्सेमा तिरेको कर घटाउन पाइन्छः
                              आर्थिक वर्ष २०७४/७५                          आर्थिक वर्ष २०७५/७६

बासिन्दा प्राकृतिक व्यक्ति          ५%                                                          ७. ५%

बासिन्दा निकाय                       २५%                                                          २५%

गैरबासिन्दा व्यक्ति                 २५%                                                          २५%

वार्षिक कर गणना गर्दा शेयरकोमात्र आय हुने वा अन्य आय भएका बासिन्दा प्राकृतिक दम्पति भए रु.४ लाख र एकल भए रु. ३ लाख ५० हजारसम्मको आयमा कर पनि तिर्नु पर्दैन र नेप्सेले कट्टा गरिराखेको कर बढी हुन जान्छ । यस्तो बढी भएको कर दफा ११३बमोजिम बढीमा दुई वर्षभित्र फिर्ता माग गर्नु पर्दछ । फिर्ता हुने करमा कानून अनुसार वार्षिक १५ प्रतिशतका दरले व्याज पनि पाइन्छ ।

व्यवहारमा लगानीकर्ताहरुले नयाँ पुराना सबै नोक्सानी समायोजन गर्न पाउने यो तरीकाबाट गणना गरेको विरलै देखिन्छ । उता वार्षिक १५ प्रतिशतका दरले व्याज सहित करफिर्ताको व्यवस्था पनि धेरैलाई थाहै नभइ कानूनका पन्नामा नै सिमित बसेको देखिन्छ ।


Bhava Nath Dahal

Bhava Nath  Bhava Nath

About me

Bhava Nath Dahal is a renowned tax consultant and trainer in Nepal and the author of the bestselling tax book titled, “Income Tax and Value Added Tax.” Mr. Dahal was felicitated by Nepal Government in 2016 for his outstanding contribution to the public through tax education. Mr. Dahal is highly regarded for his understanding of Nepalese tax and has provided opinion on complex tax issues for all key industries in Nepal.

Social Links