सवारी साधनको आयात घट्दो क्रममा

पर्सा — मुलुककै सर्वाधिक बढी सवारी साधन आयात हुने नाका वीरगन्ज/आईसीपी भन्सार नाकाबाट सवारी साधनको आयात घट्दो क्रममा छ । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा गत आवको यसै अवधिको तुलनामा जिप, कार, भ्यान, मोटरसाइकल, गाडीको चेसिस, बस, मिनीबस, माइक्रोबस आदि सवारी साधनको आयात घटेको हो ।

वीरगन्जस्थित आईसीपी भन्सारको यार्डमा जाँचपासका लागि राखिएका भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सवारी साधन । तस्बिर : शंकर/कान्तिपुर 

भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आवको साउनदेखि माघसम्ममा गरी यो नाकाबाट १३ अर्ब ४४ करोड रुपैयाँ राजस्व बुझाएर ६ अर्ब १५ करोड बराबरको ६ हजार ६ सय १२ थान जिप, कार, भ्यान आयात भएका छन् । गत आवको यसै अवधिमा १२ अर्ब ४१ करोड राजस्व बुझाएर ५ अर्ब ९८ करोड बराबरको ७ हजार ६ सय ५९ थान जिप, कार, भ्यान आयात भएका थिए ।तुलनात्मक रूपमा चालु आवमा १ हजारको संख्यामा यस्ता सवारीको आयात घटेको छ । त्यसैगरी, चालु आवको यस अवधिमा यो नाका हुँदै ७ अर्ब ४१ करोड राजस्व बुझाएर ६ अर्ब ६९ करोड बराबरका ७३ हजार ७ सय ८९ थान मोटरसाइकल आयात भएका छन् ।

गत आवको यसै अवधिमा ७ अर्ब ४५ करोड राजस्व बुझाएर ७ अर्ब ३० करोड बराबरका ८६ हजार ८ सय ८६ थान मोटरसाइकल आयात भएका थिए । यसरी करिब मोटरसाइकलको आयात चालु आवमा १३ हजार थाक कम भएको छ । चालु आवमा १ अर्ब २८ करोड राजस्व बुझाएर २ अर्ब ७२ करोड बराबरका १ हजार ७ सय ४० थान गाडीका चेसिस आयात भएका छन् । गत आवको यस अवधिमा १ अर्ब ८६ करोड राजस्व बुझाएर ३ अर्ब ९३ करोड बराबरका २ हजार ७ सय ६ थान चेसिस आयात भएको थियो ।

तुलनात्मक रूपमा यस वर्ष करिब १ हजार कम चेसिस आयात भएको छ । चालु आवको ७ महिनामा ४८ करोड १८ लाख राजस्व बुझाएर १ अर्ब १८ करोड बराबरका २ सय ८९ थान बस, मिनिबस, माइक्रोबस आदि आयात भएका छन् । जबकि गत आवको यसै अवधिमा ४७ करोड ७६ लाख राजस्व बुझाएर ५६ करोड १९ लाख बराबरका ३ सय १२ थान यस्ता सवारी आयात भएका थिए । तुलनात्मक रूपमा यस वर्ष २३ यस्ता सवारी कम आयात भएका छन् । वीरगन्ज भन्सारले संकलन गर्ने राजस्वमा सवारी साधनबाट आउने राजस्वले महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । सवारी साधनको आयात घटदा यो भन्सारले लक्षित राजस्व संकलन गर्न सक्दैन । त्यसको परिणामस्वरूप पछिल्लो चार महिनायता यो भन्सारले मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको छैन ।

नेपालमै नयाँ सवारी साधन र त्यसमा पनि जिप, कार, भ्यानको मुख्य बजार नै राजधानी हो । राजधानीमा ग्राहकले बुक गरे लगत्तै आयातकर्ता कम्पनीले यहाँबाट सवारी साधन जाँचपास गराएर लग्छन् । समुद्री मार्गबाट भारतको कोलकाता बन्दरगाहसम्म ल्याइने तेस्रो मुलुकबाट आयातित सवारी साधनदेखि भारतमै निर्मित सवारी साधन पनि भौगोलिक निकटता र यहाँबाट राजधानी लग्न छोटो दूरी पर्ने भएकाले पनि आयातकर्ताले सवारी साधन आयातका लागि वीरगन्ज नाका नैरुचाउने गर्छन् ।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत मनिष महतोले यो नाकाबाट सवारी साधनको आयात घट्नुमा आयातकर्ताले नाका परिवर्तन गरेको हुन सक्ने बताए । ‘आयातकर्ताले भैरहवा नाका सवारी साधनको आयातको लागि प्रयोग गरेको हुन सक्छ,’ उनले भने, ‘यस बाहेक बैंकरूले बढाएको व्याज दर, अटो लोनमा गरेको कडाइ लगायतका कारण पनि सवारी साधनको आयात घटेकोहुन सक्छ ।’

यो समाचार  कान्तिपुर राष्ट्रिय दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links