लकडाउनको अवधिमा सूर्तिजन्य पदार्थबाट १ अर्ब ७१ करोड ३१ हजार कर संकलन

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारणले नेपाल गत चैत ११ गतेदेखि पूर्ण रुपमा लकडाउनको घोषणा गरेको थियो।

त्यससमयमा सबै वस्तुको आयात ठप्प भएको हामीलाई कतिपयलाई लागिरहेको हुनसक्छ।

तर, लकडाउनको समयमा समेत ५८ करोड रुपैयाँ बराबरको सूर्तिजन्य पदार्थ आयात भएको तथ्याङ्कले देखाएको छ।

लकडाउन सुरु भएको आव २०७६/०७७ को चैत महिनादेखि जेठ महिनासम्ममा उक्त रकमको सूर्तिजन्य पदार्थ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो।
अघिल्लो आव २०७५/०७६ को सोही अवधिमा भने ९० करोड रुपैयाँको सूर्तिजन्य पदार्थको आयात भएको तथ्याङ्कमा उल्लेख छ।

त्यस्तै, लकडाउनको अवधिको आव २०७६/७७ को चैतदेखि असार महिनासम्म सूर्तिजन्य पदार्थबाट १ अर्ब ७१ करोड ३१ हजार अन्तशूल्क कर उठेको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ। सोही अवधिमा चुरोटबाट भने ३ अर्ब ७२ करोड ४२ लाख, ५० हजार अन्तशूल्क कर संकलन भएको छ।

विभागको तथ्याङ्कअनुसार अघिल्लो आव २०७५/७६ को सोही अवधिमा सूर्तिजन्य पर्दाथबाट २ अर्ब १७ करोड ७० लाख ९० हजार उठेको छ। यस समयमा चुरोटबाट भने ३ अर्ब ४४ करोड ५३ लाख ४२ हजार अन्तशूल्क कर संकलन भएको छ।

कोभिड संक्रमणमा सूर्तिजन्य पदार्थको जोखिम

तथ्याङ्अनुसार कोभिडको महामारी फैलिएको अवस्थामा समेत अघिल्लो आवको तुलनामा सूर्तिजन्य पदार्थको कारोबारमा धेरै तलमाथि भएको देखिदैन।

तर, सूर्तिजन्य पदार्थले कोरोना संक्रमणको जोखिम उच्च हुने चिकित्सकहरु बताउँदै आइरहेका छन्।

सूर्तिजन्य पदार्थको सेवनले कोभिडको संक्रमण खतरा बढाउने थाहा हुँदा समेत मानिसले त्यसको सेवन गर्न छोडेको देखिदैन। 

जाडरक्सी सुर्तिजन्य पदार्थ वा लागू पदार्थको लत एउटा खराब बानी मात्र नभएर यो एउटा मानसिक समस्या रहेको मानसिक रोग विशेषज्ञ डा. रितेश थापा  बताउँछन्। त्यस्तो समस्यालाई ‘सब्स्ट्यान्स युज डिसअर्डर’ भनिन्छ।

उनकाअनुसार अरू मानसिक तनाव वा रोग भएका व्यक्तिहरु यस्तो लतमा पर्ने सम्भावना धेरै हुन्छ र यस्तो लतमा परेका व्यक्तिहरुलाई अरू मानसिक समस्या हुने सम्भावना पनि धेरै हुन्छ।

विश्वका धेरै अनुसन्धानहरुले विभिन्न लागूपदार्थ प्रयोग गर्ने व्यक्तिहरुमा कोभिडको संक्रमण हुने संभावना धेरै हुने देखाएको उनी बताउँछन्।

‘कति मानिस आफ्नो तनाव कम गर्न पनि यस्ता चिजहरुको प्रयोग गर्ने गर्छन्। चुरोट, गाँजा, भेप जस्तोको प्रयोगले हाम्रो छातीभित्र असर गर्ने हुनाले कोभिडको जोखिम अझ बढी हुने गर्छ’, उनले भने।

‘नेपालको धेरै लागूपदार्थको प्रयोग गरिने युवाहरुको रोजाइमा पर्ने ‘ओपिओइड’ र ‘ऐले’ जुन नयाँ प्रयोगमा आउन थालेको ‘एमेटिएमफिटामिन’ले फोक्सोमा असर गर्ने हुनाले कोभिडको जोखिम धेरै हुने गर्छ’, डा. थापाले थपे।

सूर्तिजन्य पदार्थको सेवनले फोक्सोमा प्रत्यक्ष असर पार्ने भएकाले भाइरसलाई सोही ठाउमा 'अट्याक' गर्न सहज हुने आइसियु विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन्।

‘सूर्तिजन्य पदार्थले इम्युनिटी पावर घटाउने हुँदा कोरोना भाइरस संक्रमणको खतरा बढाउँछ’, उनले भने ‘कोरोनाको जोखिम चुरोटको प्रयोगले मात्रै नभएर सबै किसिमका सूर्तिजन्य पदार्थले बढाउँछ।’

‘युवाहरुमा हुक्का खाने फेसन जस्तो बनेको छ। युवामाझ प्रख्यात रहेको हुक्काले तनाव झनै बढाउँछ र रोग संक्रमणको जोखिम झन् धेरै हुन्छ’, डा. अधिकारीले भने।

मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई पनि कोरोनाले फोक्सोलाई विशेष असर गर्ने भएकाले सूर्तिजन्य पदार्थले फोक्सोलाई कमजोर पार्ने बताउँछन्।

‘यसकारण  त्यस्तो पदार्थको सेवन गर्ने व्यक्तिमा कोरोना लाग्ने संभावना बढी हुने र लागेपछि कडा रुपमा शरीरमा फैलने डर रहन्छ’, उनले प्रष्टाए।

विश्वमा वार्षिक सुर्तीजन्य पदार्थबाट ७० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ। मुत्यु हुनेमा अविकसित देशका मानिसहरु बढी हुने पाइएकाे छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा प्रत्येक वर्ष २७ हजार व्यक्तिको मृत्यु धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवनका कारण हुने गरेको छ। हरेक तीनजना नेपालीमध्ये एक जना धुम्रपान तथा सुर्तिजन्य पदार्थको अम्मली छन्।

सूर्तिजन्य पदार्थमा कर

सूर्तिजन्य पदार्थ विभिन्न प्रकारकामा बाँडिएका छन्।

विशेषगरी, दुई किसिमका सूर्तिजन्य पदार्थअन्तर्गत तयारी खैनीमा प्रतिकिलो ६ सय ५० रुपैयाँ कर तिर्नुपर्छ। यो अहिलेको आव २०७७/०७८ देखि सुरू भएको भ्याट हो। अघिल्लो आव २०७६/०७७ मा सोही खैनी प्रति किलोको ६ सय १० रुपैयाँ रहेको भन्सार विभागले बताएको छ।

भन्सार विभागअनुसार चुना हालेर बनाइने खैनीमा भने ३ सय १० रुपैयाँ भ्याट लागाइएको छ।

(यो समाचार सेतोपाटी  १० श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links