आज २०७७ सालको चैत्र महिनाको १९ गते २०२१ को अप्रिल १ चैत्र वदी ४ ।
उन्साइस वर्ष अगाडि २०५८ सालको चैत्र महिनाको १९ गते २००२ को अप्रिल १ चैत्र वदी ४ का दिन आयकर कानून लागु भएको थियो । यस हिसावले आज बीसौं वर्षको पहिलो दिन ।
आयकर ऐनमा तत्कालीन मूल्यमा केही कर सुविधा वा केही कर आधारको अङ्क खुलेको रकमको सीमा दिएको थियो । ती अङ्क खुलेका करको रकम अहिलेको मूल्यमा कता फर्के छन् त– करदाताको सुविधाका रुपमा वा करदाताको थप भारका रुपमा ? यी पङ्क्तिले ती विषयलाई देखाएको छ ।
नेपाल राष्ट्र बैंकको तत्कालीन मूल्य सूचकाङ्क अनुसार २००२ अप्रिलको मूल्य सूचकाङ्क १०२.२ रहेछ जुन २००२ को जुलाईमा १०६.३ पुगेको कुरा नेपाल राष्ट्र बैंकको त्यतिखेरको प्रकाशनमा फेला पर्दछ । अहिले मूल्य सूचकाङ्कको नयाँ आधार लिएकाले २००१ को जुलाइको नयाँ आधारको मूल्य ३७.२ हुन पुगेछ । गत आषाढको नयाँ सूचकाङ्क भने १३८.८ हुन पुगेछ । यी सूचकांकको परस्पर गणना गर्दा २०५८ चैत्र १९ को मूल्यभन्दा २०७६ आषाढ मसान्तको मूल्य ३.८८ गुणा हुन पुगेछ । यसैलाई अर्को तरीकाले भन्दा २०५८ चैत्र १९ मा कुनै कर सुविधा वा कर आधार रु १०० रहेछ भने त्यसको मूल्यभन्दा २०७६ आषाढ मसान्तमा रु. २५.७७ हुन आउँदो रहेछ ।
त्यसकारणले आयकर कानूनको कुनै कर सुविधा वा कर आधारमा तत्कालीक मूल्यका आधारमा दाँज्दा करदातालाई दिएको सुविधा हाल कुन मूल्यमा पुगेछ वा कर आधार कुन मूल्यमा रहेछ हेर्न २०५८ चैत्र १९ मा जारी भएको आयकर ऐनमा दिएका रकमको अन्य समायोजन गर्नु पर्ने भए समायोजन गरेर २५.७७ प्रतिशत मान्दा उही धरातल (same footing) मा पुगिन्छ र तुलनायोग्य हुन्छ ।
अचल तर निरन्तरण मूल्य घटेका कर सुविधा
आयकर कानूनमा रु५० हजारसम्म नगदमा कारोवार गर्न पाइने व्यवस्था २०५८ देखि उही छ । नगदमा कारोवार गर्नु सुशासनका दृष्टिले सहि त होइन तर हाम्रो व्यवसायिक वातावरणमा व्यवहारिक रुपमा त्यो सुविधा करदातालाई दिएको थियो र निरन्तर कायम पनि छ । अहिले निरन्तरता रहेको पचास हजार रुपैया तत्कालको मूल्य अनुसार हेर्दा रु१२८८४ मा झरेछ । यसको अर्थ २०५८ चैत्र १९ मा रु ५०००० नै नगदमा भुक्तानी हुन सक्दथ्यो भने अहिले अङ्क उही भए पनि रु १२ ८८४ बराबरमात्र भुक्तानी हुँदो रहेछ । करदाताको सुविधामा ह्रास देखिएता पनि यो बिचमा बैंकिङ्ग प्रविधिमा भएको प्रगतिले नगद कारोवार नै घटेको हुँदा यसको असर भने खास नपरेको हुनु पर्दछ ।
दोश्रो कर सुविधा औषधोपचार कर मिलान रु ७५० निरन्तर छ । २०५८ चैत्र १९ को मूल्यमा यो रकम भने रु १९३ मा आइपुगेछ । ऐनले रु ७५० सुविधा दिए पनि अहिलेका करदाताले भने रु१९३ मै चित्त बुझाए जस्तो देखिन्छ ।
तेश्रो कर सुविधा रु ५०० सम्मको सानातिना खर्चको सीमा पनि झरेर रु १२९ मा आइपुगेछ । त्यति खेर ५० जनाले चिया खाएमा सुविधा कानूनतः उपलव्ध थियो भने अब १३ जनामा सिमित भएछ ।
चौथो कर सुविधा अवकाश कोषमा योगदान चाँही रु ३ लाखबाट रु ७७३०२ मा खुम्चिएछ । हुन त नयाँ सुविधाको रुपमा सामाजिक सुरक्षा कोषको अनुपात लिने हो भने अझै यो सीमा रु१२८८२७ झै देखिन्छ तर कोषमा हालेको पैसो फिर्ता नपाइने हिसाबसम्म गर्न पाइने अक्षय कोष सरहको भएकाले नयाँ करको रुपमा देखिदा यो सुविधा नै भन्न पनि पाइने अवस्था रहेन ।
पाँचौं कर सुविधा चन्दाको रहेछ रु १ लाख । यसको मूल्य दुव्लाएर हरिबिजोक रुपमा रु२५७६७ बन्न पुगेछ ।
परिवर्तित भएर पनि मूल्य घटेका कर सुविधा
यो समूहको मूख्य बुँदा दूर्गम भत्ता रहेको छ । हुन त सावीकका गाउँ विकास समिति राज्य पुनर्संरचनामा नरहेकाले यो सुविधा नै बाँकी हो होइन भन्न सकिन्न । तैपनि समूगत रुपको नियमावली जीवितै भएकाले सुविधाको तुलना भने गर्न सकिन्छ । त्यतिखेर रु ३० हजारदेखि रु ६ हजारसम्म रहेको यो सुविधा हाल रु५० हजारदेखि रु१० हजारसम्म कायम छ । हालको सुविधा तत्कालीन मूल्यमा दाँज्ने दुःख गर्ने हो भने यो ४३ प्रतिशतमा सिमित रहेछ । बाटोघाटो बनेर पो हो की?
परिवर्तित भएर बढेका कर सुविधा
प्राकृतिक व्यक्तिले त्यतिखेर रु ६५ हजारमा कर तिर्नु पर्ने रहेनछ अब यो रकम रु ४ लाख भएको तर १ प्रतिशत कर लाग्दछ । यस हिसावले यो वर्गले भने वार्षिक रु१७१० घटी कर तिर्दो रहेछ । दम्पतिको हकमा पनि रु १४३ करको रकम नै घटेछ ।
कर आधार र कर लागत
त्यतिखेर रु ५ हजार कर तिर्नेले किस्तामा कर बुझाउँनु नपर्दो रहेछ । यो रकममा वृद्धि भएर हाल रु ७५०० भएको छ । नयाँ रकम २०५८ सङ्ग तुलना गर्दा रु १९३३ हुँदो रहेछ । साना करदाता अहिलेभन्दा त्यतिखेर अढाई गुणा सुविधा पाएका रहेछन्
साना करदाताको अर्को समूह अनुमानित कर लाग्ने करदाता छन् । महानगरका साना करदाताले त्यतिखेर रु २ हजार तिरे पछि कर फरफारक भएको मानिँदो रहेछ । फिलहाल यो रकम रु ७५०० भएको छ र तत्कालीन मूल्यमा तुलना गर्दा रु १९३३ हुन जौदो रहेछ । यस हिसाबले महानगरका अनुमानित कर तिर्ने करदाता विधायिकाले २०५८ सालमा जे मनशाय राखेको थियो सोही सीमामा कर तिर्दा रहेछन् । नगर र गाउँ पालिकाका साना करदाताले भने यो सुविधा गुमाए जस्तो देखिन्छ । यसको कारण नगरपालिकाका साना करदाताले त्यतिखेर रु१५०० र गाउँका करदाताले रु १००० तिर्नु पर्दथ्यो जुन अहिले रु ४००० र रु २५०० छ । त्यतिखेरको रकममा तुलना गर्दा यो रकम क्रमसः १०३१ र ६४४ बन्दो रहेछ ।
कर लागत बढ्ने अङ्कजन्य कुरामा चाँही घर जग्गा एक नम्बरमा परेछ । त्यतिखेर रु १ करोडको घरजग्गामा कर लाग्दैनथ्यो । अहिले यो सीमा पातलिएर रु १० लाख भएछ । त्यतिखेरको मूल्यमा तुलना गर्ने हो भने त यो रु१० लाख पनि रु२५७६७४बन्न पुगेछ । त्यतिखेरको ३ प्रतिशत रकममात्र करमा अझै छुट बाँकी रहेछ । अझ वर्षलाई हेर्ने हो भने तर २०५८ सालमा एक करोडको घर पनि किनेको तीन वर्षभित्रै बेच्दामात्र कर लाग्दथ्यो अहिले त्यसको ३ प्रतिशत मूल्यको घर पनि १० वर्षभित्र कर लाग्दछ । तर करको दर भने त्यतिखेर १० प्रतिशत भएकामा अहिले २.५ र ५ प्रतिशतमा सिमित गरेको रहेछ ।
राजस्व परामर्श समितिमा सुझाव दिनु हुने व्यवसायिक संगठनहरुले माथि भने जस्ता ससाना कुरामा गहिरो अध्ययन गर्नु भएको होला । त्यस्ता अध्ययनमा कुनै कुरा छुटेको भए माथिका बुँदाबाट सर्लक्क लैजान सक्ने वा यसलाई मिलाएर तोडमोड गरेर पनि यहाँहरुको सुझाव बहसमा समावेश गर्न सकिने पाइने व्यहोरा पनि अनुरोध छ ।
आयकर दिवसको शुभकामना ।।