NMB Bank

कर कथा: पुजीगत लाभकर

... by in Nepal Tax

-भबनाथ दाहाल

राम र रावणले किस्किन्धा कम्पनीको एक एक हजार कित्ता शेयर प्रति शेयर रु १०० का दरमा एक लाख रुपैया तिरेर किनेछन् । रामले उक्त शेयर नबेची बसेछन् । तर कुवेरका भाइ रावणले धन जम्मा गर्न सो शेयर बेचेकाले बेच्दै किन्दै गर्दा अन्तमा सीताले पाइछन् ।

रावणले एक सयका दरले किनेको शेयर दुई सय रुपैयाका दरले दुई लाख रुपैयामा कुम्भकर्णलाई बेचेकाले रु. १ लाख नाफा भएको भनि पूजिँगत लाभकर तिरेछ तिराइएछ ।

कुम्भकर्णले शेयर किने लगत्तै कम्पनीले १:१ को अनुपातमा हकप्रद शेयर जारी गरेछ । कुम्भकर्णले पनि सुतिसुति के बस्नु भनेर बिउँझेका बेलामा दुई हजारै कित्ता शेयर विभिषणलाई बेचेछ प्रतिशेयर रु ३०० का दरमा । दुई हजार कित्ता शेयरमा कुम्भकर्णले रु ३ लाख तिरेको र रु ६ लाख पाएकाले रु ३ लाखमा पूजिगत लाभकर तिरेछ ।

विभिषणले शेयर पाएपछि लगत्तै १:१ को अनुपातमा दुई हजार कित्ता बोनस शेयर पाएछ । विभिषण रामसेवक भैसकेके पछि सो ४ हजार कित्ता शेयर प्रतिशेयर रु ४ सयका दरले हनुमानलाई बेचेछ । विभिषणले रु १६ लाख पाएको र मूल्य रु ८ लाख खर्च मानिएकाले बाकी रु ८ लाखमा लाभकर तिरिभ्याएछ ।

बालब्रम्हचारी बामदेबका पिताश्री हनुमानलाई शेयरको के काम थियो र तुरुन्तै सीतामाताका चरणमा समर्पण गरेछन् । हुन त हनुमान आफूलाई रामसीताका सबैभन्दा प्रिय सेवक थिए । सीतालाई माताश्री भनि पुकार्दथे तर आयकर कानून अनुसार तीन पुस्ताभित्रको नभएकाले लाभ गणना भएछ तर बजार मूल्य नै सोह्रलाख भएकाले लाभकर लाग्न गएनछ ।

शेयर जस्तो काजगको खोस्टो उपहार पाउँदा सीतालाई बहुतै खुल्दुली भएछ, आखिर यसमा के छ त भनेर । दिवाभोजन लगत्तै प्राणनाथका समिपमा गएर सोधिछन् ।

'प्राणनाथ यो शेयर भन्या चाँही के रहेछ । आज हनुमानले हनुमान चालीसा जस्ता कागजका टुक्रा चरणमा चढाउन ल्याएका थिए ।'
'छोड्देउ प्रिय शेयरको परिभाषा । तिमीसँग कति कित्ता शेयर छ र?'
प्राणनाथले कहिल्यै धनको कुरा नगर्ने तर आज हँसिमुख भइ सोधेकोभन्दा अर्कै कुरा गरेको देखेर प्राण पियारी सीता हर्षित हुदै बोलिन, 'प्रभू मसँग ४ हजार कित्ता शेयर छ रु १६ लाख परेको भन्थ्यो । प्रभूसँग नी छ र ?'
समुद्र तर्ने बेलामा असमञ्जस्य परेका हनुमानलाई जाम्बवानले शक्ति सम्झाए जस्तै गरी रामले शेयर किनेको हकप्रद शेयर किनेको तथा बोनस पाएको कुरा सबै सम्झे ।

'भित्र सन्दुसमा हेर त ।'

सीताले रामका काँधको जनैको साँचो लिएर भित्रको सन्दुस खोलिन । नभन्दै रामसँग पनि उही कम्पनीका ४ हजार कित्ता शेयर रहेछन् । रामसँग ४ हजार सीतासँग ४ हजार कित्ता शेयर भएछन् ।

कतैबाट धन पाउनेछ भने लाज मान्नु हुन्न भनि चाणक्यले "धनधान्य प्रयोगेषु विद्या संग्रह यथा । आहारे च व्यवहारे च त्यक्तम् लज्जा सुखी भवेत्" भनेकै थिए । रामसीतालाई शेयरको धन कस्तो हुँदो रहेछ निकाल्न मन लाग्यो र शेयर दलालकाहाँ गए । तै तै आजको बजार भाउ पनि प्रतिकित्ता रु ४०० का दरमै चलेको रहेछ ।

सीताको आम्दानी रु १६ लाख शेयरमा परेको खर्च रु १६ लाख । शेयर दलालले लाभ निकाल्यो शुन्य अर्थात लाभकर शुन्य । 
रामको आम्दानी रु १६ लाख बोनस सहित शेयरमा परेको खर्च रु ४ लाख, लाभको रकम रु १२ लाख हुनु पर्ने भनि राम र सीता आआफैं मनमनै हिसाव गर्दै थिए । आयकर कानून बमोजिम ६० हजार कर काटिनेमा पनि ढुक्क थिए । शेयर दलालले भने आधारमूल्य रु १६ लाख खर्च, बिक्री मूल्य रु १६ लाख आम्दानी, लाभ शुन्य, लाभकर शुन्य भनि ससाना ठेउका भएको भाँडोमा हातका औंलाहरु थिच्दै थियो । त्यसको लिखितम हिसाव उसैका छेउको एउटा यवनलेखनीबाट छापिँदै बाहिर निस्कियो ।

मयुरका प्वाँख मशीदानीमा चोब्दै मोटा र छोटा टेढा र मेढा अक्षर लेखेका देखेका सीताराम यवनलेखनीको छपाइपत्र र लाभकर पनि नलाग्ने तरीका देखेर छक्क बाह्रकः मात्रै होइन अठारकः नै परे । हैन लाभकर लाग्ने हैन र भनि सोध्दा दलालकक्षको एकजनाले ताजी ताजी भन्यो र अर्का चाहीले गाट गाट भन्दै ढोकातिरको बाटो देखाइदियो ।

सधै सुरक्षाकर्मीको घेरामा जकडिँदा जकडिँदा मन फुकाएर पुतलीसडकसम्म जान नपाएकी सीतालाई सुवर्ण मृगको मम खान मन लागेको थियो, प्राणनाथ श्रीरामथ्यै बिन्ति बिसाइन । गोजिमा टन्न धन पनि थियो । अरुले आन्दोलन गरेर जोगाइ दिएको करकै ६० हजार उपरखुद फाइदा थियो । तर विडम्बना, मृगको शिकार नै प्रतिबन्धित भैसकेको रहेछ । रामले मृगमम खुवाउन सकेनन् । बरु शहरमा सडक बनेछन् ट्याक्सी नाम गरेको रथ पाइने भएछ । आफै गुड्ने ट्याक्सीमा हुन त मिटर जडान पनि थियो । ट्याक्सीले मिटरमा जान नमाने टाफिले कारवाही गर्ने कानून पनि थियो । सडकभरी सेतो टोपी लगाएका टाफि पनि थिए । तर ट्याक्सी मरे नमान्ने । ट्याक्सीवालाले गर्नुसम्म बार्गेन गरेर एक हजारमा घर पुर्‍याइदिने भयो ।

ट्याक्सीमा सीताले सोधिन, 'प्राणनाथ मेरो नामको शेयरमा त सोह्रैलाख परेको थियो सोह्र लाखमा बेच्दा लाभ भएन र लाभकर लागेन । तर हजुरकोमा त १२ लाखमा लाभकर लाग्नु पर्ने होइन र?' त्यतिखेर सीताले भानुभक्तिय रामायणको 'भ्रम हो भनुँ भने सब चेत् छ मेरा । स्वपना कसो गरी भनौं निदरी छैन मेरा ।।' भन्ने श्लोक मनमनै सम्झिरहेकी रहिछन् ।

रामले प्रश्न सुन्यापछि यसो ध्यानदृष्टि लगाएर हेरे । कानून अनुसार उनको लाभ रकम दश लाख रुपैया नै हुने भएता पनि अर्थ मन्त्रालयका केही शेयर धनीले दश वर्ष अगावै हातले लेखेको परिपत्रमा आधार मूल्य नामको सुदर्शन चक्रको आविश्कार गरेका रहेछन् र नबेचेको शेयरमा भएको लाभमा कर नलाग्ने व्यवस्था पो मिलाएका रैछन् । कानून एकथरी परिपत्र अर्को थरी हुँदो रहेछ । कि परिपत्र समायोजन हुने गरी कानून संशोधन गर नत्र कानून बाहिर गएर परिपत्रबाट थप कर पनि नलगाउ कर छुटको पनि दुरुपयोग नगर भन्नेहरु अल्पमतमा पर्दा रहेछन् भन्ने सत्य गोचर भो । भित्रै बाहिरै अन्यौलतन्त्र देखिने यो अव्यवस्थाको प्रतिफल स्वरुप ध्यानदृष्टिबाट कुरोको चुरोमा पुगे पछि प्राण पियारीलाई खुसुक्क नबुझिने कुरा सुनाएः

'प्रिय यो नेपालभन्ने देशको कानून र परिपत्र बुझ्न आदिकवि वाल्मिकीको रामायणभन्दा पनि कठीन छ । अशोक वाटिकामा तिमीसँग हनुमानको भेट हुँदा म त्यहाँ थिइन । त्यहाँ नभएको मलाई हनुमानले पिट्न पनि मिल्दैनथ्यो । आखिर हनुमानले मलाई पिट्नु त परै जावस् छाती समेत् चिरेर सेवकभाव देखाएकै हुन । हनुमानले पिटेको देखेर तिमी खुशी हुन सक्दैनथ्यौ । हनुमानमात्र होइन जोकसैले मलाई पिटेको देखेका भए राक्षसीहरु खुशी हुन्थे रुदैनथे । तैपनी वाल्मिकीले "हनुमत्ताः हत्ताराम सीता हर्षमुपागत । रोदन्ती राक्षषाः सर्बे हा हाराम हताहत" लेखिदिए । मेरा सबै भक्त भक्तिनीहरु यो श्र्लोक देखेर कन्फ्युज हुन्छन् । तिमीलाई यो श्र्लोकको अर्थ थाहा छ ?'


Social Links