सवारी साधनमा कर बढ्यो, घरजग्गामा कर नलाग्ने सीमा १० लाखमा झर्‍यो, लोकप्रिय कार्यक्रम समावेश

काठमाडौं। चालु आर्थिक वर्षको यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरेका हुन्।

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको यथार्थ खर्च १० खर्ब ४६ अर्ब रुपैयाँ हुने अनुमान गरेको थियो। सरकारले चालु आर्थिक वर्षमा १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको बजेट ल्याएको भए पनि त्यसको ८१ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको थियो।

८ प्रतिशत आर्थिक वृद्धिदर, ६.५ प्रतिशत मुद्रास्फिती र ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ अर्थमन्त्री खतिवडाले बजेट प्रस्तुत गरेका छन्। चालु आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान छ।

अर्थमन्त्री खतिवडाले सवारी साधन र घरजग्गा कारोबारमा कडा प्रहार गरेका छन्। १५० सिसीभन्दा ठुलो क्षमताका मोटरसाइकल र १ हजार सिसी क्षमताभन्दा ठुला सवारी साधनमा अन्तशुल्क बढाइएको छ। घरजग्गा कारोबारमा कर नलाग्ने रकमको सीमा ३० लाख रुपैयाँबाट १० लाख रुपैयाँमा घटाइएको छ।

कर्मचारीलाई महँगी भत्ता
मन्त्री खतिवडाले तलब नबढाई सरकारी कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता दिने घोषणा गरेका छन्। यसअघि पनि महँगी भत्ता कार्यान्वयनमा रहेकोमा गत आर्थिक वर्षमा २५ प्रतिशत तलब बढाउँदा त्यसलाई बढाइएको तलबमा समायोजन गरिएको थियो।

मन्त्री खतिवडाले कर्मचारीलाई वार्षक सात हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको पोशाक भत्ता बढाएर १० हजार बनाइएको छ।

लोकप्रिय कार्यक्रम समावेश
अर्थमन्त्री खतिवडाले साना किसान सहकारीबाट ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहाको घोषणा गरेका छन्। आउँदो आर्थिक वर्षमा खर र परालले छाएका घरलाई जस्ताको छाना मुनी ल्याउने घोषणा गरेका छन्।

केही वर्षयता विवादित बन्दै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम १ करोड रुपैयाँले बढाएर ४ करोड रुपैयाँ बनाइएको छ। यसका लागि ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुनेछ।

सरकराले सुत्केरी महिलालाई प्रदान गर्दै आएको यातायात खर्च दोब्बर बनाइएको छ। यसअनुसार अब हिमालमा १ हजार, पहाडमा २ हजार र तराईमा प्रत्येक महिलाले ३ हजार रुपैयाँ पाउनेछन्।

बजेटमार्फत सामाजिक सुरक्षा भत्ता यथावत राखिएको छ। ७० वर्षभन्दा माथिका वृद्धवृद्धाको १ लाख रुपैयाँसम्मको निशुल्क बिमा गरिएको छ। 

यो समाचार बिजमाण्डू डट कम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links