लगानी कोषका बचतकर्तालाई बढ्यो करको भार, अबदेखी अबकाश कोषको आम्दानीमा १५ प्रतिशत कर


काठमाडौं । सरकारले नागरिक लगानी कोषका बचतकर्ताहरुमा थप करको भार थुपारेको छ । आन्तरिक राजस्व कार्यालयले आयकर ऐन अनुसार लगानी कोषको अवकाश कोषमा कर लगाउन पत्राचार गरेसँगै त्यस्तो बचतको आयमा १५ प्रतिशत कर लाग्ने भएको हो । यस अघि नागरिक लगानीकोषको अवकाश कोषमा बचतकर्ताको आयमा पनि ५ प्रतिशत मात्र कर लगाउँदै आएको थियो । कोषमा ऐन नियम विपरित अवकाश कोषको आयमा ५ प्रतिशत मात्र कर लगाएको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुङ्गेलले जानकारी दिए । ‘यस अघि कोषले के आधारमा अवकाश कोषमा ५ प्रतिशत छुट दियो त्यो हामीलाई थाहा भएन,’ उनले भने, ‘आयकर ऐन अन्तरगत अवकाश कोषमा १५ प्रतिशत कर लगाउनु पर्छ ।’ आयकर ऐन अन्तरगत अवकाश कोषमा १५ प्रतिशत कर लाग्ने भएकाले सोही अनुरुप लगानी कोषसँग १५ प्रतिशत कर नै असुलिने उनले जानकारी दिए । ‘लगानी कोष पनि हाम्रो करदाता हो,’ उनले भने, ‘अब सम्बन्धित करदाता कार्यालयले कोषको अडिट गरेर सबै रकम असुल्ने छ ।’ पछिल्लो समय आन्तरिक राजस्व विभागले पत्राचार गरेसँगै सबै बचतकर्ताको आयमा १५ प्रतिशत कर लगाउन थालिएको नागरिक लगानी कोषका डेपुटी सिईओ सुशीलकुमार अर्यालले जानकारी दिए । ‘हामीले यस अघि ५ प्रतिशत काट्दै आएको थियो तर अहिले १५ प्रतिशत काट्न थालेका छौं,’ उनले भने । आयकर ऐन अनुरुप १५ प्रतिशत कर लगाउनु पर्ने भए पनि हालसम्म ५ प्रतिशत मात्र कर लगाइएकाले अब सबै हिसाव मिलान गर्न लागिएको अर्यालले जानकारी दिए । ‘हामीले यसअघि दिइएको कर छुटको पनि हिसाव मिलान गर्न लागेका छौं,’ उनले भने, ‘नयाँ भुक्तानी सबैमा १५ प्रतिशत कर कट्टा गर्न थालिसकेका छौं ।’ अन्य बचतमा भने ५ प्रतिशत मात्र कर लाग्ने विभागले जानकारी दिएको छ । सरकारले कर्मचारीलाई आफ्नो तलबको ३३ प्रतिशत वा बार्षिक ३ लाख रुपैयाँ जुन बढी हुन्छ त्यसमा कर छुट दिएर कोषमा बचत गर्न पाउने व्यवस्था गरेको छ । तर त्यस्तो बचतको आयमा भने ५ प्रतिशत मात्र कर लाग्ने भएको छ । हाल कोषले बचतकर्ताका लागि १ दर्जनभन्दा बढी स्किम ल्याएको छ । जसमा सवा ६ लाखभन्दा बढी कर्मचारीले बचत गर्दै आएका छन् । कोषले ल्याएको स्किम मध्ये आर्थिक बर्ष २०७४÷०७५ सम्ममा जम्मा ६ लाख ९ हजार बचतकर्ताले १ खर्ब १४ अर्ब रुपैयाँ बचत गरेका छन् । जसमध्ये अवकाश कोषमा सबैभन्दा बढी २ लाख बचतकर्ताले ७१ अर्ब ८३ करोड रुपैयाँ बचत गरेका छन् ।


यो समाचार  बिजखबर डटकम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links