डिजिटल नागरिक बडापत्रसँगै अनलाइनबाट राजस्व संकलन गर्ने तयारी

तौलिहवा : कपिलवस्तुका स्थानीय तहले प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखेर काम थालेका छन्। प्रदेशका १२ जिल्लामध्ये विकास सूचकांकमा पछाडि परेको कपिलवस्तुका स्थानीय तहले प्रविधिको उच्च प्रयोग गर्दै सेवा प्रवाहलाई सहज बनाएका छन्।

जिल्लाका केही स्थानीय तहले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, सम्पत्ति कर, अनलाइन पद्धतिबाट अभिलेख राख्न सुरु गरेका छन् भने केहीले सुरक्षाका लागि सीसीक्यामेरा जडान, डिजिटल नागरिक बडापत्र, फ्रि वाईफाई जोन स्थापना गरिसकेका छन्। जिल्लाका सबै स्थानीय तहमा ई–हाजिरी जडान अनिवार्यजस्तो छ।

बुद्धभूमि नगरपालिकाले पुसदेखि डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ। यो काम जिल्लामै पहिलो हो। विभिन्न कामको सिलसिलामा कार्यालयमा आउने सेवाग्राहीलाई तुरुन्तै सेवा दिने उद्देश्यले डिजिटल नागरिक बडापत्र सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए। कुन शाखाबाट के काम हुन्छ र के–के कागजपत्र जुटाउनुपर्छ भन्नेजस्ता जानकारी दिन डिजिटल नागरिक बडापत्र राखिएको उनले जनाए।

डिजिटल नागरिक बडापत्रसँगै नगरपालिकाले सबै वडाबाट राजस्व संकलन सुरु गर्ने तयारी गरेको छ। सबै वडामा इन्टरनेटको सुविधा पुगेको भन्दै अब अनलाइनबाट राजस्व संकलन गर्ने तयारी भइरहेको नगर प्रमुख केशवकुमार श्रेष्ठले बताए। उनले वडा नम्बर ४ मा अनलाइनबाट राजस्व संकलन भइरहेको बताए। उनले भने, ‘यही वर्षभित्र सबै वडामा सेवा विस्तार गर्ने योजनामा छौं।’ यस्तै, नगरपालिकाको कार्यालय परिसरभित्र पनि सीसीक्यामेरा जडान थालनी गरिएको छ।

कार्यालय क्षेत्रभित्र सीसीक्यामेरा जडानसँगै गोरुसिंगेको अर्घाखाँची चोक र डुमरा चोकमा पनि प्रक्रिया थालनी गरिने प्रशासनिक अधिकृत केशवराज भट्टराईले बताए। त्यसका लागि नगरपालिकाले यसै आर्थिक वर्षमा बजेट विनियोजन गरेको उनले जनाए। यसै वर्षबाट सबै वडा कार्यालय, स्वास्थ्य संस्था र विद्यालयमा ई–हाजिरी जडान गर्ने तयारी नगरपालिकाको छ।

बुद्धभूमिजस्तै वाणगंगा नगरपालिका पनि प्रविधिमैत्री बन्दै गएको छ। अहिले नगरका ११ वटै वडाबाट अनलाइन राजस्व संकलन भइरहेको नगरका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले बताए। ‘भौगोलिक दूरी टाढा हुनेहरूलाई राजस्व बुझाउन निकै समस्या थियो,’ उनले भने, ‘अहिले त्यो समस्या अन्त्य भएको छ, सबै वडामा राजस्व बुझ्ने व्यवस्था मिलाएका छौं।’

यस्तै, नगरपालिकाले यही आर्थिक वर्षबाट नगरका दुई स्थानमा वाईफाई जोन राखेको छ। नगरका दुई पर्यटकीय स्थल सुपादेउराली पिपरा र राजापानी फ्रि वाईफाई जोन स्थापना गरेको उनले जानकारी दिए। त्यसका लागि यस वर्ष दुई लाख बजेट विनियोजन गरिएको थियो। डिजिटल नागरिक बडापत्र राख्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ।

शिवराज नगरपालिकाले एक वर्षदेखि सीसीक्यामेरा जडान गरेको छ। कार्यालयमा आउने सेवाग्राहीले कस्तो सेवा पाइरहेका छन् भन्ने जानकारी प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले सीसी क्यामेराबाट लिने गरेका छन्। सीसीक्यामेरा जडानले कर्मचारीको कामलाई अनुगमन गर्न सहज भएको पौडेल बताउँछन्।

नगरपालिका मात्र होइन, जिल्लाको विकट क्षेत्रका गाउँपालिकामा पनि प्रविधिको प्रयोग बढ्न थालेको छ। जिल्लाको सुदूरपश्चिम भेगमा अवस्थित विजयनगर गाउँपालिकामा पनि सीसीक्यामेरा जडान गरिएको छ। ई–हाजिरीसँगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका सबै गतिविधि र सूचना सबै समक्ष पुर्‍याउन इन्टरनेट अनिवार्य भएको विजनगर गाउँपालिकाका प्रमुख गोपाल थापाले बताए। उनले भने, ‘काम सम्पन्न गर्न सहज त छँदै छ, त्यसमा जनतालाई स्थानीय तहको गतिविधि, सूचनामैत्री बनाउन पनि इन्टरनेट आवश्यक छ।’

जिल्लाका सबै स्थानीय तहले आफ्नै वेबसाइट बनाई सेवाग्राहीलाई सुसूचित गराइरहेका छन्। सबै स्थानीय तहमा आइटी अफिसर राखेर प्रविधिको प्रयोग गरिएको छ। इन्टरनेट विस्तारपछि डकुमेन्टेसन, इमेलिङ, फ्याक्स, वेब सफ्टवेयर, जानकारी अपडेटलगायत दैनिक रूपमा सञ्चालन हुने कार्यालयका काम सम्पन्न गर्न सहज पुगेको कर्मचारी बताउँछन्। नगर तथा गाउँपालिकाका दुर्गम गाउँका वडामा पनि इन्टरनेट प्रविधि जडानपछि कार्यालयको दैनिक कार्यसम्पादन सहज भएको छ।

यो समाचार  अन्नपूर्ण पोस्ट  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links