अब विदेशी ठेकेदार कम्पनीलाई १.५ प्रतिशत आयकर

काठमाडौं । सरकारले विदेशी निर्माण तथा खरीद (ठेकेदार) कम्पनीका लागि आयकरको दर तोकेको छ । यस अनुसार कुनै पनि आयोजनाको मूर्त सम्पत्ति वा संरचनाको आपूर्ति र जडान तथा निर्माण लगायत काम गर्न सम्झौता गरेको कुल ठेक्का रकमलाई कुल आय मानेर त्यसमा १.५ प्रतिशतका दरले आयकर लाग्ने निर्णय आन्तरिक राजस्व विभागले गरेको हो ।

विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलका अनुसार अन्तर्राष्ट्रिय कम्पनीको नेपालमा काम गर्न खडा गरिएको निकायलाई स्थायी संस्थापन मानेर सोही कम्पनीलाई १.५ प्रतिशतका दरले आयकर असुल गर्ने निर्णय भएको हो । विभागले गत सोमबार यस्तो निर्णय गरेको हो ।

विभागको निर्णय अनुसार मूर्त सम्पत्ति वा संरचनाको आपूर्ति र जडान तथा निर्माण कार्य गर्न छनोट भएको अन्तर्राष्ट्रिय कम्पनीको नेपालमा कार्य सम्पादन गर्न खडा गरिएको निकाय नै आयकर ऐन २०५८ अनुसार स्थायी संस्थापन हुन्छ । त्यस्तो निकायले नेपालमा एउटै बोलपत्र/खरिद सम्झौता मार्फत कुनै आयोजनाका लागि मूर्त सम्पत्ति वा संरचनाको आपूर्ति र जडान तथा निर्माण लगायत काम गर्न सम्झौता गरेको कुल ठेक्का रकम नै उक्त स्थायी संस्थापनको आय मानिने भएको छ । सो आयबाट सिर्जना भएको व्यावसायिक मुनाफामा आयकर ऐन अनुसार नेपालमा कर तिर्नुपर्छ ।

सोही कारण अब ठेक्का सम्झौता वापतको रकम भुक्तानी गर्ने व्यक्तिले १.५ प्रतिशतका दरले आयकर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने भएको छ । यस्तो रकम तोकिएको अवधि भित्र राजस्व खातामा दाखिला गर्नुपर्ने गरी विभागले निर्णय गरेको छ । यस्तो रकम अनिवार्य रुपमा करदाताको स्थायी लेखा नम्बर राखी विद्युतीय माध्यमबाट कर कट्टी विवरण पेश गर्नुपर्ने गरी विभागले निर्णय गरेको छ ।

विभागका प्रवक्ता प्याकुरेलका अनुसार नेपालका बासिन्दा सबैले आफ्नो आयमा तोकिए अनुसारको आयकर तिर्नुपर्छ । अन्तर्राष्ट्रिय निर्माण तथा आपूर्तिकर्तालाई समेत नेपालमा सेवा दिने अवधिसम्म नेपालकै बासिन्दा मानेर आयकरको दायरामा ल्याउने निर्णय भएको हो ।

‘उदाहरणका लागि भारतीय कम्पनीले नेपालमा काम गर्ने अवसर पायो भने उसले नेपालमा काम गरुन्जेल नेपालकै स्थायी संस्थापन मानिन्छ, सोही अनुसार उसको आयमा अग्रिम करकट्टी गर्ने निर्णय भएको हो’ उनले भने ।

(यो समाचार  अनलाइन खबर २९ भदौ २०७९ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links