साउनमा सरकारले राखेको राजस्वको लक्ष्य पूरा भएन, भन्सार संकलन १६ करोड रुपैयाँ कम


काठमाडौं।सरकारले चालु आर्थिक वर्षको साउन महिनामा राखेको राजस्वको लक्ष्य पूरा भएन।

साउनमा सरकारले ६२ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।यो लक्ष्य भन्दा ६७ करोड रुपैयाँले कम हो।साउनमा ६३ अर्ब ६४ करोडको राजस्व लक्ष्य सरकारले राखेको थियो।तर यो वर्षको राजस्व संकलन गत वर्षको साउनको तुलनामा ३७.५५ प्रतिशतले बढी हो।साउनमा भन्सार,भ्याट र अन्तशुल्कमै कमी आएको छ।
अर्थमन्त्रालयका अनुसार भन्सार राजस्व मासिक लक्ष्यको तुलनामा करिब १६ करोड रुपैयाँ कम असुली भएको छ। साउनमा १२ अर्ब ३६ करोड रुपैयाँ भन्सार राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १२ अर्ब २० करोड रुपैयाँ मात्रै संकलन भएको अर्थको विवरणमा उल्लेख छ।

भ्याटमा लक्ष्य भन्दा २ अर्ब ७८ करोड रुपैयाँ कम संकलन भएको छ।साउनमा २३ अर्ब ९२ करोड रुपैयाँ भ्याट संकलनको लक्ष्य राखिएकोमा २१ अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ।

यस्तै आयकर १२ अर्ब ८१ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएकोमा १३ अर्ब २ करोड रुपैयाँ संकलन भएको छ। सरकारले साउनमा ८ अर्ब ७२ करोड रुपैयाँ अन्तशुल्क असुलीको लक्ष्य राखेकोमा ८ अर्ब ६३ करोड रुपैयाँ संकलन भएको छ। गत वर्षको तुलनामा गैरकर राजस्व संकलन ८७.२ प्रतिशतले बढेर ४ अर्ब १६ करोड रुपैयाँ संकलन भएको छ।

गत वर्ष भन्दा राम्रो
अर्थ मन्त्रालयका अनुसार साउनमा राजस्व संकलन गत वर्षको साउनको तुलनामा ३७.५५ प्रतिशतले बढेको छ। यो साउनमा सरकारले ६२ अर्ब ९७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत वर्षको यही अवधिमा ४५ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।

'बजेटले सुरु गरेका प्रणालीगत सुधार र विशेष व्यवस्थाहरु साउनबाटै कार्यान्वयन भएपछि राजस्व संकलनमा त्यसको सकारात्मक प्रभाव देखिएको छ,' अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले बिजमाण्डूसँग भनिन्, 'संगठन सुधार र केही हदसम्म करका दरमा भएका परिवर्तनले पनि राजस्व बढाउन सहयोग गरेको छ।'

करदातालाई कर तिर्न अभिप्रेरित गरिएको र प्रशासनिक संरचना तथा प्रणालीको सुधारले अहिलेको उपलब्धी सम्भव भएको उनको भनाइ छ। 'साढे ३७ प्रतिशतको वृद्धि सामान्य होइन,' उनले भनिन्, 'वार्षिक राजस्व वृद्धि ३५ प्रतिशतले हुने प्रक्षेपण गरिएको अवस्थामा पहिलो महिनामा सकारात्मक उपलब्धी हासिल भएको छ।'

साउनमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भए पनि मासिक लक्ष्य भने पुरा भएको छैन। सरकारले ६३ अर्ब ६४ करोड रुपैयाँ संकलनको लक्ष्य राखेको थियो। जुन संकलित राजस्व भन्दा ६७ करोड रुपैयाँले धेरै हो। '३५ प्रतिशतभन्दा धेरैको वृद्धि अत्यन्तै राम्रो हो। जहाँसम्म लक्ष्य र असुलीको कुरा छ, त्यो पुरा नहुनुमा मासिक लक्ष्य निर्धारण अलि व्यवस्थित भएन कि त्यतातर्फ हेर्नुपर्ला,' पौडेलले भनिन्।

सरकारले चालु वर्षमा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। गत वर्ष ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो। जसमा ७ खर्ब ३२ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले दावी गर्ने गरेको छ भने महालेखा नियन्त्रकको कार्यालयले ७ खर्ब २६ अर्ब रुपैयाँ मात्रै राजस्व उठेको जनाएको थियो।

यो समाचार  बिजमाण्डू डटकम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links