विद्युतीय सवारीबारे दुई क्याबिनेट मन्त्रीको विपरीत तर्क : एक भन्छन् कर लगाउनु ठीक, अर्का मन्त्री भन्छन् प्रवर्द्धनमा जोड दिन्छौँ

विद्युतीय सवारीसाधनबारे दुई क्याबिनेट मन्त्रीको फरक–फरक धारणा देखिएको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडा र ऊर्जामन्त्री वर्षमान पुनको विद्युतीय सवारीसाधनका विषयमा फरक–फरक विपरीत मत देखिएको हो । 

संघीय संसद्को प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफमा अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय गाडी कुदाएर मात्र धेरै विद्युत् खपत बताए । 

विद्युतीय सवारीसाधनको भन्सार दर वृद्धि गरेको सम्बन्धमा सोधिएको प्रश्नमा अर्थमन्त्रीले विद्युतको खपतका लागि औद्योगिकीकरण र विद्युत् खपत हुने अन्य गार्हस्थ्य खपतलाई तथा ग्रामीण विद्युतीकरणलाई पूर्ण सफल बनाउनुपर्ने बताए । 

तर, सदनकै सोही दिन अर्थात् मंगलार नै ऊर्जामन्त्री वर्षमान पुनले भने आगामी दिनमा विद्युतीय गाडी र चुलो खपतमा जोड दिने बताए ।  

‘बिस्तारै पेट्रोलियम पदार्थको प्रयोग घटाउँदै जाने र विद्युतको प्रयोग वृद्धि गर्दै लैजानुपर्छ,’ उनले भने । विद्युतीय इन्डक्सन चुलोलाई १५ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेका ऊर्जा मन्त्रीको भनाइ छ । 

विद्युतीय सवारीसाधनमा  विगतमा एउटै क्याटेगोरी भएकोमा अहिले पाँचवटामा विभाजन गरिएको उनको भनाइ थियो । 

सार्वजनिक विद्युतीय सवारीसाधनमा भन्सार वृद्धि नगरिएको र सुविधाजनक विद्युतीय सवारीसाधनमा भने वृद्धि गरिएको ऊर्जामन्त्रीको भनाइ थियो । 

अर्थमन्त्री डा. खतिवडाले नाकाबन्दीमा पेट्रोलियम पदार्थ नपाएपछि त्यसवेला बोल्ड निर्णय गरेर निजी प्रयोजनका लागि १० प्रतिशत र सार्वजनिक प्रयोगका लागि एक प्रतिशत भन्सारमा विद्युतीय सवारीसाधनलाई ल्याउन पाउने निर्णय गरिएको बताए ।

‘अहिलेको व्यवस्था भनेको सार्वजनिक प्रयोजनका लागि एक प्रतिशत नै छ र निजी प्रयोजनको लागि भने वृद्धि गरिएको हो,’ उनले भने ।

विद्युतीय सवारीसाधनको भन्सार सरल र कर बढ्नुहुँदैन भन्ने विषय सैद्धान्तिक रूपमा ठीक हो । तर, कति सरल र कति कर भन्ने विषयमा छलफल हुनुपर्ने अर्थ मन्त्रीको भनाइ छ । 

विद्युतीय सवारीसाधनको कर महसुल पेट्रोलियम पदार्थबाट चल्नेभन्दा कम हुनुपर्ने, तर कम हुनुपर्छ भनेर १० प्रतिशत नै हुनुपर्छ वा दक्षिण एसियाली मुलुकको हाराहारीमा रहँदा उपयुक्त हुन्छ भनेर छलफल आवश्यक रहेको बताए ।

सार्कका ठूला मुलुकमा विद्युतीय सवारीसाधनको महसुल सबै मुलुकमा छ । भन्सार महसुल ४० प्रतिशत, ६० प्रतिशतसम्म र त्यसमा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर जाेड्दा सय प्रतिशतसम्म पुग्ने वा त्योभन्दा धेरै पुग्ने कतिपय मुलुकको स्थिति रहेको मन्त्रीको भनाइ छ । 

विद्युतीय गाडी सरल र वातावरणीय ढंगले पनि उपयोगी हुने विषय ठीक छ । सरकारको मान्यता भनेको सार्वजनिक सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्छ भन्नेमा सरकार रहेको अर्थ मन्त्रीले बताए ।

(यो समाचार  नयाँ  पत्रिका मा, २८ जेष्ठ २०७७ प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links