७ अर्बको सामानमा भन्सार छली

काठमाडौं : संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ। चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडाइ गर्न निर्देशन दिँदा यस्तो तथ्यांक फेला परेको हो।

खुला सिमाना र भन्सारको खुकुलोपनाको फाइदा उठाएर पाँच महिनामा ६ अर्ब ८८ करोड रुपैयाँको सामान भारतबाट बिनाभन्सार नेपाल आएको छ। भारतको वाणिज्य विभागमा अभिलेख भएको तर नेपालको भन्सारमा अभिलेख नभएको सामानको अन्तर निकाल्दा यस्तो पाइएको हो। नेपालले भारतबाट आयात गरेको र भारतले निर्यात गरेको तथ्यांकबीचको फरकले यस्तो देखाएको हो।

सन् २०१७ को अन्तिम पाँच महिना अर्थात् अगस्टदेखि डिसेम्बरसम्म भारतबाट नेपालमा तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। सोही अवधिमा नेपाली भन्सारमा भने तीन खर्ब पाँच अर्ब १६ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ।

भारतीय वाणिज्य विभागको तथ्यांकमा यो अवधिमा एक खर्ब ७४ अर्ब १४ करोड भारतीय रुपैयाँ बराबरको सामान नेपाल आएको देखिन्छ। यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा दुई खर्ब ७८ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिव भण्डारी भारतबाट आयात गरिएका सामानमा १२ प्रतिशत ढुवानी भाडा र बिमा खर्च जोडेर भन्सार गर्ने गरेको बताउँछन्। उनी भन्छन्, ‘भाडा र बिमाको खर्च आयातित सामानको मूल्यमै जोडिन्छ। त्यसपछि मात्र भन्सारको अभिलेखमा सामानको आयात मूल्य कायम हुन्छ।’ भाडा र बिमालाई जोडेको रकम समावेश गर्दा सन् २०१७ को पछिल्लो पाँच महिनामा भारतबाट आयात भएको सामानको मूल्य तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ हुन आउँछ। विभागका निर्देशक भण्डारी भारतबाट नेपालमा अनौपचारिक रूपमा सामान आउने भएकाले उताबाट आएको भन्दा कम सामान भन्सारमा अभिलेख भएको बताउँछन्।

भारतको वाणिज्य विभागको तथ्यांकले सन् २०१७ को डिसेम्बरमा भारतबाट नेपालमा ४० अर्ब १६ करोड ११ लाख भारतीय रुपैयाँको सामान आएको देखाउँछ। नेपाली रुपैयाँमा रूपान्तर गर्दा आयातमूल्य ६४ अर्ब २५ करोड ७७ लाख हुन आउँछ। यसमा १२ प्रतिशत खर्च जोड्दा ७१ अर्ब ९६ करोड रुपैयाँ हुन आउँछ। यही अवधिमा भारतबाट ७० अर्ब २९ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ। एक महिनामा मात्र भारतले निर्यात गरेभन्दा एक अर्ब ६७ करोड रुपैयाँ कमीको सामान नेपाल आएको देखिन्छ। वीरगन्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेल भारतीय भन्सार आधुनिक नहुँदा तथ्यांक तल–माथि पर्ने बताउँछन्। उनले भने, ‘भारतीय भन्सारले कागजमा राख्ने अभिलेखका कारण आयातको तथ्यांक सही नहुन सक्छ।’

राष्ट्र बैंकले ०७३ सालमा गरेको अध्ययनअनुसार नेपालको भन्सार र भारतको भन्सारको अभिलेखमा आयात–निर्यात भिन्नता औसत ३५ दशमलव पाँच प्रतिशत रहेको देखिएको छ। गैरकानुनी व्यापार बढेको भन्दै गत वर्ष भारतले गुड फर सर्भिस ट्याक्स (जेएसटी) लगाउने निर्णय गरेको थियो।

राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापा भारतबाट हुने गैरकानुनी आयात रोक्न अर्थमन्त्रीले सन्दर्भ मूल्यको विषय अगाडि सारेको बताउँछन्।

उनी भन्छन्, ‘हामीले पछिल्लो समय अनुसन्धान गरेका छैनौं। मन्त्रीको पछिल्लो निर्देशनले यस्तो आयात घटेको होला भन्ने अनुमान लगाउन सकिन्छ।’

यो समाचार हामीलेअन्नपुर्ण पोस्ट बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन ।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links