NMB Bank

Nepal Life Insurance

प्राकृतिक व्यक्तिको घर/जग्गा विक्रिमा कर

 

प्राकृतिक व्यक्तिको कस्तो घर/जग्गा विक्रिमा कर लाग्छ?

प्राकृतिक व्यक्तिले विक्री गरेको गैर व्यावसायिक करयोग्य सम्पत्तिको विक्रिमा पुजीगत कर लाग्दछ ।

गैर व्यावसायिक करयोग्य सम्पत्तिमा कस्तो घर जग्गा पर्दछन् ? 

प्राकृतिक व्यक्तिको देहायको जग्गा तथा घर जग्गा बाहेक अन्य अवस्थाका जग्गा तथा घर जग्गा गैर व्यावसायिक करयोग्य सम्पत्ति अन्तर्गत पर्दछन ।
(१) कुनै प्राकृतिक व्यक्तिको निम्न अवस्थाको निजी भवन -
       (क) अविच्छिन्न दश वर्ष वा सोभन्दा बढी अवधि स्वामित्वमा रहेको, र
       (ख) सो व्यक्तिले अविच्छिन्न वा पटक पटक गरी कूल दश वर्ष वा सोभन्दा बढी बसोबास गरेको,
 स्पष्टिकरण : यस उपखण्डको प्रयोजनका लागि “निजी भवन” भन्नाले भवन र भवनले ओगटेको क्षेत्रफल बराबरको जग्गा वा एक रोपनी जग्गा मध्ये जुन घटी हुन्छ सोलाई सम्झनु पर्छ ।
(२) कुनै प्राकृतिक व्यक्तिको तीस लाख रुपैयाँभन्दा कम मूल्यमा निःसर्ग गरेको जग्गा तथा निजी भवन ।
 कुनै प्राकृतिक व्यक्तिको घरजग्गा (घर तथा घरले ओगटेको जग्गा) गैर व्यावसायिक करयोग्य सम्पत्तिको रुपमा पहिचान हुन माथि वुदाँ १ र २ मा उल्लेख भएको अवस्था हुनु हुँदैन ।
आयकर ऐन, २०५८ ल तीन पुस्ताभित्र भएको खरिद बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरी निःसर्ग गरेको सम्पत्तिलाई गैर व्यावसायिक करयोग्य सम्पत्तिको परिभाषाभन्दा बाहिर राखेको छ ।

हामीले दुई व्यक्तिको संयुक्त नाममा रहेको जग्गा बिक्रि गर्दा रु ३० लाख को सीमालाई ६० लाख गर्न मिल्छ कि मिल्दैन ?

सँयुक्त स्वामित्वमा रहेको आधारमा गैर व्यावसायिक करयोग्य सम्पत्ति हुन रु ६० लाखभन्दा बढी मूल्यमा हस्तान्तरण हुनु पर्दैन । त्यस्तै अग्रिम कर गणना प्रयोजनको लागि रु ६० लाखलाई आधार मान्नु हुदैन तथा जग्गा तथा भवनलाई समेत एउटै एकाई मान्नु पर्दछ । (पुँजीगत कर निर्देशिका- परिच्छेद ६)

एक आर्थिक वर्ष भरिमा एकभन्दा बढी कारोबार भएमा रु ३० लाखको सीमा कसरी गणना गर्ने?

कुनै प्राकृतिक व्यक्तिले कुनै आय वर्षमा एक पटक जग्गा तथा भवन बिक्री गर्दा रु ३० लाखभन्दा घटी रकमको कारोबार गरेको तर अर्को कारोबार गर्दा दुवै कारोबारको रु ३० लाखभन्दा बढी हुन गएमा दुवै कारोबारलाई समावेश गरी गैर व्यावसायिक करयोग्य सम्पत्तिको रुपमा परिभाषित गरी पूँजीगत लाभ गणना गर्नु पर्दछ भनि पुँजीगत कर निर्देशिका- परिच्छेद १२ ले व्यवस्था गरेको देखिन्छ ; तर विभागको यो ब्याख्या ऐनको गैर व्यावसायिक करयोग्य सम्पत्तिको अवधारणा अनुरुप नभई करदाता मर्कामा पर्ने देखिन्छ ।
 
के पुँजीगत कर कुल बिक्रि रकममा लाग्छ ?

होइन । पुँजीगत कर नाफामा मात्र लाग्छ । नाफा भन्नाले घर जग्गाको कुल बिक्रि रकमबाट आफ्नो खरिद वा निर्माण रकम र अन्य खर्च घटाएर आएको खुद नाफा बुझ्नुपर्छ  ।
खरिद गरेको भए रजिष्टेशन पारित लिखतमा उल्लिखित मूल्यलाई खरिद मुल्य मानिन्छ, तर भवन निर्माण गरेको भए निर्माणको लागि भएको लागत खर्चको प्रमाण उपलब्ध हुनुपर्दछ ; प्रमाण उपलब्ध हुदाँको अवस्थामा घर/जग्गा बिक्रि गर्दा जग्गा व्यवसायीलाई तिरेको कमिसन पनि घटाउन पाइन्छ ।

अंशबण्डामा पाएको घर/जग्गा बिक्रि गर्दा पुँजीगत कर लाग्छ/लाग्दैन ?

आयकर ऐन, २०५८ को गैर व्यावसायिक करयोग्य सम्पत्तिको परिभाषाले तीन पुस्ताभित्र हस्तान्तरण गरिएको  जग्गा तथा भवनलाई गैर व्यावसायिक करयोग्य सम्पत्तिको दायराबाट बाहिर राखेको कारण त्यो हस्तान्तरणमा पुँजीगत कर लाग्दैन, तर त्यस्तो हस्तान्तरण खरिद, बिक्री बाहेकको हुनु पर्दछ  ।

यसरी हस्तान्तरित जग्गा तथा भवन प्राप्त गरेको व्यक्तिले पुनः सोही सम्पत्ति तीन पुस्ताभित्र खरिद, बिक्री बाहेक अन्य किसिमले हस्तान्तरण गरेमा गैर व्यावसायिक करयोग्य सम्पत्तिको रुपमा पहिचान नहुने भएकाले सो पछिल्लो हस्तान्तरणमा पनि पुँजीगत कर लाग्दैन ।

तर सो अंशबण्डाबाट हस्तान्तरित जग्गा तथा भवन प्राप्त गरेको व्यक्तिले त्यस्तो त्यस्तो सम्पत्ति तीन पुस्ताभन्दा बाहिरको व्यक्तिलाई रु तीस लाखभन्दा बढी मूल्यमा वा भवन भए स्वामित्वमा आएको मितिले १० वर्ष भन्दा कम अवधि बसोबास गरेको अवस्थामा हस्तान्तरण गरेमा सो सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति भई आयकरको दायरामा आउँछ ।

अंशबण्डामा पाएको घर/जग्गा बिक्रि गर्दा लागत गणना कसरी गर्ने ?

अंशबण्डामा पाएको घर/जग्गा अंशबण्डा दिने व्यक्तिले २०५८ साल चैत्र १९ गते भन्दा पछि खरिद वा निर्माण गरेको भए सो खरिद वा निर्माण मूल्यलाई नै लागत मानिन्छ, तर  अंशबण्डा दिने व्यक्तिले २०५८ साल चैत्र १९ गते भन्दा अघि नै सो घर/जग्गा खरिद वा निर्माण गरेको भए २०५८ साल चैत्र १९को बजार मूल्यलाई सो घर/जग्गाको लागत मानिन्छ  ।

उदाहरण- राम बहादुरले २०५५ सालमा १० लाखमा खरिद गरेको घर/जग्गा आफ्नो छोरा श्याम बहादुरलाई २०७० सालमा अंशबण्डा पास गरिदिएछन्, सो घर/जग्गाको २०५८ साल चैत्र १९को बजार मूल्य रु ५० लाख र २०७० सालको बजार मुल्य रु ८० लाख रहेछ । यसरी २०७० सालमा वुवाले छोरालाई गरेको हस्तान्तरणमा पुँजीगत कर लाग्दैन । तर श्याम बहादुरले मिती २०७२ भाद्रमा सो घर/जग्गा तीन पुस्ता भन्दा बाहिरको हर्केलाई रु १ करोडमा बिक्रि गरे भने सो घर/जग्गाको बिक्रि मुल्य रु ३० लाख भन्दा माथी र श्याम बहादुरको वसोवास १० वर्ष भन्दा कम भएकाले यो विक्री गैर व्यावसायिक करयोग्य सम्पत्ति भै नाफामा  पुँजीगत कर लाग्दछ ।

करको गणना गर्दा रु १ करोड बाट २०५८ साल चैत्र १९को बजार मूल्य रु ५० लाख घटाई आउने नाफा रु ५० लाख मा कर लाग्दछ ।

प्राकृतिक व्यक्तिलाई पुँजीगत करको दर कति हो?

यदि कुनै प्राकृतिक व्यक्तिको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन)को निःसर्गमा लाभ भएको छ भने लाभ रकममा निम्न दरमा निःसर्ग भएको जग्गा तथा भवनको रजिष्टेशन पास गर्दा कै समयमा अग्रिम रुपमा कर दाखिला गर्नु पर्दछ ।

  • निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाचँ वर्ष वा सोभन्दा बढी भएको छ भने- नाफामा २.५% करको दर
  • निःसर्ग भएको गैर व्यावसायिक करयोग्य सम्पत्ति (जग्गा तथा भवन) को स्वामित्व पाचँ वर्ष भन्दा कम भएको छ भने- नाफामा ५% करको दर


के प्राकृतिक व्यक्तिको घर/जग्गा विक्रिमा मालपोतमा तिरेको अग्रिम आयकर अन्तिम कर हो ?  

होइन ; अगिम कर दाखिल्रा गर्नु पर्ने व्यक्तिले तिर्नु पर्ने वार्षिक कर दायित्वमा सो अग्रिम कर रकम समायोजन गर्न पाउनेछ ।
कुनै व्यक्तिको कुनै आय वर्षमा गैर व्यावसायिक करयोग्य सम्पत्ति ( जग्गा तथा भवन) को निःसर्ग भएको छ भने सो निःसर्गको सन्दर्भमा भएको लाभ वा नोक्सानी उल्लेख गरी आय विवरण दाखिला गर्नु पर्दछ ।

गैर व्यावसायिक करयोग्य सम्पत्ति ( जग्गा तथा भवन)को आय विवरण दाखिला गर्दा वित्तीय विवरण एवं अडिटरको प्रमाणीकरण आवस्यक पर्छ कि पर्दैन ?

कुनै व्यक्तिको कुनै आय वर्षमा गैर व्यावसायिक करयोग्य सम्पत्ति ( जग्गा तथा भवन) को निःसर्गको लाभ वा नोक्सानी मात्र रहेको छ भने त्यस्को लागि दाखिला गरिने आय विवरणको साथमा वित्तीय विवरण संलग्न गर्नु पर्दैन । यसर्थ गैर व्यावसायिक करयोग्य सम्पत्तिको निःसगर्मा  भएको लाभ वा नोक्सानीको लागि दाखिला गरिने आय विवरण नेपाल चार्टड एकाउण्टेण्ट संस्थाबाट पेशागत प्रमाणपत्र प्राप्त गरेको व्यक्तिले प्रमाणित गर्नु पर्दैन ।

गैर व्यावसायिक करयोग्य सम्पत्ति ( जग्गा तथा भवन) बिक्रि गर्ने व्यक्तिले के स्थाथी लेखा नम्बर लिनु पर्दछ ?

ऐनको दफा ७८(३) को व्यवस्था प्रयोग गरी आन्तरिक राजस्व विभागले कुनै व्यक्तिले रु १ करोड भन्दा बढी मूल्यको जग्गा तथा भवनको खरिद वा बिक्री गर्नु परेमा स्थायी लेखा नम्बर लिनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । यसर्थ यस्तो कारोबार गर्ने व्यक्तिले अग्रिम कर मालपोत कार्यालयमा दाखिला गर्ने प्रयोजनको लागि पेश गर्ने घोषण फाराममा जग्गा तथा भवन खरिद वा बिक्री गर्ने दुवै व्यक्तिले आफ्नो स्थायी लेखा नम्बर उल्लेख गर्नु पर्नेछ ।

जग्गा तथा भवन खरिद/बिक्रि गर्दा कस्तो घोसणा फाराम भर्नु पर्छ?

कुनै व्यक्तिले जग्गा तथा भवन बिक्री वा अन्य कुनै माध्यमले निःसर्ग गरेको छ भने त्यस्तो व्यक्तिले आफुले निःसर्ग गरेको सम्पत्ति गैर व्यावसायिक करयोग्य सम्पत्ति भए वा नभएको जे अवस्था भए तापनि निम्न बमोजिमको ढाचामा घोषणा फाराम भरी पेश गर्नु पर्नेछ ।

 

Social Links