विराटनगर भन्सार कार्यालयले १९ अर्ब ५७ करोड राजस्व सङ्कलन


विराटनगर।विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिको लक्ष्य पूरा गरेको छ ।

मूलतः औद्योगिक कच्चा पदार्थको पैठारी गर्ने नाकाका रूपमा चिनिने विराटनगर भन्सारले पुस मसान्त सम्ममा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ सङ्कलन गरी लक्ष्य हासिल गरेको हो ।यो अवधिमा कार्यालयको लक्ष्य १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ थियो । कार्यालयले चालु आवको अर्धवार्षिक अवधिमा १०० दशमलव ४ प्रतिशत लक्ष्य पूरा गरेको जनाएको छ ।
गत आर्थिक वर्षको यही अवधिमा कार्यालयले १३ अर्ब ८३ करोड ६२ लाख सङ्कलन गरेको थियो । गत आर्थिक वर्षको अर्धवार्षिक अवधिमा भन्दा चालु आवको अवधिमा राजस्व सङ्कलनको लक्ष्य ३० प्रतिशतले वृद्धि भएको तर राजस्व सङ्कलन ४१ प्रतिशतले वृद्धि भएको कार्यालयका सूचना अधिकृत एवम् प्रवक्ता मणिराम पौडेलले बताए ।

कार्यालयले चालु आर्थिक वर्षभरिमा ४२ अर्ब ५३ करोड १९ लाखको लक्ष्य पाएको छ ।कार्यालयले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न भन्सार जाँचपासमा सहजता, मालवस्तुको यथार्थ वर्गीकरण, यात्रु जाँचपासमा कडाइ, चोरी पैठारी–निकासी नियन्त्रण, नियमित गस्ती परिचालन र मुद्दाका रूपमा दाखिल भएका मालवस्तुको समयमै लिलाम गर्ने जस्ता रणनीति अवलम्बन गरेको पौडेलको दाबी छ ।

विराटनगर भन्सारबाट पैठारी गरिने मुख्य मालवस्तुमा पेट्रोलियम पदार्थ, एमएस बिलेट, पोलिथिन दाना, स्टिल वायर रड, सेन्थेटिक यार्न, सिआर सिट, एलपी ग्यास, एचआर सिट र खाद्यान्न हुन् ।त्यस्तै निकासी गरिने मुख्य वस्तुमा सिन्थेटिक यार्न, जुटका झोला, जुटका बुनिएका कपडा, अलैँची, अन्य रेसाका कपडा, रिफाइन्ड पाम आयल, जिआई वायर, कोरुगेटेड जस्ता पाता, कपर सिट र पिना मुख्य छन् ।

यो समाचार  बिजमाण्डू डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links