९ महिनामा थपिए पौने ३ लाख करदाता, राजस्व संकलन लक्ष्यभन्दा कम

चालू आर्थिक वर्षको ९ महिना अवधि (साउन–चैत)सम्म पौने ३ लाख करदाता करको दायराभित्र आएका छन् । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा २ लाख ६९ हजार ५ सय ८९ करदातालाई स्थायी लेखा नम्बर दिइएको छ । यस्ता लेखा नम्बर लिनेमध्ये १ लाख ५८ हजार ७ सय ५८ करदाताले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् । १ लाख १० हजार ८ सय ३१ करदाताले भने व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । कुल करदाताको संख्या भने २३ लाखबाट बढेर २३ लाख ७७ हजार २ सय ७० पुगेको छ । 

करको दायरा विस्तार गर्ने अभियानस्वरूप राजस्व प्रशासनको संयन्त्रलाई थप प्रभावकारी बनाएर करदातालाई स्थायी लेखा नम्बर वितरण गर्ने काम भइरहेको मन्त्रालयको भनाइ छ । 

राजस्व संकलन लक्ष्यभन्दा कम 
चालू आवमा सरकारले राजस्व वृद्धिको महत्वाकांक्षी लक्ष्य राखेको थियो । सरकारले चालू आवमा अघिल्लो आव ०७४/७५ को तुलनामा करिब ३५ प्रतिशत बढी अर्थात् ९ खर्ब ४५ अर्ब ५५ करोड राजस्व संकलनको लक्ष्य राखेको छ । त्यसमध्ये चैत मसान्तसम्म ६ खर्ब ७४ अर्ब ५७ करोड राजस्व संकलनको लक्ष्य थियो । तर, यस अवधिमा लक्ष्यभन्दा १२.६९ कम अर्थात् ५ खर्ब ८८ अर्ब ९५ करोड मात्र राजस्व सकंलन भएको छ । गत वर्षको तुलनामा राजस्व संकलनको वृद्धिदर २१.४४ प्रतिशतले बढेको भए पनि समग्र संकलनको लक्ष्य भने घटेको हो । 

सरकारले राजस्व बढाउन अनावश्यक आयातलाई प्रोत्साहन नगरेकाले लक्ष्यअनुसार राजस्व उठ्न नसकेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउँदै आएका छन् । मन्त्रालयको तथ्यांकअनुसार चैतसम्म भन्सार महसुल लक्ष्यको ९० दशमलव ८७ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर लक्ष्यको ८४ दशमलव ७९ प्रतिशत मात्र संकलन भएको छ । अन्तःशुल्क ९२ दशमलव ९२ प्रतिशत मात्र संकलन भएको तथ्यांक छ । 

२ हजार ३ सयले लिए विद्युतीय बीजक 
सरकारले वार्षिक ३५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने आर्थिक प्रतिष्ठानलाई अनिवार्य विद्युतीय बीजक जारी गर्ने समयसीमा तोकेको छ । यस्तो बीजक चालू आवको अन्त्यसम्म सबै प्रतिष्ठानले लिइसक्नुपर्ने अनिवार्य छ । चैत मसान्तसम्म भने कुल २ हजार ३ सय २१ प्रतिष्ठानले विद्युतीय माध्यमबाट बीजक जारी गर्ने गरी प्रणालीमा आबद्ध भएको अर्थ मन्त्रालयको तथ्यांक छ । यी करदातामध्ये ६७ करदाता केन्द्रीय बिलिङ अनुगमन प्रणालीभित्र आबद्धसमेत भइसकेका छन् । 

चालू आवमा थपिएको राजस्व संयन्त्र 
७ भन्सार कार्यालयमा स्वचालित प्रणालीबाट जाँचपास गर्ने प्रणाली आसिकुडा वल्र्ड लागू, अब कुल २१ कार्यालयमा यो प्रणाली पुगेको छ । ७ भन्सार कार्यालयमा बैंक काउन्टर थपिएको छ । अब देशभर १७ भन्सार कार्यालयपरिसरमा बैंकको काउन्टर स्थापना भएको छ । वीरगन्जस्थित एकीकृत भन्सार जाँचचौकी सञ्चालन ।
देशभर कति करदाता ? 
 व्यावसायिक स्थायी लेखा नम्बर : ११, ९६,३०५
 व्यक्तिगत स्थायी लेखा नम्बर : ८,७७,४७७
 मूल्य अभिवृद्धि कर : २,२२,८२० 
 अन्तःशुल्क : ८०,६६८ 

यो समाचार  नया पत्रिका दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links