बढेको करबाट समस्या भए वैकल्पिक सुविधा दिन्छौँ :अर्थमन्त्री

भ्याट फिर्ता खारेजीप्रति निजी क्षेत्रको असन्तुष्टि , भ्याट छुट गर्दै नगर्ने सचिवको प्रस्टीकरण
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष ०७५्\७६ को बजेटले लिएको करनीतिबाट निराश नहुन निजी क्षेत्रलाई आग्रह गरेका छन् । मुलुक संघीय संरचनामा गएसँगै खर्चको भार बढेको र त्यसमा निजी क्षेत्रको योगदान पनि चाहिने भएकाले केही करका दर बढेको भए पनि त्यसबाट निराश नहुन आग्रह गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको बजेटबारेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रीले उद्योग व्यवसायीलाई परेको करको दबाब न्यूनीकरण गर्न सरकारले खर्च गरेर राहत दिने बताए । ‘करको प्रावधानप्रति निराश नहुनुहोस्,’ उनले भने, ‘हामी वैकल्पिक माध्यमबाट समस्या समाधान गर्नेछौँ ।’ भ्याट फिर्ता खारेजी गरिए पनि आयकरमा छुटको स्किम ल्याएको भन्दै बजेटले लिएको कर नीतिबाट परेको दबाबलाई वैकल्पिक सुविधाबाट न्यूनीकरण गर्ने बताए ।

जिएसटी सुरु गर्ने अर्थमन्त्रीको संकेत
अर्थमन्त्री डा. खतिवडाले नेपालमा पनि जिएसटी सुरु गर्न सकिने संकेत गरेका छन् । महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्याट र जिएसटीका विषयमा छलफल गर्नुपर्ने बताए । ‘हामी वर्षौंदेखि भ्याटको बहुदर, छुट, सीमा, फिर्तालगायतका विषयमा बहस गरिरहेका छौँ,’ उनले भने, ‘अब भ्याट वैज्ञानिक कि जिएसटी ? भनेर छलफल गर्नुपर्ने वेला आएको छ ।’ उनले जिएसटीको विषयमा छलफल गर्न निजी क्षेत्रलाई आग्रहसमेत गरे ।

बैंक र कर कार्यालयमा बुझाउने विवरण उस्तै हुनुपर्ने
सोही कार्यक्रममा बोल्दै राजस्वसचिव शिशिर कुमार ढुंगानाले व्यवसायीले बैंक र कर कार्यालयमा बुझाउने विवरण उस्तै हुनुपर्ने बताए । उनले अब सरकारले बैंक र कर कार्यालयमा बुझाउने व्यवसायीका विवरणबीच तुलना गर्ने समेत बताए । ‘अब बैंक र कर कार्यालयमा फरक–फरक विवरण बुझाउने दिन गए,’ उनले भने, ‘दुई संस्थाबीच लिंक गरिन्छ ।’ उनले कुनै पनि कारोबारमा भ्याट छुट दिन नसकिने बताउँदै अन्य माध्यमबाट भने सुविधा दिने बताए ।

बजेटमा छुटेका कुरा समेट्न आग्रह
उक्त अवसरमा महासंघकी अध्यक्ष भवानी राणाले बजेटले समेट्न नसकेका निजी क्षेत्रका समस्या तथा मागलाई अन्य नीतिगत व्यवस्थामार्फत सम्बोधन गर्न आग्रह गरिन् । कर, लगानी, राजस्व न्यायाधीकरणलगायत थुपै्र विषयमा निजी क्षेत्रले दिएका कतिपय सुझाबलाई बजेटले समेट्न नसकेको भन्दै उनले आगामी दिनमा त्यसलाई सम्बोधन गर्न आग्रह गरिन् ।

समृद्धिको सपना टुटेजस्तै भयो
महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बजेटले कर छुट हटाएर अन्तःशुल्क थपिदिएसँगै बजारमा महँगी बढ्ने निश्चित देखिएको बताए । यसबाट सर्वसाधारण जनतालाई असर पर्ने उनको भनाइ थियो ।

भ्याट फिर्ता खारेजप्रति व्यवसायीको असन्तुष्टि
छलफल कार्यक्रममा बोल्ने अधिकांश व्यवसायीले बजेटले भ्याट फिर्ता खारेज गरेकोप्रति असन्तुष्टि व्यक्त गरे । उनीहरूले दैनिक उपभोग्य वस्तुमा दिइँदै आएको भ्याट फिर्तासमेत खारेज गरिएकाले त्यसबाट मूल्य वृद्धि बढ्ने बताए ।

नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले कपडामा दिइँदै आएको भ्याट फिर्ता खारेजी भएपछि उद्योगहरूको प्रतिस्पर्धी क्षमतामा ह्रास आउने भएकाले उद्योग धरासयी हुन सक्ने बताए । क्यानका पूर्वअध्यक्ष तथा महासंघको आइसिटी समितिका सल्लाहकार विप्लवमान सिंहले दूरसञ्चार सेवामा बढाइएको कर सूचना प्रविधिको क्रान्तिलाई पछाडि धकेल्न  सक्ने औँल्याए ।
 

यो समाचार  नयाँ पत्रिका  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links