आयको श्रोत (Source of income)

आयकर कानून अनुसार बासिन्दा वा गैरबासिन्दा दुवै थरीका व्यक्तिलाई नेपाल श्रोत भएको आयमा नेपालमा कर लाग्दछ । नेपाल श्रोतको आयमा विदेशमा तिरेको कर मिलान गर्न पनि पाइन्न । नेपाल श्रोतको आय हुनु र नहुनुले कुनै रकम वा भुक्तानी वा प्राप्ति वा आम्दानीमा सोझै फरक पर्न जान्छ ।

कर कानूनमा श्रोत निर्धारणका लागि आयकर ऐन, २०५८ को दफा ६७मा जम्मा एकै स्थानमा सिद्धान्त र कानूनी व्यवस्था गरेको छ । ह्रासयोग्य सम्पतिका सन्दर्भमा भने सानो सहयोग दफा १९ र अनुसूचि २ बाट पनि लिनु पर्दछ, उपयोग स्थानको निर्धारण गर्ने हदसम्म । कर कानूनमा प्रयोग भएको भाषा चाँही कुरा बुझ्दै जानुपर्ने खालको छ, कतिपय ठाउँमा त 'बुझ्नैलाई कठीन बुझ्यो झन कठीन झन् झन बुझ्यो झन कठीन' खालको । त्यसकारणले नै होला श्रोत निर्धारणका अधिकांश परिपत्र, निर्देशिका वा पूर्वादेश स्वयंमा अस्पष्ट र द्विविधात्मक छन् । अदालतका फैसला पनि सम्बन्धित पक्षहरु बाहेक अरुले खासै बुझ्न नसक्ने र पर्याप्त व्याख्यात्मक पनि छैन । उसै पनि हामी र हाम्रो मुलुक कानून कार्यान्वयनमा अक्षर र भावनाभन्दा अन्तै केन्द्रित मुलुक भन्ने धारणा व्याप्त छ । श्रोत निर्धारणसङ्ग सम्बन्धित जति पनि पाठ्यवस्तु उपलव्ध छन् तिनले केवल र केवल द्विविधा सिर्जना गरेका छन् ।  तर यो दफाले पछिल्लो कालमा विकसित इकमर्सका केही थोरै अवस्था बाहेक जस्तोसुकै परम्परागत अवस्थाका कारोवारको पनि सिद्धान्तनिष्ठ श्रोत निर्धारण गर्न सक्ने क्षमता राख्दछ ।

आयको श्रोत निर्धारण गर्दा ऐनको दफा ६७ ले तीन अवधारणाको अवलम्बन गरेको छः
  • लगानी आयात अवधारणा(capital importing concept)
  • निसर्गको लाभ रकम(gain from disposal) र क्रियाकलापसङ्ग सम्बन्धित रकम (amount from/for activities)
  • स्थान निर्धारणको सूत्र(determination of location)

आयकर कानून कसरी आयो
खुला बजार अवधारणाको शुरुवातसङ्गै यो अवधारणा अनुरुप वित्तीय कानून अद्यावधिक गर्ने क्रममा आयकरतर्फ २०५० सालमा साबीकको कर कानूनमा ठूलो संशोधन गरिएको थियो । तर २०३१ सालको बन्द अर्थतन्त्रका लागि निर्माण गरिएको आयकर कानूनमा गरिएका संशोधनले खुला बजार र उदारिकरणलाई सम्बोधन गर्न सक्दैनथ्यो, सकेन पनि । नेपालको समग्र अर्थतन्त्रमा आयकर कानूनको यो अभाव र अन्यौलता रहेकै बखत विश्वभरी नै विकाससिल मुलुकहरुमा प्रजातन्त्रको उदय हुँदै थियो, उदारबादी व्यवस्था लागु हुँदै थिए । ती मुलुकका कर कानून पनि बन्द अर्थतन्त्रका नै थिए र ती पनि खुला बजारमा अपर्याप्त तथा अत्यन्तै सानो कराधार भएका परम्परागत थिए । यही समस्या समाधान गर्न अन्तराष्ट्रिय मुद्रा कोष (International Monitory Fund) ले विकाससिल मुलुकका लागि लागु हुन सक्ने गरी संक्षिप्त तर आधुनिक वित्तीय उपकरणहरुलाई कराधारमा समावेश गर्न सक्ने नमूना कानून विकास गर्‍यो । उक्त नमूना कानून सन् २००० मा IMF ले अन्तिम स्वरुप प्रदान गर्‍यो, Income tax act of Symmetrica नाम दिएर ।

त्यतिखेर नेपाल चाँही साविकको कर कानून अद्यावधिक गर्नIMF को नियमित सम्पर्कमा थियो । आयकरको २०३१ सालको कानूनको वृहद संशोधित मस्यौदा तयार गरिसकेको थियो-  पहिला अंग्रेजीमा । यही मेसोमा IMF ले साविकको ऐनमा सुधारका सट्टा Income tax act of Symmetrica भनिने IMF नमूना कानूनको पाइलटिङ्गका लागि एसियाबाट नेपाल र अफ्रिकाबाट तान्जानिया छान्यो ।

नेपालको सहमति पछि उक्त नमूना कानूनको अक्षरसः नेपाली भाषामा रुपान्तर गरियो । भावानुवाद नभई शब्दानुवाद गरेको र करसङ्ग असंबन्धित अनुवादकको अनुवाद रहेकाले नेपाली आयकर कानून अत्यन्त कठीन भाषामा लेखिएको स्वरुपमा रहेको हो । नेपाली भाषामा रुपान्तरित मस्यौदामा आवश्यक हेरफेर गरियो । कतिपय दफा हटाइए, केही नयाँ थपिए । कतिपय भने नेपालको कानून मस्यौदाको संरचना अनुरुप मिलाउँदा एक दफाबाट अर्को दफामा पुगे, मिसिए, छुट्टिए । हटाइएका व्यवस्थाहरुमा अस्थायी बासिन्दा, नाबालकको आय, collateroal benefits, value shifting, निकायको खरिद, गैरबासिन्दाबाट करकट्टी जस्ता व्यवस्था थिए । आजभोली यता पनि कर लाग्नु पर्दछ उता पनि कर लाग्नु पर्दछ भनिएका केही दफा उक्त मस्यौदाबाट हटाएका दफाभित्रका व्यवस्था थिए । चन्दा, कर सहुलियत, प्रदूषण खर्च, बैंकिङ्ग व्यवसाय, करदाताको अधिकार, कर तिर्ने समय थपिएका विषय थिए । कर अपराधको व्यवस्था नितान्त नेपाली व्यवस्था थियो । 


उता तान्जानियामा पनि उस्तै तरीकाले विधेयक तयार भयो । दुवै मुलुकका संसदले आआफ्नो संवैधानिक व्यवस्था अनुसार उक्त आयकर कानून पारित गरे र नयाँ आयकर कानून अस्थित्वमा आयो । त्यसकारणले नेपाल र तान्जानियाका कैयन करका व्यवस्था समान छन्, पूराका पूरा दफा नै उही छन् । नयाँ आयकर कानूनले दुवै मुलुकको कराधार सबैले देख्ने गरी बढ्न गयो, यो यसको सफलता थियो । कराधार बढ्ने गरी कानूनको संरचना भएकाले कार्यान्वयनमा नियतबस वा संरचनागत असफलता भएमा बाहेक आफ्नो करको पूरै अंश उठाउन यो कर कानून सक्षम छ । कराधारको एउटा मूख्य भाग आयको श्रोतको निर्क्यौल गर्ने कानूनी व्यवस्था हो । नेपाल र तान्जानिया दुवै मुलुकका कर कानूनको श्रोत निर्धारण गर्ने कानूनी व्यवस्था उही समान रहेको छ ।

लगानी आयात अवधारणा(capital importing concept)
सार्वजनिक र निजी दुवै क्षेत्रमा उपलव्ध स्वदेशी लगानीयोग्य रकमभन्दा आफ्नो मुलुकमा उपलव्ध रकम कम भएका मुलुकले अरु वित्तीय कानूनमा गर्ने सुधारका साथसाथै कर कानूनमा तीन थरीका व्यवस्था गरेर विदेशी लगानी आकर्षण गरी आफ्नो मुलुकमा रोजगारी सिर्जना र उत्पादन गर्दछन्:
  • लामो समयसम्म ठूलो मात्रामा विदेशी लगानी चाहने मुलुकः विदेशी मुलुकको कराधार घट्न नदिने गरी सो मुलुकका लगानीकर्तालाई सोही मुलुकको सरकारमार्फत लगानी गर्न अभिप्रेरित गराउन लगानी आयात अवधारणाको कर कानून बनाउने
  • तत्कालै ठूलो मात्रामा विदेशी लगानी चाहने मुलुकः विदेशी मुलुकको कराधार घट्न नदिने गरी विदेशी लगानीकर्तालाई पनि आफ्नो कर सुविधा दिनtax-sparing व्यवस्था सहितको कर सन्धि गर्ने
  • विदेशी लगानीका लागि विषेश व्यवस्था नचाहने आकर्षक मुलुकः लगानी तटस्थ कर अवधारणाको कानून बनाउने

आफ्नै वित्तीय अवस्था सुधार गर्न ठूलो मात्रामा लगानी चाहिने, आफ्नो श्रोतले सरकारी वा निजी क्षेत्रले पर्याप्त लगानी गर्न नसक्ने र यस्तो असमर्थतता लामो समयसम्म रहिरहने आंकलन गरी नेपालले चाही लगानी आयात अवधारणा (capital importing concept) बमोजिमका कानून बनाउन शुरु गर्‍यो । विदेशी लगानीका लागि नेपालले अन्तराष्ट्रिय वित्तीय कारोवार कानून, कर कानून (आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, अन्तःशुल्क), औधोगिक कानून, विभिन्न सुशासनसङ्ग सम्बन्धित कानून तयार गर्‍यो । सान्दर्भिकता अनुरुप चाहिएका राजस्व न्यायाधिकरण कानून, राजस्व बोर्ड कानूनका मस्यौदा तयार गरिए, तर ऐन बन्न सकेका छैनन् ।

कर कानूनको यो इतिहास सारांशको उद्देश्य तत्कालिन अवस्थामा नेपालले ठूलो मात्रामा र लामो समयसम्म विदेशी तथा स्वदेशी लगानीकर्तालाई आकर्षित गरी कर कानूनका तर्फबाट टिकाइ राख्ने रणनीति बनाएकाले सोही बमोजिम कर कानून बनाएको थियो भनि पच्चीस वर्ष अगाडिको अवस्था दर्शाउनु मात्र हो । त्यो अवस्थाबाट पार पाइसकेको अनुभव भएमा अब भने नयाँ सोच विकास गर्ने बेला भएको जानकारी दिन पनि हो । 


आयकर कानून अनुसार श्रोत निर्धारण
आयकर कानूनमा श्रोत निर्धारण गर्दा केही शव्दहरुको कानूनी अर्थमा ध्यान दिनु पर्दछ, नत्र फेरी अलमल पर्नु पर्दछ ।

सम्पतिःआयकर कानूनमा सम्पति भन्नाले व्यापारिक मौज्दात, ह्रासयोग्य सम्पति, व्यवसायिक सम्पति र गैरव्यवसायिक करयोग्य सम्पति (लगानी सम्पति) गरी चार थरी हुन्छन् । कर कानूनका विभिन् दफाहरुमा यी सम्पतिको पनि उपवर्गिकरण गरिएको छ तर श्रोत निर्धारणका लागि चार समूह नै पर्याप्त हुन्छ ।  वास्तवमा श्रोत निर्धारणका लागि त यी चार थरी सम्पति पनि केवल दुई वर्गमा बाँढे पुग्दछः अचल सम्पति र अन्य सम्पति ।

दायित्वःआयकर कानूनमा अर्को व्यक्तिलाई तिर्नुपर्ने निश्चित रकम दायित्व हुन्छ । व्यवसाय र लगानी भएमा मात्र दायित्वको कराधार सिर्जना हुन्छ, व्यक्तिगत कारोवारको दायित्व कराधारमा पर्दैन । कर कानूनका विभिन्न दफाहरुमा यी दायित्वको पनि वर्गिकरण गरिएको छ तर श्रोत निर्धारणका लागि एउटै समूह पर्याप्त हुन्छ ।

निसर्गःसम्पति वा दायित्वको मात्र निसर्ग हुन्छ, अरु चिजको कर कानून बमोजिम निसर्ग हुदैन । यस्तो निसर्ग कहिले प्रत्यक्ष निसर्ग हुन्छ भने कतिपय अवस्थामा बहिर्गमन निसर्ग (departure disposal) हुन्छ । व्यापारिक मौज्दातको निसर्गबाट प्राप्त रकम कुल रकम नै कर गणनामा देखा पर्दछ भने बाँकी ह्रासयोग्य सम्पति, व्यवसायिक सम्पति, गैरव्यवसायिक करयोग्य सम्पति र व्यवसायिक दायित्वको लाभ रकम (वास्तवमा खुद लाभ) मात्र आय गणनामा समावेश हुन्छ ।

बासिन्दा  र गैरबासिन्दाःबासिन्दा र गैरबासिन्दाको परिभाषा सामान्य परिभाषा नै हो तर विदेशसङ्ग सम्बन्ध हुने वित्तिक्कै स्थायी संस्थापन अवधारणा याद गर्नु पर्दछ । बासिन्दाको विदेशमा रहेको स्थायो संस्थापन श्रोत निर्धारण गर्ने प्रयोजनका लागि गैरबासिन्दा सरह हुन्छ भने गैरबासिन्दाको नेपालमा रहेको स्थायी संस्थापन चाँही श्रोत निर्धारण गर्ने प्रयोजनका लागि बासिन्दा हुन्छ ।

कृयाकलापःउही काम वा कृयाकलाप गर्ने व्यक्ति/पक्षहरुमध्ये खर्च गर्नेका लागि नेपाल श्रोतको खर्च र आम्दानी गर्नेका लागि विदेशी श्रोतको आय हुन सक्दछ, भइ रहन्छ पनि । त्यसकारण श्रोत निर्धारणमा कृयाकलापको पहिचान महत्वपूर्ण रहन्छ । एउटै कारोवारको एक पक्षको श्रोत नेपाल र अर्को पक्षको श्रोत चाँही विदेश हुने अवस्थामा गम्भिर नभएसम्म श्रोत निर्धारणमा द्विविधा कायम रहन्छ । कुनै कामका लागि श्रेणिगत कार्य समावेश भएको (chain of processes) अवस्थामा कति प्रकृयालाई कृयाकलाप भन्ने व्यवस्था दफा ६७ को सम्बन्धित उपदफा वा खण्डमा खुलाएको छ । एक उपदफा वा खण्डको व्यवस्था अर्को उपदफा वा खण्डको कृयाकलापमा उपयोग गर्नु हुदैन । अर्को कुरा आयको समावेश हुने रकम (inclusions) मा हुने कृयाकलाप र खर्चकट्टी (deductions) का लागि आवश्यक कृयाकलाप उही होइन ।

नेपालमा रहेको सम्पतिःश्रोत निर्धारणको अर्को अप्ठेरो परिभाषा'नेपालमा रहेको सम्पति' को परिभाषा हो । 'नेपालमा रहेको सम्पति' प्रयोग गर्दा भाषा मिलाउने गरी एक ठाउँमा 'नेपालमा श्रोत रहेको सम्पति' र बहूवचन मिलाउने गरी चार ठाउँमा 'नेपालमा श्रोत रहेका सम्पति' वाक्यांश प्रयोग भएको छ । स्पष्टिकरणमा भने एकवचनमा 'नेपालमा रहेको सम्पति' भनिएको छ । अचल सम्पति (जग्गाजमीन वा भवनहरुमात्र) सो सम्पतिको भौतिक स्थान (location-based) अवधारणा अनुसार सो सम्पतिको स्थान मानिन्छ, स्वामित्वधारीको बासिन्दाको मतलव गर्नु पर्दैन । यो कानूनी व्यवस्था अनुसार नेपाली बासिन्दाको नेपालमा रहेको जग्गा 'नेपालमा रहेको सम्पति'हुन्छ भने हङ्गकङ्गको भवन 'हङ्गकङ्गमा रहेको सम्पति' मानिन्छ ।

जग्गाजमीन वा भवनहरु बाहेकका अन्य सम्पतिका सन्दर्भमा भने ती सम्पतिको स्थान स्वामित्वधारीको बासिन्दा रहेको मुलुक मानिन्छ । त्यसैले नेपाली बैंकले नेपालमा स्थायी संस्थापन नभएको विदेशी कम्पनीलाई दिएको ऋण वा नेपाली बासिन्दाले विदेशी कम्पनीमा गरेको शेयर लगानी'नेपालमा रहेको सम्पति' मानिन्छ । त्यसै गरी विदेशी बासिन्दा कम्पनीले नेपाली कम्पनीलाई दिएको ऋण वा नेपाली कम्पनीमा गरेको शेयर लगानी भने 'सोही मुलुकमा रहेको सम्पति' मानिन्छ । लगानी आयात अवधारणा अनुसारको कानूनी व्यवस्था हो यो ।

नेपालमा रहेको दायित्वःदायित्वका सन्दर्भमा भने ती दायित्वको स्थान स्वामित्वधारीको बासिन्दा रहेको मुलुक मानिन्छ । त्यसैले नेपाली बैंकले विदेशी मुलुकबाट लिएको ऋण'नेपालमा रहेको दायित्व' मानिन्छ ।


श्रोत निर्धारणमा लिन नहुने आधारहरु
आयको श्रोत निर्धारणमा साह्रै अलमल्याउने केही व्यवस्थाहरु चाही श्रोत निर्धारणका आधारमा कहिल्यै पनि लिनु हुदैन । नलिनु पर्ने विषयलाई उल्टै मूख्य आधारका रुपमा ग्रहण गर्दा नभएको आयलाई श्रोत भनिने र हुनुपर्ने श्रोतमा कर छुट्ने जोखिम रहन्छ, विवाद र अविश्वास पनि बढ्दछ । श्रोत निर्धारण गर्दा निम्न विषयलाई आधारमा लिन पाईंदैन, लिनु हुदैनः
  • भुक्तानीमा प्रयोग हुने मुद्रा– जुनसुकै मुद्रामा कारोवार भएता पनि करको आधार मुद्राले तय गर्दैन । नेपाली रुपैयाँ बाहेक अन्य मुद्राको कारोवारको श्रोत तल दिएका कुनै कानूनी व्यवस्था अनुसार नेपाल हुने भएमा भने नेपाली रुपैयाँमा रुपान्तर गर्नु पर्दछ । 
  • पक्षका करार लागु हुन कानूनको मुलुक – जुनसुकै मुलुकको करार कानून अनुरुप सम्झौता भएको भएता पनि त्यो कानूनका आधारमा आयको श्रोत निर्धारण हुदैन ।
  • पक्षका करारको विवाद निरोपण गर्ने कानूनको मुलुक – जुनसुकै मुलुकको विवाद निरोपण कानून लागु हुने सम्झौता भएको भएता पनि त्यो कानूनका आधारमा आयको श्रोत निर्धारण हुदैन । बरु नेपाल न्युयोर्क कन्भेन्सनको पक्ष राष्ट्र भएकाले विदेशमा भएका मध्यस्थता पनि नेपालमा कार्यान्वयन हुन्छन्, यसले पनि श्रोत निर्धारण गर्ने आधार प्रदान गर्दैन ।
  • करारको भाषा– करारको भाषाका आधारमा आयको श्रोत निर्धारण हुदैन ।
  • सम्बद्ध पक्षहरुको नागरिकता वा बासिन्दा– आयको श्रोत निर्धारणमा सो कारोवारसङ्ग सम्बद्ध पक्षहरुको नागरिकता वा कर कानून अनुसारको बासिन्दाको आधार लिन हुदैन पाइदैन । तर बासिन्दाका केही कृयाकलापहरु आयको श्रोत निर्धारणमा प्रयोग हुने गरी अपवाद रहेको छ । यी अपवादहरु तल व्याख्या गरिएको छ ।
  • भुक्तानी गरिएको, पाएको, स्थानान्तरण गरिएको स्थान, मुलुक – भुक्तानी गरिएको पाएको स्थानान्तरण गरिएको मुलुककै आधारमा श्रोतको निर्धारण हुन सक्दैन, हुदैन ।
  • करसन्धीको distributive rule - कानूनमा नेपाल श्रोत भनिएका केही ससाना विषय करसन्धी गर्दा unlimited primary taxing right बासिन्दा मुलुकमा राखिएको अवस्थामा सो आयको श्रोत नेपाल मान्न पाइन्न ।

श्रोत निर्धारणको कानूनी व्यवस्था
यति परिभाषा र आधार पछि आयकर कानून बमोजिमको आयको श्रोत निर्धारण गर्न सकिन्छ । श्रोतको निर्धारण गर्दा निसर्गको आधार र कृयाकलापको आधार गरी कानूनले दुई थरी आधार लिएको छ ।


निसर्गसङ्ग सम्बन्धित श्रोत निर्धारण(source based on assets and liabilities)
सम्पतिको निसर्ग र लाभःऐनको दफा ६७ को उपदफा(३) बमोजिम नेपालमा रहेका व्यवसायिक सम्पति, गैरव्यवसायिक करयोग्य सम्पतिको लाभको श्रोत निम्नानुसार हुन्छः
  • 'नेपालमा रहेको सम्पति' को स्वरुप जग्गाजमिन वा भवनको निसर्ग भएको अवस्थामा सो जग्गा वा भवन नेपालमा रहेको भए (location-based gain) लाभको श्रोत नेपाल र विदेशमा रहेको भए लाभको श्रोत सोही मुलुक (economics)
  • 'नेपालमा रहेको सम्पति' को स्वरुप ह्रासयोग्य सम्पति भएको अवस्थामा ह्रासयोग्य सम्पति चारित्रिकरण हुन दफा १९ र अनुसूचि २ बमोजिम उपयोग शुरु हुनु अनिवार्य भएकाले सो सम्पतिको उपयोगको स्थान नेपाल भएको अवस्थामा (location-based gain) सो ह्रासयोग्य सम्पतिको निसर्गको श्रोत नेपाल र उपयोगको स्थान विदेशमा रहेको भए लाभको श्रोत सोही मुलुक (economics)
  • 'नेपालमा रहेको सम्पति' को स्वरुप जग्गाजमिन, भवन र ह्रासयोग्य सम्पति बाहेकका अन्य सम्पति जस्तै लगानी (बन्ड, ऋणपत्र, शेयर, अन्य सुरक्षण), लिन बाँकी रकम (व्यापारिक लेना, पेश्कि, कर्जा, सापटी, तमसुक वा अन्य तरीकाका) वा व्यापारिक मौज्दात भएको अवस्थामा त्यो सम्पतिको स्वामित्वधारी व्यक्ति नेपालको बासिन्दा भएको अवस्थामा (residency of owner-based gain) सो सम्पतिको निसर्गको श्रोत नेपाल र विदेशी बासिन्दा भएको अवस्थामा ऊ जुन ठाउँ (economics) को बासिन्दा हो सोही मुलुक
सो उपदफाको खण्ड(ग) मा दिएको ' खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका प्राप्त भुक्तानीहरु ' को सन्दर्भ चाँही ऐनमा खर्च भनिएको सम्पतिको लागतमा योगदान गर्नेहरु (cost-contributory) का लागि लागु हुने उपदफा (६) का कृयाकलापको श्रोत निर्धारणका लागि दिएको हो ।

सम्पतिको निसर्ग र लाभसङ्ग सम्बन्धित माथिको व्यवस्थाले हरेक प्रकारका सम्पतिको श्रोत निर्धारण गर्दछ, कुनै अपवाद बाँकी राख्दैन ।

दायितको निसर्ग र लाभःऐनको दफा ६७ को उपदफा(४) बमोजिम 'नेपालमा रहेका दायित्व' लाभको श्रोत निम्नानुसार हुन्छः
  • 'नेपालमा रहेको दायित्व' को स्वरुप नेपाली बासिन्दाको दायित्वको भएको अवस्थामा सो दायित्वको दायित्वधारी व्यक्ति नेपालको बासिन्दा भएको अवस्थामा (residency of owner-based gain) सो दायित्वको निसर्गको श्रोत नेपाल
  • दायित्वको भार विदेशी बासिन्दा भएको अवस्थामा ऊ जुन ठाउँ(economics) को बासिन्दा हो सोही मुलुक

कृयाकलापसङ्ग सम्बन्धित श्रोत निर्धारण(source based on activities)
कृयाकलापको आधारमा श्रोत निर्धारण गर्ने दुई वटा उपदफा रहेका छन्- उपदफा (५) र उपदफा (६) । त्यसमध्ये उपदफा (५) का कृयाकलाप अप्रत्यक्ष कृयाकलाप (capped-activity) सङ्ग सम्बन्धित छ भने उपदफा (६) प्रत्यक्ष कृयाकलाप ।

कर कानून अनुसार चारित्रिकरण भएको अर्को कुनै शीर्षकको अवस्था अनुसार श्रोत निर्धारण गर्ने गरी उपदफा(५) मा देहाय अनुसार अप्रत्यक्ष कृयाकलाप (capped-activity) का आधारमा श्रोत निर्धारण गरिएको छः
  • व्यापारिक मौज्दातको निसर्ग र समावेश हुने रकमको श्रोत माथि सम्पतिको निसर्गमा समावेश भैसकेको छ । यस उपदफामा यदि निसर्ग गरिएको व्यापारिक मौज्दात भनिने सम्पतिको श्रोत नेपाल भएमा त्यससङ्ग सम्बन्धित खर्चको श्रोत पनि नेपाल मानिने गरी अप्रत्यक्ष कृयाकलाप(capped-activity) को श्रोत निर्धारण गरिएको छ । यस अनुसार नेपालमा रहेको व्यापारिक मौज्दातमा जुन मुलुकको बासिन्दाको जहाँसुकै योगदान रहेको भएता पनि पूरै खर्चकट्टी नेपाल श्रोतको खर्चकट्टीकै रुपमा पाउँदछ । विदेशी श्रम वा वस्तु परेको भनि विदेशी श्रोत मानिदैन ।
  •  ह्रासयोग्य सम्पतिको निसर्ग र समावेश हुने रकमको श्रोत पनि माथि सम्पतिको निसर्गमा समावेश भैसकेको छ । यस उपदफामा यदि ह्रासयोग्य सम्पतिको भनिने सम्पतिको श्रोत नेपाल भएमा त्यससङ्ग सम्बन्धित खर्च(ह्रास र मर्मत खर्च) को श्रोत पनि नेपाल मानिने गरी अप्रत्यक्ष कृयाकलाप (capped-activity) को श्रोत निर्धारण गरिएको छ । यस अनुसार नेपालमा उपयोगमा रहेको ह्रासयोग्य सम्पतिको मर्मत जुन मुलुकको बासिन्दाको जहाँसुकै योगदान रहेको भएता पनि पूरै खर्चकट्टी नेपाल श्रोतको खर्चकट्टीकै रुपमा पाउँदछ । विदेशी श्रम वा वस्तु परेको भनि सो मर्मत खर्चलाई विदेशी श्रोत मानिदैन ।
  • सो उपदफाको खण्ड(ग) मा दिएको ' खण्ड (क) र (ख) को अधीनमा रही नेपालमा स्रोत रहेका भुक्तानीहरु ' को सन्दर्भ चाँही ऐनमा खर्च भनिएको सम्पतिको लागतमा योगदान गर्नेहरु (cost-contributory) र खर्च योगदान गर्नेहरु (income-contributory) का लागि लागु हुने उपदफा (६) बमोजिमका प्रत्यक्ष कृयाकलापको श्रोत निर्धारणका लागि दिएको हो ।

कर कानून अनुसार आम्दानी वा खर्चमा सोझै चारित्रिकरण हुने कुनै रकमको श्रोत निर्धारण गर्ने गरी उपदफा(६) मा देहाय अनुसार प्रत्यक्ष कृयाकलाप (direct-activity) का आधारमा श्रोत निर्धारण गरिएको छः

समावेश हुने रकम(आम्दानी) को श्रोत
  • बासिन्दाले गरेको लगानी प्रतिफल भुक्तानीःलगानी गरे वापत प्राप्त हुने आयको श्रोत निर्धारण भुक्तानीकर्ताको बासिन्दाको अवस्था अनुसार(residency of payer-based) निर्धारण हुन्छ । यहाँ लगानीको उपयोग गर्ने प्रत्यक्ष कृयाकलापकर्ता भुक्तानीकर्ता हो । बासिन्दाले भुक्तानी गर्ने लाभांस, व्याज, वार्षिक वृत्ति, लगानी बीमाको लाभ, अवकास भुक्तानी वा यस्तै प्रकारका लगानीका प्रतिफल बासिन्दाको मुलुकलाई नै श्रोत भएको मानिन्छ । त्यसकारण नेपाली कम्पनीले भुक्तानी गर्ने व्याज वा लाभासंको श्रोत नेपाल मानिन्छ । अमेरिकी बासिन्दा कम्पनीले भुक्तानी गर्ने व्याज वा लाभांसको श्रोत चाँही अमेरिका मानिन्छ ।
  • नेपाल सरकारको रोजगारीःनेपाल सरकारले प्रदान गर्ने रोजगारीको आयको श्रोत पनि बासिन्दा भुक्तानीकर्ता(residency of payer-based) कै आधारमा निर्धारण गरिन्छ । यो व्यवस्था अनुसार नेपाल सरकारले विदेशमै रहेका विदेशी बासिन्दालाई विदेशमै रोजगारी दिएमा पनि नेपाल श्रोतको रोजगारी आय हुन्छ ।
  • प्रतिफल र सरकारी रोजगारी बाहेकका प्रत्यक्ष कृयाकलापःबासिन्दाले गरेको लगानी प्रतिफल भुक्तानी र नेपाल सरकारको रोजगारी भुक्तानी बाहेक अन्य सबै भुक्तानीको श्रोत सो कृयाकलाप भएको स्थान रहेको मुलुक अनुसार(location of activity-based) श्रोत रहेको मानिने व्यवस्था छ । कृयाकलाप निर्धारण गर्दा निम्नानुसार गरिन्छः
  • बीमाको कृयाकलापको स्थान जोखिम रहेको मुलुक
  • सेवाको कृयाकलापको स्थान सो सेवाका कामहरु सम्पादन गरेको मुलुक(हरु)
  • रोजगारीको स्थान सो रोजगारीसङ्ग सम्बन्धित कामहरु सम्पादन गरेको मुलुक(हरु)
  • प्राकृतिक श्रोतसङ्ग सम्बन्धित कृयाकलापको स्थान सो श्रोत दोहन गरिएको मुलुक
  • बहाल वा सम्पति प्रयोगको स्थान जे वापतको बहाल हो सो सम्पति रहेको वा प्रयोग गरिएको मुलुक
  • अन्तराष्ट्रिय यातायातको कृयाकलापको स्थान सो यातायातको अविच्छिन्न श्रृंखला शुरु भएको मुलुक
  • दूरसञ्चार कृयाकलापको स्थान सो सूचना परावर्तन गर्ने दूरसञ्चार उपकरण जडान गरेको मुलुक
  • उपहारको स्थान सो उपहार पाउने मूल कृयाकलाप सञ्चालन भएको मुलुक
  • माथि उल्लेख भएका बाहेक अन्य कुनै कृयाकलापको स्थान सो कृयाकलाप प्रत्यक्ष रुपमा सञ्चालन भएको मुलुक
  • जुन कृयाकलाप भएको भए जुन मुलुकमा श्रोत मानिन्थ्यो त्यो कृयाकलाप नगर्ने गरी गरिएका सम्झौता वा निषेध वा प्रतिवन्धको श्रोत पनि सोही मुलुक

खर्च र खर्चकट्टीको श्रोत
  • खर्चकट्टी(deduction of expense):व्यवसाय वा लगानीको खर्चकट्टीमा सो खर्चको प्रापकको श्रोत निर्धारणको कुनै सम्बन्ध हुदैन । जहाँसुकै जोसुकैलाई भुक्तानी भएता पनि कट्टि नहुने भनि किटिएका खर्च(दफा २१) बाहेक लेखाङ्कन अनुसार गणना हुने (दफा २२ - २४) खर्चहरु सोही व्यक्तिले सोही आय वर्षमा सोही व्यवसाय वा लगानीका लागि गरेको (दफा १३) रहेछ भने दफा १४ देखि १९ सम्मको बाँडफाँड हुनेको हकमा बाँडफाँड गरेर र बाँडफाँड नहुनेका हकमा पूरै खर्च रकम सो व्यवसाय वा सो लगानीको आय गणना गर्दा खर्चकट्टी गर्न पाउँदछ । यसमा सो खर्चकट्टीबाट भुक्तानी पाउनेको श्रोतसङ्ग कुनै सम्बन्ध हुदैन, वास्ता गर्नु पर्दैन, हुदैन । उदाहरणका लागि 'नेपालमा रहेको सम्पति' को स्वरुपमा रहेको ह्रासयोग्य सम्पतिको मर्मतको काम श्रीलङ्कामा भएको भए पनि मर्मत खर्चकट्टीको श्रोत नेपाल मानिन्छ, दफा १६ को सीमासम्म । मर्मतको सेवा कृयाकलाप श्रीलङ्कामा भएकाले सेवाप्रदायकको आयको श्रोत दफा ६७ (६) अनुसार श्रीलङ्का हुने हुनाले त्यही आधारमा मर्मत खर्चको श्रोत श्रीलङ्का हुदैन । त्यस्तै व्यापारिक मौज्दातको निसर्गको रकमको श्रोत नेपाल रहेछ भने दफा १३ र १५ को अधिनमा रही जुनसुकै मुलुकको जोसुकैलाई तिरेको खर्च पनि खर्चकट्टी प्रयोजनका लागि नेपाल श्रोत नै मानिन्छ, सो खर्च पाउनेको श्रोतको निर्धारण माथि भनिए अनुसार निसर्ग वा कृयाकलापको आधारमा हुन्छ, व्यापारिक मौज्दातको खर्चकट्टीको होइन ।
 
  • खर्च(outgoings): सम्पति वा दायित्वको खर्च (outgoings) को श्रोत चाँही 'नेपालमा रहेको सम्पति' को अवधारणा अनुसार हुन्छ । त्यसका लागत योगदानकर्ताको आम्दानीको श्रोतका आधारमा होइन । उदाहरणका लागि नेपालमा रहेको जग्गाको खर्च (outgoings) मा दफा ३८ बमोजिम सो जग्गा प्राप्तिसङ्ग सम्बन्धित, सो जग्गा धारण गरिरहेका बखत लागेका र सो जग्गा निसर्ग गर्दा लागेका सबै खर्च भुक्तानीहरु जुनसुकै मुलुकमा गरिएको भए पनि समावेश हुन्छन् । जग्गा खरिद गरिएको विक्रेता अमेरिकी, जग्गासम्बन्धि मुद्दाको खर्च (जरिवाना होइन) भारत र विक्री गर्दा कमिसन पाउने दलालको काम थाइल्यान्ड भएमा पनि पूरै भुक्तानीहरु 'नेपालमा रहेको सम्पति' भएकाले नेपाल श्रोतको खर्च (outgoings) हुन्छन् ।

कानूनमा श्रोत अस्पष्ट भएका कृयाकलाप
आयकर ऐन, २०५८ को दफा ६७ ले कराधारमा पर्ने हरेक प्रकारका कारोवारको श्रोत निर्धारण गर्न सक्ने क्षमता राख्दछ । तर यसका केही कमजोरी पनि रहेका छन् । निम्न तीन क्षेत्रमा यसले आय वा रकमको श्रोत निर्धारण गर्न सक्दैनः
  •  आकस्मिक लाभको श्रोतः दफा ६७ ले उपहारको श्रोत निर्धारणको व्यवस्था गरेको छ, मूल कृयाकलाप व्यवसाय वा लगानी भएको अवस्थामा । रोजगारीको मूल कृयाकलाप चाँही सो कृयाकलापको स्थानका आधारमा श्रोत निर्धारण गरिएकाले सोही रोजगारीको कृयाकलापसङ्ग सम्बन्धित उपहारको श्रोत पनि कृयाकलाप गरिएकै स्थान रहेको मुलुक भन्न सजिलै सकिन्छ । तर रोजगारी, व्यवसाय वा लगानी कतै पनि समावेश नहुने आकस्मिक लाभको श्रोत कसरी तय गर्ने भन्ने यो दफामा कुनै व्यवस्था रहेको छैन । हुन त आकस्मिक लाभमा आयकर लाग्ने भन्ने कुरा पनि मिल्दो कुरा होइन, शुरु ऐनमा पछि थप्दा पनि यतातर्फ वास्ता गरिएको थिएन ।
 
  • आकासः सम्भवतया स्याटेलाइट नभएको मुलुक भएर होला, यो दफाले आकासको प्रयोग र स्याटेलाइटको प्रयोग (कृयाकलाप  र निसर्ग दुवै) मा श्रोत निर्धारण गरेको छैन ।
 
  • डिजिटल इकोनोमीः पछिल्ला पाँ च सात वर्षमा विस्तार हुँदै आएका डिजिटल इकोनोमीका केही सरोकारवालाहरु हाम्रा परम्परागत कानूनले नचिन्ने हुनाले कर कानूनमा पनि'ती मध्ये केही सरोकारवालासङ्ग सम्बद्ध कृयाकलाप' को श्रोत तय गर्न सकिँदैन ।



अयं निजः परः वा इति गणना लघुचेतसाम् ।

उदारचरितानां तु वसुधैव कुटुम्बकम् ।।

फाइदा हुने भए मेरो तेरो, नजिक टाढाको भन्नेहरु छोटो चित्तका हुन् । स्वत्नत्र चित्तले त संसारै मेरा हुन् भन्दछ । (चाणक्य)


Bhava Nath Dahal

Bhava Nath  Bhava Nath

About me

Bhava Nath Dahal is a renowned tax consultant and trainer in Nepal and the author of the bestselling tax book titled, “Income Tax and Value Added Tax.” Mr. Dahal was felicitated by Nepal Government in 2016 for his outstanding contribution to the public through tax education. Mr. Dahal is highly regarded for his understanding of Nepalese tax and has provided opinion on complex tax issues for all key industries in Nepal.

Social Links