कर भनेको के हो ? कर कति प्रकारका हुन्छन् ?

कर भनेको के हो ? कर कति प्रकारका हुन्छन् ? स्पष्ट पार्नुहोस् । (२+३=५)

‘राज्यलाई बुझाउनुपर्ने अनिवार्य दायित्व’
- प्रत्यक्ष लाभको अपेक्षा नगरी नागरिकले सरकारलाई बुझाउने तिरोलाई कर भनिन्छ ।
- कर भनेको कुनै व्यक्ति फर्म वा कम्पनीले कानुनबमोजिम सरकारलाइ तिर्नुपर्ने अनिवार्य भुक्तानी हो ।
- सरकारले आफ्ना नागरिकबाट अनिवार्य रूपमा संकलन गर्ने मौद्रिक आयलाइ कर भनिन्छ ।
- राज्यको आम्दानीको प्रमुख स्रोत कर नागरिकले राज्यलाइ बुझाउनु पर्ने अनिवार्य भुक्तानी हो ।
- सरकारले देशको नियमित, आकस्मिक र विकासात्मक गतिविधि यही करको माध्यमबाट प्राप्त आम्दानीबाट सञ्चालन गरेको हुन्छ ।
- करदाताले करको बदलामा प्रत्यक्ष लाभको आशा गरेको हुँदैन । यद्यपि, सरकारले करको माध्यमबाट करदातालाइ केही सुविधा पु¥याउने प्रयत्न भने गरेको हुन्छ ।

करका प्रकारहरू
करको क्षेत्र, संकलन गर्ने निकाय, प्रकृति, दायरा र दरका आधारमा यसलाई बाँडिएको हुन्छ । जसअनुसार करलाई २ भागमा विभाजन गरिन्छ ।

१) प्रत्यक्ष कर 
- भार, असर र प्रभाव एउटै व्यक्तिमा पर्ने करलाइ प्रत्यक्ष कर भनिन्छ ।
- जसलाइ कर लगाइएको हो, उसैद्वारा पूर्ण रूपमा बेहोर्न पर्ने कर ।
- अरूमा सार्न नसकिने प्रकृतिको कर प्रत्यक्ष कर हो । 
- आय कर, सम्पति कर, घरजग्गा कर प्रत्यक्ष करका उदाहरण हुन् ।

२) अप्रत्यक्ष कर
- भार र असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने करलाइ अप्रत्यक्ष कर भनिन्छ ।
- कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ ।
- भार हस्तान्तरण हुने कर भनेर पनि यसलाई बुझिन्छ ।
- वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर अप्रत्यक्ष कर हुन् ।
फिर्ता गर्नु नपर्ने गरी प्राप्त गर्ने आम्दानी करको सदुपयोगबाट मुलुकको विकास, उन्नति र प्रगति निर्धारण हुन्छ । नागरिक र सरकारबीचका सम्बन्धको आधार भएकाले करको सदुपयोगबाट आर्थिक विकास र वृद्धि हासिल गर्नु आजको आवश्यकता हो ।

निजामती सेवा भन्नाले के बुझिन्छ? निजामती सेवाका विशेषता उल्लेख गर्नुहोस् । (२+३=५)

‘लोकतन्त्रको वितरक : निजामती सेवा’
योग्यता प्रणालीका आधारमा छनोट भएका गैरसैनिक चरित्रका व्यावसायिक कर्मचारीहरूको सेवालाई निजामती सेवा भनिन्छ । फारसी शब्द निजामतीबाट आएको निजामती सेवा सरकारको सबैभन्दा नजिकको वैधानिक प्रशासनिक संयन्त्र हो । सरकारले सार्वजनिक व्यवस्थापनलाई प्रभावकारी बनाउन र आमनागरिकमा प्रभावकारी सेवा प्रवाह गर्न स्थापना गरेको सेवाप्रदायक संस्थालाई निजामती सेवा भनिन्छ ।

नेपालको संविधानको धारा २४३ मा ‘निजामती सेवा भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल नेपालको सेवाको पद तथा निजामती सेवाको पद होइन भनी तोकिएको अन्य सेवाको पदबाहेक नेपाल सरकारको अरू सेवाको पद सम्झनुपर्छ’ भनिएको छ । २०१३ सालमा निजामती सेवा ऐन जारी भएपछि आधुनिकतातर्फ फड्को मारेको यो सेवालाई स्थायी सरकार भनेर पनि चिनिन्छ । हाल निजामती सेवा ऐन २०४९ तथा नियमावली २०५० अनुसार यो सेवा सञ्चालित रहेको छ ।

निजामती सेवाका विशेषता
- सरकारको महत्वपूर्ण प्रशासनिक अंग,
- स्थायी र वैधानिक प्रकृतिको सेवा,
- स्थायी कर्मचारीहरू र गुणतान्त्रिक पद्धतिमा आधारित,
- कानुनद्वारा निर्धारित सेवा र सर्तहरू भएको,
- गैरसैनिक वा गैरफौजी सेवा,
- तटस्थ र निष्पक्ष सेवा,
- राजनीतिबाट अलग रहेको सेवा,
- योग्यता प्रणालीमा आधारित,
- निश्चित किसिमको पदसोपान भएको,
- तलब–सुविधाको सुनिश्चितता भएको सेवा ।

सरकारले गर्ने सम्पूर्ण क्रियाकलापमा निजामती सेवाको संलग्नता र सहभागिता हुन्छ । जनतादेखि सरकारसम्म सम्बन्ध भएको संस्था भएकाले निजामती सेवालाई जनमुखी, गतिशील र सेवामैत्री बनाउनु आजको आवश्यकता हो ।

-डा. टाेकराज पाण्डे

यो लेख  नया पत्रिका दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links