भ्याटमा टेलिकमलाई उछिन्यो सिमेन्टले

व्यवसायी सिद्धार्थशमशेर जबरा छैटौं पटक पनि सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । आठौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले जबरालाई धेरै आयकर तिर्ने व्यक्तिका रूपमा सम्मान गरेको हो । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष रहेका जवरा यस पटकसहित छ पटक सम्मानित हुने व्यक्ति हुन्  ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे र प्रगुण राजभण्डारीले एक-एक पटक सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा सम्मान पाइसकेका छन् । राणाले लगातार यस्तो सम्मान पाएको यो चौथो वर्षसमेत हो ।राणको कम्पनी सिप्रदी ट्रेडिङ पनि व्यापार व्यवसायमा सवैभन्दा वढी आयकर तिर्ने कम्पनीको रूपमा विगतमा चारपटकसम्म लगातार सम्मानित भएको थियो । कर दिवसकै अवसरमा सरकारले राणा सहित गत आर्थिक वर्षमा कर बुझाउने १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । गत वर्ष सबैभन्दा बढी आयकर तिर्ने कम्पनीबाट सम्मानित भएको सूर्य नेपाल प्रालि यस पटक पनि सम्मानित भएको छ ।
कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले यस्तो सम्मान ग्रहण गरे । निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ । कम्पनीका वित्त प्रमुख पंकज बजाजले अर्थमन्त्री डा. युवराज खतिवडाबाट सम्मानपत्र ग्रहण गरे । यसैगरी मदिरा र चुरोट बाहेक उद्योगको तर्फबाट धेरै आयकर तिरेको जगदम्बा स्टील प्रालिलाई सम्मान गरेको छ । उद्योगको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुलभ अग्रवालले सम्मान ग्रहण गरे । कृषि एवं पशुपंक्षीतर्फ अन्नपूर्ण एग्रो सम्मानित भएको छ । 
सहकारीतर्फ छिमेकी लघुवित्त सहकारी सस्था बैंक तथा वित्तिय संस्थातर्फबाट आयकर तिर्ने राष्ट्रिय वाणिज्य बैंक पनि सम्मानित भएका छन् । यसैगरी, बिमा व्यवसायम्ध्ये आयकर तिर्ने नेपाल लाइफ इन्सुरेन्स, स्वास्थ्य तथा शिक्षातर्फ आयकर तिर्ने  मणिपाल मेडिकल कलेज र सूचना प्रविधिको सेवामा सबैभन्दा बढी आयकर तिर्नेमा वल्र्डलिंक कम्युनिकेसनलाई पनि विभागले सम्मान गरेको छ । व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने महिन्द्रा गाडीको विक्रेता अग्नि इन्कर्पोरेटेड, पर्यटनमा सबैभन्दा बढी आयकर तारागाउँ रिजेन्सी यसपटक पनि सम्मानित भएका छन् । यसैगरी मध्यस्तरीय आयकर तिर्ने उत्कृष्ट करदाताको रूपमा कामना सेवा विकास बैंक, आन्तरिक राजस्व कार्यक्षेत्रभित्र रही धेरै कर तिर्नेमा  भिएस मौरिसस सम्मानित भएको छ ।
मूल्य अभिवृद्धि कर संकलन गर्ने उत्कृष्ट करदाताको सूचीमा घोराही सिमेन्ट इन्डष्ट्रिजलाई सम्मान गरिएको छ । यसअघि सरकारी स्वामित्वको नेपाल टेलिकम सबैभन्दा बढी भ्याट बुझाउने करदाताको सूचीमा सूचीकृत थियो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उद्योग, कृषि, वित्तीय क्षेत्र, बिमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्था तथा धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ । सो अवसरमा विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिएकालाई पनि सम्मान गरेको छ । सम्मानित सबैलाई अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थसचिव राजन खनाल, राजस्वसचिव शिशिरकुमार कुमार ढुंगानालगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् । करदातालाई जागरूक बनाउन कर दिवस र कर सप्ताह उपयोगी हुने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुवँरले जानकारी दिए । उनले सरकारी नीतिमा बसेर विभाग स्वच्छ कर उठाउन केन्द्रित हुने धारणा राखे ।
सो अवसरमा अर्थमन्त्री खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण भइरहेको र कर प्रशासनमा सुधार भइरहेको दावी गरे । मुलुकलाई अत्यधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठ्यारो भएपनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बनेको उनले बताए । “राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं त्यसतर्फ सरकार पनि सचेत छ,” उनले भने । विगतमा अर्थमन्त्रीहरूले लिएको साहसिक कदमको प्रशंशा गर्दै मुलुकको अर्थतन्त्रलाई सबल, आत्मनिर्भर र सुदृढ बनाउने गरी कर नीति लिएकाले दक्षिण एसियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रूपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराए । अर्थमन्त्रीले भने, “मुलुकप्रति जवाफदेही बनाउने गरी उचित कर कानुन लागू गरिएको हो, तीन तहमा देखिएका करका अन्योलहरू पनि विस्तारै समाधान हुँदै गएका छन् विगतमा गरिएका प्रयासहरूले नै आज यो बिन्दुमा हामी पुगेका छौं ।” उनले अनौपचारिक कारोबार नगर्न र सरकारले दिएको सुविधाको भरपुर उपयोग गर्न निजी क्षेत्रलाई आग्रह समेत गरे ।
अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अँध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुनसक्ने उल्लेख गर्दै त्यसको समाधानमा सहयोग गर्न निजी क्षेत्रलाई अपिल पनि गरे ।  कार्यक्रममा अर्थ सचिव खनालले कर प्रशासनमा उल्लेख्य सुधार भएको दावी गरे । “अवको कर प्रशासन भनेको प्रविधिमा आधारित हो, हामीले ई–पेमेन्टलाई प्रभावकारी बनाउन खोजिरहेका छौ अवको केही वर्षमै हामीले हाम्रो कर प्रणालीमा सुधार गछौं,” उनले भने । राजस्व सचिव शिशिरकुमार ढुंगानाले कर प्रशासनमा समस्या आउन नदिन व्यवसायीले पनि स्वच्छ व्यवसाय गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको मनोबल गिर्न नदिन सरकारलाई सुझाव दिए । करदाताले तिरेको करको सदुपयोग गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले भने, “करको सदुपयोग सरकारले नगर्ने हो भने करदातामा निरासा बढ्छ, अनिवार्य प्यानले साना व्यापारी र मजदुरलाई समस्या भएको छ, दायरा बढाउने नाममा उद्योगीलाई पेल्न भएन ।” कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रशासनमा अनेक झन्झटहरू देखिएको संघीयतामा करका दर र दायाराले निजी क्षेत्र हतोत्साहित भएको गुनासो गरे ।
उनले भने, “गल्ती गर्नेलाई जस्तो कारबाही गरेपनि हामीलाई स्वीकार्य छ तर व्यावसायिक मर्यादामा आँच आउने काम सरकारले गर्नु भएन ।” नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले दक्षिण एसियाको कुल गार्हस्थ्य उत्पादनमा राजस्वको बढी योगदान भएको मुलुक नेपाल नै रहेको बताए । नेपालमा भ्याटबिल लागू गरिएको अवसर पारेर सरकारले मसिर १ गतेलाई कर दिवसको रूपमा मनाउँदै आएको छ । आइतबारदेखि सुरु भएको साताव्यापी कर दिवस विभिन्न कार्यक्रम गरेर मनाउने तयारी छ । 

निरु अर्याल

(मिति  सोमवार, मंसिर २, २०७६ कारोबार मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  कारोबार  को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links