पानीमा पनि भ्याट

उपत्यकामा सातदोबाटो, स्वयम्भू, कीर्तिपुर, बालाजु, जोरपाटी र मातातीर्थ गरी टयांकर व्यवसायीका ५ समूह सञ्चालित

गोदावरीबाट पानी लिएर आएका टयांकरहरू टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी टयांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो टयांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ ।

अर्थात् ठूलो टयांकरले १ सय ५०, नाम नखुलेको करसहित भ्याटबापत् १९ रुपैयाँ ५० पैसा जोडेर कुल १ सय ६९ रुपैयाँ ५० पैसा बुझाउँछन् । सरकारले अत्यावश्यक वस्तु भनी पानीमा भ्याट छुट दिएको छ । वस्तु तथा सेवाको मूल्यमा हुने अभिवृद्धिमा लाग्ने कर नै भ्याट हो । तर, गोदावरी नगरपालिकाले भने पानीमा पनि भ्याट लगाउने गरी ठेक्का दिएको हो । गोदावरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी दाबी गर्छन्, ‘पानीमा शुल्क लिएको होइन । निकासी कर लिएका हौं ।’


उपत्यकामा सातदोबाटो, स्वयम्भू, कीर्तिपुर, बालाजु, जोरपाटी र मातातीर्थ गरी टयांकर व्यवसायीका ५ समूह छन् । अन्यत्र कर लगाइएको छैन । काठमाडौं र ललितपुर महानगरपालिकाले पानीमा कर लगाएका छैनन् ।


खानेपानी उद्यमी तथा व्यवसायी संघ सातदोबाटोले नगरपालिकाले कुन विषयमा कर लगाएको भन्नेबारे स्पष्ट नभएको भन्दै विरोध जनाएको छ । उनीहरूले बुधबार जिल्लामा टयांकर ठप्प पारे । संघका अध्यक्ष उज्ज्वल शाक्यले भने, ‘यो पानीको कर हो कि सवारी कर अस्पष्ट भयो ।’ नगरपालिकाले सानो/ठूलो गाडी तोकेर कर लिएको छ । उनले भने, ‘नगरपालिकाले मनोमानी ढंगबाट पानीमा भ्याट लगाएको छ ।’


ठेक्का चापागाउँस्थित ओजस निर्माण सेवाले यस वर्षका लागि ४० लाख २५ हजार रुपैयाँमा पाएको छ । ठेकेदारले टौखेल र ठैबमा ढाट राखेर टयांकरले पानी ओसारेको प्रत्येकपटक कर लिने गरेको छ । खानेपानी महसुल निर्धारण आयोगले टयांकरको पानीको मूल्य निर्धारण गरेको छ ।


‘स्थानीय सरकारले निर्णय गरेपछि कुनैमा पनि भ्याट लगाउन पाइन्छ, यसबारे छलफल गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी व्यवसायीलाई पटकपटक आग्रह गरियो । कोही आएनन्,’ गोदावरीका प्रशासकीय अधिकृत मरासेनी भन्छन्, ‘अहिले निर्णय गरेपछि विरोधमा उत्रिएर केही हँुदैन ।’ खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी व्यवसायीले भने नगरपालिकाले कर लगाउनेबारे बसेको बैठकमा आफूहरूलाई एकपटक पनि नबोलाएको बताएका छन् । खानेपानी व्यवस्थापन बोर्डका इन्जिनियर बोधराज दाहाल भन्छन्, ‘गोदावरीले कर लगाउनेबारे हामीसँग केही समन्वय गरेको छैन ।’


खानेपानी संघका अनुसार गोदावरी नगरपालिकामा ११ वटा पानीका स्रोत छन् । गोदावरी क्षेत्रमा ८ वटा छन् । बर्खामा दैनिक न्यूनतम ५ सय र हिउँदमा ७ सय टयांकर आवतजावत हुन्छन् । नगरपालिकाले तोकेको दरमा कर उठाएमा २ करोडभन्दा बढी उठ्छ । स्रोतको पानी मूल्य निधारण गर्न ठैब दमाईंटारस्थित सिद्धि विनायक वाटर सप्लायर्स र अमूल्य पानी सप्लायर्ससँग सल्लाह गरिएको थियो । सिद्धि विनायक वाटर सप्लायर्स सञ्चालक जीवनप्रकाश थापा भन्छन्, ‘सुरुमा स्रोत पानीको कर निर्धारण गर्न गोदावरीमा पुगेका थियौं ।’ उनले अमूल्यका सञ्चालक रविन सिलवालले आफू उपत्यकाबाहिर गएको बेला ढुवानीको कर लगाउन र ८ जना स्रोत व्यवसायी मिलेर लिने गरी सेटिङ मिलाएको आरोप लगाए । ‘अन्तमा आफूले यो कुरा थाहा पाएपछि बाहिरिए,’ उनले भने, ‘पानीमा कर लिन दिनु हुँदैन ।’


अमूल्यका सञ्चालक सिलवालले थापाको आरोप गलत भएको दाबी गरे । ‘ढुवानी शुल्क लिनेबारेमा नगरपालिकासँग कुरा भएको छैन,’ उनले भने, ‘स्रोतको मूल्य निर्धारणबारेमा मात्र छलफल भएको हो । जसको प्रतिवेदन नगरपालिकामा बुझाइएको छ ।’



यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links