अमेरिकाले लगायो थप २ सय अर्ब डलरका चिनियाँ सामानमा २५ प्रतिशत कर

अन्तत: अमेरिकाले चीनबाट आयात हुने थप २ सय अर्ब डलरका सामानमा २५ प्रतिशत कर लगाएको छ।

वासिङ्टनमा बिहीबार साँझ भएको दुई देशका अधिकारीबीच वार्ता सकारात्मक दिशामा नगएको भन्दै राष्ट्रपति ट्रम्पले चिनियाँ सामानमा कर लागू गरेका हुन्। यद्यपी चिनियाँ उपप्रधानमन्त्री लिउ हे नेतृत्वको टोलीसँग वार्ता शुक्रबार फेरि हुने बताइएको छ।

राष्ट्रपति ट्रम्पले चीनले व्यापार वार्ताका क्रममा  गरेका प्रतिवद्धताबाट पछि हटेकाले थप कर लगाइएको  वार्ता नटुंगिए बाँकी ३३९ अर्ब डलरका चिनियाँ सामानमा पनि कर लाग्ने बताएका छन्।

अमेरिकाले थपेको करबारे विज्ञप्ति जारी गर्दै चिनियाँ वाणिज्य मन्त्रालयले आवश्यक जवाफ फर्काउने बताएको छ। तर त्यो जवाफ कस्तो  हुनेछ भन्ने खुलाएको छैन।

‘विवादलाई सुल्झाउन दुबै पक्षले सँगै काम गर्नेछन् भन्ने आशा गरिएको थियो,’ वाणिज्य मन्त्रालयले भनेको छ।

पछिल्लो साता चीन-अमेरिका व्यापार वार्तामा निकै उतारचढाव देखिएका छन्। साताको सुरूमा ट्रम्पले चीनबाट आयात हुने थप २ सय अर्ब डलरका सामानमा पनि २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

व्यापार वार्ता निकै धिमा गतिमा चलिरहेको र चीनले ‘रिनेगोसियट’ गर्न खोजेको भन्दै ट्रम्पले आगामी शुक्रबारदेखि ती सामानमा लाग्ने कर १० प्रतिशतबाट बढेर २५ प्रतिशत पुग्ने बताएका हुन्।

यसअघि सन् २०१९ को सुरूदेखि नै उक्त कर लगाउने बताएका ट्रम्पले व्यापार वार्ता सकारात्मक दिशातिर गएको भन्दै मिति पर सारेका थिए।

कर थप्ने ट्रम्प घोषणाको जवाफमा राष्ट्रपति सीले व्यापार वार्ताकारहरूलाई अमेरिकासँग नझुक्न भनेका थिए।

व्यापार वार्ताकारहरूले अलि वार्ताको नरम प्रस्ताव सीसमक्ष पेस गरेका थिए। तर सीले त्यस्तो प्रस्तावलाई अस्वीकार गर्दै व्यापार वार्ता असफल भए अमेरिकाले बढाउने करपछिको सम्भावित आर्थिक परिणामको जिम्मा आफूले लिने बताएको थिए।

चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले ट्रम्पको घोषणा पछि चीन पछि हट्छ भन्ने कुरा अमेरिकाले नसोचे पनि हुने टिप्पणी प्रकाशित गरेको थियो।

११ औं चरणको व्यापार वार्ताका लागि चिनियाँ उपप्रधानमन्त्री लिउ हेको टोली वासिङट्न पुगेको केहीबेरमा संवाददाताहरूसँग कुरा गर्दै ट्रम्पले सीले आफूलाई सुन्दर पत्र पठाएर मिलेर काम गरौं, सँगै केही निष्कर्ष निकालौं भनेको बताएका थिए।

‘निष्कर्षमा पुग्न लागेका बेला उनीहरूले रिनेगोसियट गर्नुपर्छ भन्न थाले,’ ट्रम्पल भने, ‘त्यसपछि हामीले कर लगाउने भन्यौं, वक्तव्य निकाल्यौ। बल्ल उनीहरूले चाँडै कुराकानी गरौं भने।’

उनले के हुन खोज्दैछ भन्नेबारे आफूलाई ठ्याक्कै थाहा नभए पनि राष्ट्रपति सीको सुन्दर चिठीले सकारात्मक निष्कर्ष निस्कने संकेत दिएको बताएका थिए।

‘मलाई उहाँ (सी) धेरै राम्रो लाग्नुहुन्छ, सायद अब  हाम्रो टेलिफोन कुरा पनि हुन्छ होला। उहाँ मेरो राम्रो साथी हो तर म अमेरिकाको प्रतिनिधित्व गर्छु, उहाँ चीनको। त्यसैले हामी यो मित्रताको कुनै फाइदा लिदैनौं,’ ट्रम्पले भने।

यसअघि वार्ताका क्रममा चीनले सरकार नियन्त्रित उद्योग व्यवसायमा दिने अनुदान घटाएर खुला बजार बनाउने, वौद्धिक सम्पत्तिको संरक्षण र अमेरिकाबाट आयात गर्ने सामानको मात्रा बढाउनेमा सहमति गरेको थियो।

तर यी सहमतिलाई कसरी लागु गर्ने भन्ने कुरामा दुई देशबीच सहमति हुन सकेको छैन। अमेरिका यसअघि पनि चीनले सहमति गरेको तर कार्यान्वयनमा उदासिनता देखाएको भन्दै यसपालि बलियो  कार्यान्वन प्रणाली बनाउने पक्षमा छ। त्यसको अर्थ  चीनले सम्झौता अक्षरश: पालना नगरे अमेरिका आफैंले दण्डित गर्न सक्ने हो। तर चिनियाँ पक्षले यसलाई आफ्नो सार्वभौमिकतासँग जोडेको छ। चिनियाँ व्यापारबारे अमेरिकाले निर्णय गर्ने प्रणाली हुनुभन्दा सहमति नै नभए पनि आफ्नो अर्थतन्त्र  चल्न सक्ने निष्कर्षमा चीन पुगेको देखिन्छ। 

गत जुनमा ट्रम्पले पहिलो पटक ३४ अर्ब डलरबराबरका चिनियाँ सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीन र अमेरिकाबीच व्यापार युद्ध सुरू भएको थियो।

पछि अमेरिकाले उक्त शुल्क ५० अर्ब डलर बराबरका सामानमा लगायो।

लगत्तै चीनले पनि ५० अर्ब डलर बराबरका अमेरिकी उत्पादनमा २५ प्रतिशत शुल्क थप्यो।

सेप्टेम्बर २४ देखि थप २ सय अर्ब डलरका चिनियाँ सामानमा अमेरिकाले १० प्रतिशत शुल्क लगाएको थियो।

अहिले चीनबाट ५३९.५ अर्ब डलरको सामान अमेरिका जान्छ। ट्रम्पले बाँकी  ३२५ अर्ब डलरका चिनियाँ सामानमा पनि छिटै कर लगाउने चेतावनी दिएका छन्। चिनियाँ सामानमाथिको करका कारण अमेरिकी अर्थतन्त्रमा सुधार भएको ट्रम्पको दाबी छ।  अमेरिकाले लगाएको करका कारण ती सामानको उत्पादन खर्च नगन्य रूपमा बढेको उनको तर्क छ।

 यो समाचार  सेतोपाटी डटकम  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links