कर प्रणाली व्यवस्थित बनाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा केन्द्रित भई कर प्रणाली व्यवस्थित बनाउनेतर्फ अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । बुधबार १० औं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले करको दायरा बढाउनुभन्दा कर संकलनलाई व्यवस्थित बनाउनेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए । गोल्छाले सरकार राजस्व संकलनमा बढी केन्द्रित भएकाले समग्र कर प्रणाली चुस्तदुरुस्त हुन नसकेको बताए । “सरकारको ध्यान कसरी राजस्व बढी संकलन गर्ने भन्नेमा मात्र बढी केन्द्रित भएकाले कर प्रणाली व्यवस्थित र प्रभावकारी हुन नसक्दा विकास खर्च बढ्न सकेको छैन । सरकारले जुन तदारुकताका साथ कर संकलन गरिरहेको छ, सोही अनुसार विकास खर्च गर्न नसक्दा पछिल्लो समय बजारमा तरलताको समस्या आएको छ । विकास खर्च भएको भए यो समस्या आउने थिएन,” उनले भने । सरकारले बजेट निर्माण गर्दा नै आयोजनाहरु छनोटको प्राथमिकता निर्धारण गरी अनावश्यकलाई समावेश गर्न नहुने तर्क पनि गरे ।
यस्तै, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकारले प्रक्षेपण गरेअनुसार राजस्व संकलन हुन नसकेको बताए । “सरकारले करको दायरा बढाउन बैंकिङ प्रणाली भन्दा बाहिर बसेर अर्बौंको कारोबार गरिरहेका व्यवसायीलाई करको दायरामा ल्याउनु पर्छ,” उनले भने, “करको दायरा बढाउनको लागि प्रशस्त ठाउँ छ । अर्बौं कारोबार हुने घरजग्गा जस्ता अन्य कारोबारलाई करको दायरामा ल्याउनुपर्छ ।”
नेपाल उद्योग परिसंघका कार्यकारी अध्यक्ष कृष्णप्रसाद अधिकारीले विगत २४ वर्षदेखि बहुदर प्रणाली लागु गर्न माग गर्दै आए पनि अहिलेसम्म लागु हुन नसकेको गुनासो गरे ।
उनले भने, “बहुदर कर प्रणाली लागु गरेर करमा देखिएका समस्या समाधान गर्न सकिन्छ । सरकारले यो प्रणाली लागु गर्न सकेको छैन । करमा बहुदर लागु नगर्दासम्म सरकारले लिएको समृद्धिको लक्ष्य हासिल हुन सक्दैन ।”
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका कार्यवाहक अध्यक्ष डम्बरदेव अर्यालले सरकारले ग्रामीण उद्योगलाई करमुक्त क्षेत्रको रुपमा घोषणा गर्ने नीति लिनुपर्ने बताए । ग्रामीण उद्योगलाई करमुक्त गरे वैदेशिक रोजगारीमा जाने युवाको संख्या कम हुँदै जाने तर्क उनको छ ।
यसैबीच, कर दिवसको अवसरमा सरकारले धेरै कर तिर्ने उद्योगी–व्यवसायीलाई सम्मान गरेको छ । सर्वाधिक धेरै कर बुझाउनेमा सरकारी स्वामित्वको नेपाल टेलिकम रहेको छ भने वाणिज्य बैंकमा सबैभन्दा बढी कर बुझाउनेमा नबिल बैंक परेको छ । व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्नेमा सिद्धार्थ शमशेर राणा छन् । निर्यात उद्योगमा डाबर नेपालले सबैभन्दा बढी कर बुझाएको छ भने विशेष उद्योगमा सबैभन्दा बढी आयकर बुझाउनेमा एसियन पेन्ट्स रहेको छ ।

प्यान लिने ४० लाख नाघे
कर दिवसको कार्यक्रममा सार्वजनिक प्रतिवेदनअनुसार नेपालमा हालसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ४० लाख नाघेको छ । विभागका अनुसार आव २०७७-०७८ असार मसान्तसम्म व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको सख्या ४० लाख ४९ हजार १०९ पुगेको छ । व्यक्तिगत करदाता २४ लाख ७१ हजार ७ सय २६ र व्यावसायिक करदाता १५ लाख ७७ हजार ३ सय ८३ छन् । आन्तरिक राजस्व विभागले राजस्व संकलनमा ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको छ । कार्यक्रममा वार्षिक प्रतिवेदन २०७७-०७८ सार्वजनिक गर्दै विभागले आव २०७७-०७८ मा ४ खर्ब २९ अर्ब २७ करोड राजस्व संकलन गरेको पनि जनायो । यस्तै, २ खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, २ खर्ब ७७ करोड आयकर तथा १ खर्ब ३४ अर्ब ९ करोड अन्तःशुल्क संकलन भएको छ ।

(यो समाचार  कारोबार दैनिक २ मंसिर २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links