यो वर्षको उत्कृष्ट करदाता घोषणा ७ मंसिरमा


काठमाडौं । सरकारले यो वर्ष उत्कृष्ट करदाता घोषणा ७ मंसिरमा गर्ने भएको छ । सरकारले १ मंसिरमा कर दिवसको अवसर पारी हरेक वर्ष राष्ट्रिय कर दिवस मनाउँदै आएको छ ।

सोही अवसर पारी सरकारले अघिल्लो आर्थिक वर्षमा बढी कर तिर्ने विभिन्न विधाका करदातालाई सम्मान गर्दै आएको छ । आन्तरिक राजस्व विभागका निर्देशक अर्जुन ढकालका अनुसार यो वर्ष १ मंसिरमा भाइटिका परेका कारण औपचारिक कार्यक्रम आयोजना गर्न सम्भव भएन ।

विभागले १ मंसिरबाट ७ दिनसम्म कर दिवस विशेष सप्ताह मनाउँदै आएको छ । यसबीचमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । उक्त सप्ताह समापनको दिन पारेर यो वर्ष ७ मंसिरमा उत्कृष्ट करदाता घोषणाको कार्यक्रम राखिएको उनले जानकारी दिए । यो वर्ष ९ औं राष्ट्रिय कर दिवस मनाईंदै छ ।

‘कर छूट र सुविधाको उपयोग गर्नुहोस्’ 

यसैबीच, आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदकुमार कुँवरले कोरोना भाइरसको संकटका बीच राज्यले दिएका सुविधा उपयोग गर्न करदातालाई आह्वान गरेका छन् ।

९ औं कर दिवसको अवसर पारी शुभकामना सन्देश जारी गर्दै महानिर्देशक कुँवरले महामारीको प्रतिकुल अवस्थामा गत आर्थिक वर्ष २०७६÷७७ मा ३ खर्ब ८४ अर्ब आन्तरिक राजस्व संकलन भएको भन्दै करदातालाई धन्यवाद दिएका छन् ।

यसको उच्च मूल्यांकन गर्दै सरकारबाट आर्थिक ऐन २०७७ मार्फत उपलब्ध गराइएको कर छूट तथा सुविधा÷अवसरको उपयोग गर्न करदातालाई आह्वान गरेका छन् । चालु आर्थिक वर्षका लागि भने सरकारले आन्तरिक राजस्वको लक्ष्य ४ खर्ब ५० अर्ब रुपैयाँ राखेको छ ।

विभागले ८४ वटा कार्यालयबाट करीव ३५ लाख करदातालाई प्रत्यक्ष सेवा दिँदै आएको छ ९ औं कर दिवसले स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रणालीमार्फत विकास, समृद्धि र सुशासनको लक्ष्य हाँसिल गर्ने ध्यय राखेको उनले बताएका छन् ।
​​​​​​
(यो समाचार अनलाइन खबर २ मंसिर२०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links