राजस्व विभागले शुरु गर्यो कर प्रणाली


आन्तरिक राजस्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाख रुपैयाँसम्म आम्दानी गर्ने करदाताका लागि बिहीबारदेखि नयाँ कर प्रणालीको शुरुवात गरेको छ ।

नयाँ प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजस्व विभागका कर्मचारीलाई निर्देशन दिए । जबसम्म प्रविधि, कानून र सुशासनका कारणले करदाता मैत्री वातावरण निर्माण गर्न सकिँदैन तबसम्म करदाताले अपमानित महसुस गर्ने भएकाले करदातालाई गरिने व्यवहारमा सुधार ल्याउन अर्थमन्त्री खतिवडाले आग्रह गरे । 

आजदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिवाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको उनले बताए ।  यस्तै करको रकम यकिन भइसकेपछि पनि कर बुझाउन निकै लामो झन्झटिलो प्रक्रियामा जानुपर्ने अवस्थाको पनि अन्त्य भएको अर्थमन्त्री खतिवडाले बताए । अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले नयाँ कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताए । नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभान्वित हुने उनको भनाइ छ । यसबाट करदाताको सहभागिता बढाउन सहयोग पुग्ने विश्वास पुडासैनीले गरे । 

आन्तरिक राजस्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आन्तरिक राजस्व विभागका सबै कारोबारलाई प्रविधि मैत्री बनाउने धेयका साथ काम गरिएको बताए । आजदेखि लागू भएको प्रणालीले करिब ५ लाख करदातालाई कर कार्यालय नगईकन कर बुझाउन सक्ने व्यवस्था भएको बताए । 

उनले चालु आर्थिक वर्षको बजेटले परिवर्तन गरेका आयकरका विषयहरुलाई समावेश गरी आयकर निर्देशिका आजैबाट लागू गरिएको पनि जानकारी गराए । बायोमेट्रिक प्रणाली र विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि आजैदेखि सुरु गरिएको कुँवरले बताए । 

(यो समाचार  फरकधार  १ श्रावण २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links