करको सीमा नबढ्दा मध्यम वर्ग मर्कामा

बर्सेनि मुद्राको अवमूल्यन भइरहे पनि करको स्ल्याब (सीमा) मा परिवर्तन नहुँदा मध्यम आय भएका नागरिकले सरकारलाई धेरै कर बुझाउनु परिरहेको छ । हरेक वर्ष सरदर ४ देखि ५ प्रतिशतको हाराहारीमा मुद्रास्फीति हुने गरेको छ । तर, सरकारले दुई वर्षदेखि करको स्ल्याब परिवर्तन गरेको छैन ।
सरकारले आर्थिक वर्ष २०७६-०७७ मा कर स्ल्याबमा केही परिवर्तन गर्दै ३ लाख ५० हजारबाट बढाएर ४ लाखभन्दा बढी आम्दानी हुनेले कर तिर्नुपर्ने व्यवस्था गरेको थियो । तर, त्यसपछिका आर्थिक वर्षमा भने त्यसमा हुनै परिवर्तन भएको छैन । मुद्रास्फीति भने हरेक वर्ष वृद्धि भइरहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७६-०७७ मा नेपालमा ५.८ प्रतिशतले मुद्रास्फीति भएको थियो भने आर्थिक वर्ष २०७७-०७८ मा मुद्रास्फीति ३.७ प्रतिशत थियो । चालू आर्थिक वर्ष २०७८-०७९ को पहिलो पाँच महिनामा मुद्रस्फीति ७.११ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।
अहिलेको व्यवस्थाअनुसार वार्षिक ४ लाख रुपैयाँसम्म १ प्रतिशत, ५ लाख आय भएका व्यक्तिलाई १ लाखमा १० प्रतिशत, ७ लाख आय भए २ लाखमा २० प्रतिशत तथा २० लाखसम्म आए भएका व्यक्तिलाई १३ लाखमा ३० प्रतिशत र त्यसमाथि ३६ प्रतिशत आयकर लाग्दै आएको छ । तर, मुद्रास्फीतिले पैसाको मूल्य घट्दा चालू वर्षको पुस महिनाको ४ लाख ७० हजार र दुई वर्ष अगाडिको ४ लाख रुपैयाँको मूल्य बराबर भएको छ । अर्थात् मुद्रास्फीतिलाई हिसाब गर्ने हो भने अहिले ४ लाख ७० हजार कमाउने व्यक्तिले एक प्रतिशतमात्र कर तिरे पुग्ने हो तर, कर स्ल्याबमा परिवर्तन नहुँदा ४ लाखभन्दा बढी रकम अर्थात् ७० हजार रुपैयाँमा १० प्रतिशत कर तिर्नुपर्ने बाध्यता देखिएको छ ।
त्यस्तै, अहिलेको ५ लाख ८७ हजार ५ सय रुपैयाँ र दुई वर्ष अगाडिको ५ लाख रुपैयाँको मूल्य बराबर भएकाले ५ लाख ८७ हजार रुपैयाँ कमाउने व्यक्तिले १ लाख १७ हजार ५ सयको १० प्रतिशतमात्र कर तिरे पुग्ने भए पनि स्ल्याब उही रहँदा ८७ हजार ५ सय रुपैयाँमा २० प्रतिशत कर तिर्नुपर्ने बाध्यता देखिएको छ ।
अर्थविद् डा. डिल्लीराज खनाल मुद्रास्फीति अनुसार कर स्ल्याब परिवर्तन नहुँदा केही बढी कर तिर्नुपर्ने अवस्था आएको बताउँदै समय–समय ट्याक्स स्याब परिवर्तन गर्नुपर्ने बताउँछन् । “पैसाको मूल्य हेरक वर्ष घट्दै गएको छ । तर, ट्याक्स स्याब उही रहँदा सरकारलाई केही रकम बढी तिर्नुपरेको छ । त्यसैले कर स्ल्याबलाई समय–समयमा परिवर्तन गर्नुपर्ने देखिन्छ,” उनले भने ।
अर्थशास्त्री प्रा.डा. शिवराज अधिकारी पनि अहिलेको आयकरको स्ल्याबअनुसार मध्यम आय भएका व्यक्तिलाई मर्का परिरहेको बताउँछन् । “काठमाडौंमा ४ जनाको परिवार बस्दा ५० हजार खर्च हुन्छ, अर्थात् सामान्य जीवनयापन गर्न वार्षिक ६ लाखको आम्दानी चाहिन्छ । तर, हामीले परिवार भएको व्यक्तिको ४ लाख ५० हजार रुपैयाँबाट नै कर सुरु गरेका छौं । सामान्य हिसाबले डेढ लाख रुपैयाँमा बढी कर लागिरहेको छ,” उनले भने ।
मुद्रास्फीतिको हिसाबले पनि तल्लो स्ल्याब अन्तर्गत कर तिर्दै आएका करदातालाई मर्का परेको अधिकारी बताउँछन् । “माथिको स्ल्याबमा ३६ प्रतिशत भन्दा माथि कर तिर्नु पर्दैन तर, तल ४ लाखबाट कर सुरु भएको छ । मुद्रास्फीतिले माथिल्लो स्ल्याबलाई असर नगरे पनि तल्लो स्ल्याबलाई मर्का परिरहेको छ,” उनले भने । प्रतिशतका आधारमा हेर्दा प्रगतिशील कर प्रणाली देखिए पनि तल्लो स्ल्याबमा उच्च कर भएकाले प्रतिगामी भएको उनको तर्क छ ।

(यो समाचार  कारोबार दैनिक २१ माघ २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links