१० प्रतिशतले मात्रै तिर्छन् कर

सरकारले राजस्व संकलनमा उल्लेख्य सुधार भएको बताए पनि कर तिर्नेको संख्या भने न्यून देखाएको छ । आन्तरिक राजस्व विभागले दिएको जानकारीअनुसार कुल जनसंख्याको १० प्रतिशत जनतामात्रै करको दायरामा समेटिएका छन् ।
आठौं राष्ट्रिय कर दिवसको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुँवरले हालसम्म मुलुकभरबाट जम्मा २९ लाख ६५ हजार करदाता करको दायरामा रहेको जानकारी दिए । उनले भने, “गत वर्ष २१ लाख करदाता थिए भने अहिले यो संख्या करिब ३० लाख नजिक पुगेको छ । यो वर्ष आठ लाख करदता थपिएको हाम्रो अनुमान छ ।” उनले सरकारले बजेटमार्फत सबै व्यक्तिले प्यान अनिवार्य लिनुपर्ने प्रावधान ल्याएसँगै करदाताको संख्यामा उत्साहजनक वृद्धि भएको जानकारी दिए । “प्यान फर अल कार्यक्रमबाट नयाँ ७ लाख ९४ करदाताले स्थायी लेखा नम्बर लिएका छन्,” उनले भने, “हालसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताको संख्या २ लाख ३९ हाजर रहेको छ ।” सरकारले चालू आर्थिक वर्ष ०७६-७७ बाट सबै व्यक्तिले अनिवार्य प्यान लिनुपर्ने प्रावधान ल्याएको छ । यस नीतिअनुसार नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने हुन्छ । पछिल्लो ५ वर्षयता मदिरा र चुरोटजन्य बाहेक अन्य बस्तुको कर नीतिमा खासै परिवर्तन नगरी दायरा विस्तारमा जोड दिएकाले करदाताको संख्या थप भएको विभागले जनाएको छ ।
गत वर्षको तथ्याँक अनुसार आन्तरीक राजस्वतर्फको औषत वृद्धिदर २२ प्रतिशत रहेको छ । महानिर्देशक कुँवरले चालू आर्थिक वर्षमा विभागलाई ५०६ अर्ब राजस्व असुलीको लक्ष्य तोकिएको जानकारी दिँदै लक्ष्यअनुसार नै राजस्व संकलनका लागि विभिन्न रणनीति तयार गरेर अघि बढिरहेको जानकारी दिए । “हामीले पछिल्लो वर्षमा गरेका सुधारका कार्यक्रमलाई आधार मान्दा आन्तरिक उत्पादनलाई हामीले जोड दिएका छौं,” उनले भने, “आयकरतर्फको राजस्व वृद्धिदर दक्षिण एसियामै हाम्रो असाध्यै राम्रो छ, करको दायरा विस्तारलाई समेत हामीले जोड दिएका छौं ।” उनका अनुसार विभागले कर प्रणालीमा संरचनात्मक परिवर्तन गरी आयातमा निर्भर कर प्रणालीलाई क्रमश आन्तरिक आर्थिक क्रियाकलापमा आधारित तुल्याई कर प्रणालीमा रूपान्तरण गर्ने मूल्य लक्ष्यका साथ काम गरिरहेको छ ।
पत्रकार सम्मेलनमा महानिर्देशक कुँवरले घरजग्गा कारोबारमा हुने राजस्व चुहावट नियन्त्रणका लागि विभागले भूमि व्यवस्थापन तथा अभिलेख विभागको सूचना प्रणालीसँग सूचना आदान प्रदान गर्ने तयारी गरेको पनि जानकारी दिए । “घरजग्गाको कारोबार मूल्य सरकारले थाहा नपाउने र यसबाट पुँजीगत लाभकर असुली नहुने भएपछि राजस्वले भूमिसँग तथ्यांक आदान प्रदान गर्न लागिएको हो,” उनले भने । उनका अनुसार विभिन्न फर्म तथा कम्पनीको वित्तीय विवरणका सूचना आदान प्रदानका लागि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थासँग भएको सहकार्य जस्तै अब भूमि व्यवस्थापनसँग पनि सहकार्य हुने छ । हालको अवस्थमा घरजग्गा कारोबारको राजस्व संकलन मालपोत कार्यालयमार्फत हुने गरेको छ ।

कर सप्ताहको सम्पूर्ण तयारी पूरा

‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ भन्ने मूल नाराका साथ आइतबारबाट सुरु हुने कर सप्ताको सम्पूर्ण तयारी पूरा भएको छ । हरेक वर्षको मंसिर १ देखि सात दिनसम्म मनाउने गरिएको कर दिवसको सबै तयारी पूरा भएको आन्तरिक राजस्व विभागले जनाएको छ । नेपालमा मूल्य अभिवृद्धि कर सुरु गरेको अवसरमा ८ वर्षदेखि हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने गरिएको छ । नेपालमा २०५४ साल मंसिर १ गतेबाट मूल्य अभिवृद्धि कर कार्यान्वयनमा ल्याइएको थियो । २०६९ कात्तिक २ गतेको मन्त्रिपरिषद् बैठकले हरेक वर्ष मंसिर १ गते कर दिवस मनाउने निर्णय गरेअनुरूप नै यो दिवस मनाउन लागिएको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक कुँवरले केन्द्रीयस्तरमा विभागको आयोजनामा र हरेक कार्यालयमा कार्यालयहरूले कर दिवसको विशेष कार्यक्रम गर्नेछन् । यसैगरी निजी क्षेत्रका छाता संगठनले पनि कर दिवसका विभिन्न कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए । “विभागले कर दिवसको अवसरमा मूल्य अभिवृद्धि कर, आयकरलगायतमा सबैभन्दा धेरै योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने तयारी गरेको छ र यसको सम्पूर्ण तयारी पूरा भएको छ,” महानिर्देशक कुँवरले भने ।
यसैगरी सम्पूर्ण कार्यालयहरूले पनि आफू मातहतका करदाताको सम्मान तथा जनचेतना अभिवृद्धि कार्यक्रम गर्नेछन् । आइतबारबाट सुरु हुने कर दिवसको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम तय भएको छ । सप्ताहकै अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श लगायतका निजी क्षेत्रका संघ सस्थासँग साताव्यापी छलफल तथा अन्य कार्यक्रमको आयोजना गर्ने विभागको तयारी छ ।

निरु अर्याल

(मिति  आइतवार, मंसिर १, २०७६ कारोबार मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  कारोबार  को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links