महानगरवासीलाई करको भारी

काठमाडौं :  काठमाडौं महानगरपालिकाले व्यक्तिगत सम्पत्ति, घरबहाल, होटल, व्यवसाय करमा भारी बृद्धि गरेको छ । महानगरपालिकाले २०३६ बाट छुट दिइँदै आएको होटल करमा छुट खारेज गरेको छ । राजपरिवारका होटलले त्यो छुटको सुविधा लिँदै आएका थिए ।

सिफारिस दस्तुरमा खासै परिवर्तन नगरे पनि होटल, उद्योग–व्यवसायमा कर बृद्धि गरिएको महानगरपालिकाका राजश्व विभागका निर्देशक यादव घिमिरेले जानकारी दिए ।

महानगर राजश्व विभागका अनुसार पाँच तारे होटलको ७५ हजार लिइँदै आएको करमा बढाएर १ लाख बनाइएको छ । चार तारे होटलको ६ हजारबाट ८० हजार, तीन तारे होटलको ४ हजार ५ सयबाट ६० हजार कायम गरिएको छ ।

महानगरपालिकाले दुई तारेको ४० हजार, एकतारेको २० हजार, बेतारे होटल, गेष्टहाउस–लजको १५ हजार र होस्टेलको ५ हजार कर कायम गरेको छ । डान्स, दोहोरी बाहेकको रेष्टुरेन्ट एण्ड बारको १० हजार तथा डान्स र दोहोरीसहितको २० हजार कर तोकिएको छ ।

क्याफे, फास्ट फुड, रेष्टुरेन्ट ठूलो (४०० भन्दा माथि १००० बर्गफिट सम्म) को ५ हजार र सानोको ३ हजार छ । मिठाइ पसलको १० हजार कर कायम गरिएको छ ।

ट्राभल एजेन्सीको १० देखि १५ हजार तोकिएको छ । रिक्रियसन खेल (गल्फकोर्स, अश्वारोहण, स्किइङ, ग्लाइडिङ, प्यारा ग्लाइडिङ, पोलो, फुटसल) को १० हजार, टे«किङ एजेन्सीको ५ हजार कर तोकिएको छ । विदेशी विमान सेवा ५० हजार र स्वदेशी विमान सेवालाई २५ हजार कर तोकिएको छ ।

त्यस्तै मदिराजन्य व्यवसाय अधिकतम ३० हजार कर तोकेको छ । यसअघि मदिराजन्य व्यवसायमा अतिकतम १० हजार कर लिँदै आएको थियो । सुन व्यवसाय (ज्वलरी) को कर ३० हजार तोकिएको छ ।

डिपार्टमेन्टल स्टोर ( १०००० वर्ग फिट भन्दा बढी) को १ लाख २५ हजार कर कायम गरिएको छ । हलुका पेय पदार्थ उद्योग (कोकाकोला, पेप्सी फ्रुटी ) डिस्टिलरी उद्योग ५०÷५० हजार, टेलिकम तथा मोवाइल सेवाका लागि १ लाख कायम गरिएको छ ।

प्रतिदिन मुभी विदेशी (सार्क राष्ट्र बाहेक) छायांकनमा ६ हजार, सार्क राष्ट्र मुभी छायांकनमा ६ हजार, म्युजिक भिडियो, डकुमेन्ट्रीको ६ हजार, नेपाली चलचित्रको २० हजार तोकिएको छ । सम्पत्ति कर १ हजारदेखि १ लाख ७४ हजार ५ सय सम्म कायम गरेको छ ।

पहिलो एक करोड मूल्यको सम्पत्ति कर १ हजार तोकिएको छ भने १० करोडमाथिको सम्पत्ति करमा ०.६ प्रतिशतसम्म कायम गरिएको छ । सम्पत्ति करमा रुपान्तरण भएपछि ०.०१ प्रतिशत देखि ०.६ प्रतिशत मात्र कायम गरिएको महानगरका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

विगतमा रहँदै आएको न्यूनतम ०.०५ प्रतिशतदेखि १.५ प्रतिशत लिँदै आएको घरजग्गा कर अहिले सम्पत्ति करमा रूपान्तरण भएको छ ।

विगतमा रजिस्ट्रेसन शुल्कका आधारमा कर लिँदै आएकोमा अहिले सरकारी मूल्यको आधारमा कर लिने व्यवस्था गरिएको छ । उता कित्ताकाटमा १ हजार बढाएर दुई हजार बनाइएको छ ।

आठ सिफारिस दस्तुरमा छुट

काठमाडौं महानगरले विगतमा लिँदै आठवटा सिफारिस दस्तुर निःशुल्क बनाएको छ । एक सय रुपैयाँ लिएर दिइने आर्थिक अवस्था कमजोर सिफारिस निःशुल्क बनाइएको छ । २ सय रुपैयाँ दस्तुर लिइँदै आएको नाबालकसम्बन्धी सिफारिस पनि निःशुल्क बनाइएको छ ।

५० रुपैयाँमा दिइने अदालतको शुल्क मिनाहासम्बन्धी सफारिस पनि निःशुल्क बनाइएको छ । यसअघि २५ रुपैयाँमा दिइने स्वास्थ्य उपचारसम्बन्धी सिफारिश पनि निःशुल्क बनाइएको छ । अपाङ्ग र नागरिकतासम्बन्धी सिफारिस समेत निःशुल्क गरिएको छ ।

गोकर्णेश्वरेको तीन गुणा वृद्धि

गोकर्णेश्वर नगरपालिकाले करमा तीन गुणा वृद्धि गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष       श्रीकुमार       श्रेष्ठले सरकारले तोकेको मापदण्डका आधारमा करको दायरा निर्धारण गरिएको बताए ।

‘हाम्रोमा ४ वर्षदेखि कर बढेको थिएन । अहिले सरकारी रेट अनुसार करको दर कायम गरेका छौं’, उनले भने, ‘हेर्दा तीन गुणा बढे जस्तो लाग्छ तर सरकारले तोकेको भन्दा बढी छैन ।’

घर कर, व्यवसाय करमा गोकर्णेश्वरले भारी बृद्धि गरेको छ ।

यो समाचार अन्नपुर्ण पोस्ट   बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links