विरोधपछि कर घट्याे

अर्घाखाँची — भूमिकास्थान नगरपालिकाले अचाक्ली कर निर्धारण गरेको थियो । नगरपालिकाबाट दुहुनो भैंसी किनेर लैजाँदा ५ सय रुपैयाँ सीमा कर, भेडा, च्यांग्रा, बंगुर, खसीबोकाको ६० रुपैयाँ, एक सय कुखुरा पाल्नेलाई दुई सय त्योभन्दा बढी पाल्नेलाई पाँच सय रुपैयाँ कर निर्धारण गरेको थियो । स्थानीयले यस्तो निर्णयको विरोध गरेपछि अबदेखि कृषि वस्तुमा कर नलिने जनाएको छ ।
चौथो नगरसभाबाट कर घटाइएको हो । विवाह दर्ताका लागि एक हजार र विदेश जानेको सिफारिसमा ५ हजार रुपैयाँ कर लागू गरेपछि नगरवासीले विरोध गरेका थिए । जिल्लाका ६ स्थानीय तहमध्ये भूमिकास्थानले सबैभन्दा बढी कर असुलीको निर्णय गरेको थियो ।
जन्म–मृत्यु र व्यक्तिगत घटना दर्ता गर्दा ८ रुपैयाँ र ३५ दिन नाघेपछि ५० रुपैयाँ जरिवाना लाग्नेछ । नाता सिफारिसमा ४ सयलाई घटाएर १ सय, जन्म मिति प्रमाणितलाई २ सयलाई घटाएर निःशुल्क, नागरिकता सिफारिस १ सयलाई २५ रुपैयाँ, नागरिकताको प्रतिलिपि सिफारिसलाई २ सयबाट १ सय रुपैयाँ निर्धारण गरिएको छ ।

वैवाहिक अंगीकृत नागरिकता सिफारिसमा २ हजारबाट घटाएर १ हजार, १५ देखि ३० लाखसम्म मूल्य पर्ने जग्गाको ८ हजारबाट ३ हजार रुपैयाँमा झारिएको छ । फरक–फरक नामथर, जन्ममिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस ५ सयबाट एक सय रुपैयाँ कर निर्धारण गरिएको छ । नगरले निर्धारण गरेका हरेक कर आर्थिक वर्षभित्र नतिरेमा २० प्रतिशत र त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले वृद्धि हुने नगर उपप्रमुखखडानन्द बेल्वासेले बताए ।

नगरभित्र रहेका कच्ची घरलाई १ सयबाट ५० र पक्की दुई सयबाट १ सय राखिएको छ । फुस (झुपडी) लाई वार्षिक कर ५० रुपैयाँ लिएकोमा अब कर नलिने भएको छ । नगरले १७ विधामा ६९ प्रकारमा कर निर्धारण गरेको छ । समग्रमा ६० प्रतिशत कर घटाएको उनले बताए । जनप्रतिनिधिले अचाक्ली कर वृद्धि गरेको भन्दै स्थानीय असन्तुष्ट बनेका थिए ।

बारम्बार जनप्रतिनिधिलाई कर घटाउन अनुरोध गरेका थिए । जनभावनाको कदर गर्दै कर घटाउनुपरेको नगर प्रमुख रेशम थापाले बताए । ‘जनगुनासो धेरै आएपछि घटायौं,’ उनले भने, ‘कृषि, पशुपालन क्षेत्रको कर शून्यमा झारियो । अन्यमा पनि कमी गरायौं ।’ कर घटे पनि नगरको विकास र समृद्धिमा योजनाबद्ध रूपमा काम भइरहेको उनले बताए । कृषि, सडक मर्मत, खानेपानी योजना, उत्पादनमुखी कार्यक्रम र सीपमूलक कार्यक्रममा नगरको बजेटखर्च भइरहेको उनले बताए ।

कर घटाएपछि नगरवासीलाई राहत भएको छ । कृषि, पर्यटन विस्तार, पशुपालन, उत्पादनमूलक बजेट दीर्घकालीन नभएको गुनासो छ । बजेट शीर्षकमा सम्बोधन त भएको छ । तर, पुरानै कार्यक्रमकै निरन्तरता छ । नयाँ केही छैन । नेकपाका जिल्ला नेता प्रेमनारायण गैरेले आवश्यकताभन्दा बढी कर लागू गरिएकाले घटाउनु सकारात्मक पक्ष भएको बताए ।

जनप्रतिनिधि अभ्यास र सिकाइमै रहेकाले सुरुमै कर धेरै लगाए । अहिले जनगुनासो बढेपछि घटाएको हुन सक्ने उनले बताए । ‘बजेट विनियोजन गरेर खर्च भएको छ, जनप्रतिनिधि खटिएका पछि छन्,’ गैरेले भने, ‘प्याकेजमा योजना बनाउन सकेनन् । पुरानै परम्परागत बजेट भयो ।’

यो समाचार  कान्तिपुर राष्ट्रिय दैनिक  बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links