ध्यान र योगामा पनि कर लगाउन तम्सियो सरकार

काठमाडौं । सरकारले पैसा लिएर ध्यान तथा योग सिकाउने केन्द्रहरुलाई पनि मुल्य अभिबृद्धि कर (भ्याट) लगाउने तयारी गरेको छ ।

यस्तो कर वस्तु तथा सेवाको बिक्रीमा लाग्छ । सेवा व्यापारमा वार्षिक २० लाखसम्म कारोबार गरेमा भ्याटमा दर्ता हुनुपर्ने कानुनी प्रावधान छ ।

नेपालमा पैसा लिएर संचालित ध्यान, योगा तथा विपश्यना संचालन गर्ने केन्द्रहरु भ्याटको दायरा बाहिर रहेका छन् ।

मुल्य अभिबृद्धि कर ऐन अनुसार नै यस्ता ध्यान केन्द्रलाई भ्याटको दायरामा आउनको लागि पटक पटक आग्रह गरिए पनि माथिल्लो तहको दवावको कारण भ्याटमा आउन नमानेको आन्तरिक राजस्व विभाग स्रोत जानकारी दियो ।

‘नियम अनुसार सेवा बिक्री गरेर व्यवसायिक कारोबार गरेपछि भ्याट लाग्छ, राजनीतिक दवावको कारण भ्याट बाहिर रहेर त्यस्ता केन्द्रले कारोबार गरिरहेका छन्, अब त्यसमा कडाइ गर्ने तयारी गरेका छौं,’ विभाग स्रोतले भन्यो ।

सम्बन्धित कर कार्यालयले आत्यामिक गुरु श्रीश्रीश्री रविशंकरको आर्ट अफ लिभिङको कारोबारलाई अध्ययन गरेको थियो । वर्षको करोडभन्दा बढी सेवा बिक्री गर्ने केन्द्र भ्याट दायरा बाहिर रहेको तथ्य फेला परेपछि कर प्रशासन यस्तो सेवामा भ्याट लगाउन तात्तिएको हो ।

ध्यानको लागि आर्ट अफ लिभिङले ह्यापिनेश कोर्सका लागि प्रतिव्यक्ति २ हजार रुपैयाँ लिन्छ । यस्तै एडभान्स कोर्सको प्रतिब्यक्ति ४ देखि ५ हजार रुपैयाँ लिने गरेको छ ।

ध्यान केन्द्रले सेवा बिक्री गरेको हुनाले यसमा भ्याट लगाउनुपर्ने र अहिलेसम्म यो व्यवसाय भ्याट बाहिर रहेको भन्दै कर कार्यालयले ताकेता गरिरहेको छ । कर कार्यालयले आर्ट अफ लिभिङको कारोबार अनुसन्धान गर्दा वार्षिक २ करोड रुपैयाँसम्मको कारोबार भएको देखिएको थियो ।

भ्याटमा दर्ता हुन आग्रह गर्दा पनि आर्ट अफ लिभिङले अहिलेसम्म अटेर गर्दै आएको भनाई विभाग स्रोतले बतायो ।

आर्ट अफ लिभिङमा ह्यापिनेश कोर्स सहित विभिन्न सेवाका लागि शुल्क लिने गरिन्छ । अरु रकम भने चन्दा र सहयोग स्वरुप आउने गर्छ ।

भारतमा यस्तै प्रकृतिको सेवा व्यवसायमा आर्ट अफ लिभिङले जिएसटी बिल दिने गर्छ । भारत सरकारले जिएसटी लागू गर्नुअघि यस्तो सेवामा सेवा कर लगाएको थियो । भारतीय कर प्रशासनले सर्भिस ट्याक्स लगाएपछि त्यसको विरोधमा श्रीश्रीश्री रविशंकरले सार्बजनिक टिप्पणी समेत गरेका थिए । तर, भारतीय कर प्रशासनले कर लगाएरै छोडेको थियो ।

‘आर्ट अफ लिभिङले छुट पाएको पनि होइन, अहिलेसम्म नटेरेर भ्याटमा दर्ता नभएको हो, हामीले यो पटक जसरी पनि भ्याटको दायरामा ल्याएरै छोड्छौं,’ विभागका एक अधिकारीले भने ।

व्यवसायिक रुपमा संचालन भएका ध्यान योगा व्यायाम गराउने केन्द्रमा भ्याट लगाउने र यसलाई कडाई गर्ने तयारी अर्थमन्त्रालयले गरेको छ ।

पछिल्लो समयमा ध्यान तथा योगाप्रति नेपालीको आकर्षण बढ्दो क्रममा रहेको बताइएको छ ।

यो समाचार क्लिकमान्डु डट कम  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links