दमक नगरपालिकाद्वारा २५ प्रतिशतसम्म कर छुट

विष्णुप्रसाद पोखरेल
दमक, असार ९ गते । झापाको दमक नगरपालिकाले नगरपालिकाभित्र व्यापार व्यवसाय गरिरहेका व्यवसायी तथा नगरभित्रका घरधनीहरूलाई कर छुट गर्ने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस सङ्क्रमण अर्थात् कोभिड-१९ को महामारीका कारण पर्न गएको असरलाई लक्षित गरेर छुट दिने नीति तथा कार्यक्रम ल्याएको छ । व्यवसाय करमा २५ प्रतिशतसम्म कर छुट गर्ने भएको छ ।

सातौँ नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रममा २०७६ साल चैत्र ११ गतेदेखि लकडाउन हुँदा करिब चार महिना अवधिभर व्यापार, व्यवसाय, उद्योग, कल कारखानामा प्रभावित भई पर्नगएको असहजतालाई ध्यानमा राखी व्यवसाय कर बुझाउन बाँकी करदाताहरूका लागि खाद्यान्न, औषधि, तरकारी, दूग्ध व्यवसाय, हाडवेयर र फलफूल व्यवासायलाई १० प्रतिशत छुट हुने भएको छ ।

बाँकी अन्य व्यवसायको हकमा वार्षिक करमा २५ प्रतिशत छुट दिइनेछ र बहालकरको हकमा घरधनीले बहाल छुट दिएको प्रमाण पेश गरेमा सो अवधिको बहाल कर छुट दिइने पनि नीति तथा कार्यक्रममा उल्लेख रहेको छ । 'बहाल तथा व्यवसाय कर बुझाई सकेको भए सो प्रतिशतलाई २०७७/०७८ को करमा मिलान गरिनेछ', नगर उपप्रमुख अधिकारीले भन्नुभयो ।

यसैगरी नगरपालिकाले बहालमा लगाएका पसलकवलहरूको तीन महिनाको बहाल रकम छुट दिइने पनि नीति तथा कार्यक्रममा आएको छ । दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले स्थानीय सरकारको तर्फबाट आफुहरूको माग केही हदसम्म भएपनि समेटिएको जनाउँदै खुसी प्रकट गर्नुभएको छ ।

यसैबीच, दमकमा घरबहालकरको विषयमा पनि नगरपालिकाले नीति तथा कार्यक्रममा राहत दिएको छ । यसभन्दा अघि १० प्रतिशत घरबहाल कर घोषणा गरिएकोमा अब दुई प्रतिशत मात्र कायम गरिएको छ । 'घरबहाल करलाई व्यवस्थित गर्न र सबैलाई करको दायरामा ल्याउन यस्तो गरिएको हो', नगरपालिका कार्यकारी अधिकृत गणेश तिम्सिनाले भन्नुभयो ।

(यो समाचार गोरखापत्र अनलाइन  असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links