काठमाडौं महानगरपालिकाका व्यापारीलाई कर छुट

काठमाडौं- काठमाडौं महानगरपालिकाले आगामि आर्थिक वर्ष २०७७/०७८ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। 

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। कोभिड १९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै काठमाडौं महानगरपालिकाले लकडाउनका कारण जनजीविकामा पारेको असरलाई न्यूनीकरण तथा जनजीवनलाई सामान्य अवस्थामा फर्काउन महानगरपालिका प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख छ।
 

मुख्यतया महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य सेवा तथा कोभिड १९ महामारी नियन्त्रण, शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता विकास तथा रोजगारी प्रवर्द्धन र युवा स्वरोजगारलाई प्राथमिकता दिइएको छ। 

आवागमन व्यवस्थापन र कोरोना संक्रमण नियन्त्रण
महानगरपालिकाले कोभिड १९ महामारी संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाहिरी जिल्लाबाट काठमाडौं भित्रने र विदेशबाट फर्किएका व्यक्तिहरुको आवागमन व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। कोभिड–१९ महामारी फैलन नदिन योजना तयार गरी तत्काल लागू गर्ने तथा उपत्यकाका अरु नगरपालिकासँग पनि सहकार्य गरेर कार्यान्वयनमा लैजान पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

‘कोभिड–१९ का कारण विगत तीन महिनादेखि मुलुक लकडाउनको अवस्थामा रहेकोमा हाल क्रमिक रुपमा सामान्यतर्फ उन्मुख भइरहेको महशुस भए पनि परिस्थिति कुनै पनि बेला विषम हुन सक्ने देखिन्छ। यो महामारीबाट पूर्ण उन्मुक्ति कहिलेसम्म पाइन्छ भन्न सकिने स्थिति छैन।’ नीति तथा कार्यक्रममा भनिएको छ।

व्यापार व्यवसायमा सहुलियत, करमा छुट 
कोभिड–१९ का कारण अस्तव्यस्त बनेको महानगरपालिकाभित्रको व्यापार व्यवसायलाई स्वभाविक अवस्थामा फर्काउन चुनौती रहेको नीति तथा कार्यक्रममा उल्लेख छ। महानगरभित्र संचालित व्यापार व्यवसायहरुलाई विशेष सहुलियतको नीति महानगरले लिएको छ। ‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको व्यवस्था मिलाइनेछ। उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रवर्द्धन मेला आयोजना गरिनेछ।’ नीति तथा कार्यक्रममा भनिएको छ।  

महानगरपालिकाले आगामी आर्थिक वर्षलाई करदाता अभिलेखन वर्ष घोषणा गरेको छ। आगामी आर्थिक वर्षभित्रै वैज्ञानिक र एकिकृत करदाता अभिलेख तयार पार्न व्यवस्थापनमा स्नातक र स्नातकोत्तर अध्ययनरत जनशक्ति परिचालन गरी कोभिड–१९ बाट समस्यामा परेका करदाताहरुलाई उचित छुट तथा सहुलियतको व्यवस्था मिलाउने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। 

व्यवस्थित फुटपाथ र साइकलमा अनुदान 
महानगर क्षेत्रभित्रको फुटपाथ व्यवस्थापनलाई पनि महानगरपालिकाले प्राथमिकतामा राखेको छ। सर्वसाधारणको दैनिक आवागमन सहजता बनाउन तथा भौतिक दूरी कायम राख्न मुख्य सडक, बजार तथा चोकहरुमा फुटपाथ व्यवस्थित र चौडा  बनाउने नीति महानगरपालिकाको छ। ‘भौतिक दूरी कायम राखी यात्रा गर्न सबैभन्दा सरल र कम खर्चिलो यातायातको साधन साइकल भएको हुँदा महानगरबासीलाई साइकल प्रयोग गर्न प्रोत्साहन गरिनेछ। महानगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरुलाई साइकल खरिदमा अनुदान दिने नीति लिइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ। 

( यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  यो लेख नेपाल लाइभबाट सम्भार गरिएको हो र  यसको पूर्णपाठको लागि यँहा  क्लिक  गर्नुहोला  । )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links