कानुन अभावमा कर संकलन प्रभावित

प्रदेश नम्बर ४ को सरकारले समयमै विभिन्न करसम्बन्धी कानुन बनाउन नसक्दा त्यसको प्रभाव स्थानीय तहमा परेको छ । प्रदेश सरकारले समयमै कर संकलनसम्बन्धी केही कानुन बनाउन नसक्दा कर संकलनमा आफूहरूलाई असर परेको पोखरा–लेखनाथ महानगरपालिकाका उपमेयर मन्जुदेवी गुरुङले बताइन् । 
न्यायिक समितिको अध्यक्षसमेत रहेकी उपमेयर गुरुङले प्रदेश सरकारले प्राकृतिक स्रोतसाधन, मनोरन्जन, बहाल बितौंला (सार्वजनिक स्थलमा हुने मेला महोत्सव) को करको विषयमा हालसम्म कुनै कानुन बनाएर दर रेट दिन नसक्दा आफूहरूलाई कर संकलनमा समस्या परेको उनको गुनासो छ । पोखरा–लेखनाथ महानगरपालिकाले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमेयर गुरुङले प्रदेश सरकारभन्दा पहिला स्थानीय तहको निर्वाचन भए पनि कर संकलनसम्बन्धी कानुन नबन्दा अघि बढ्न नसकेको उनको भनाइ छ । 
उनका अनुसार वैशाख मसान्तसम्म घर दर्ता करबाट करिब ६५ करोड रावस्व संकलन भए पनि कानुन अभावमा मालपोत कार्यालयले संकलन गरेको उक्त रकम महानगरपालिकाको खातामा आउन सकेको छैन । त्यसैगरी अन्य कर संकलन गर्ने विषयमा कुनै दर तथा रेट नतोकिएकाले आफूहरूले कर संकलन गर्न नसकेको उनले बताइन् । आर्थिक वर्ष ०७४/७५ मा महागरपालिकाको बजेट ४ अर्ब ३ करोड ८२ लाख थियो । चालू आर्थिक वर्षमा महानगरको एक अर्ब ३८ करोड ४० लाख कर संकलनको लक्ष्य छ । केही कर बाँडफाँड हुने र केहीमा कर संकलन गर्न नपाए पनि विभिन्न क्ष्ोत्रबाट लक्ष्य प्राप्ति हुने गरी कर संकलन कार्य तीव्र पारिएको उपमेयर गुरुङले बताइन् । उनका अनुसार घर दर्ता करबाहेक हालसम्म ४० करोड कर संकलन भइसकेको छ ।

 फेवाताल संरक्षणमा जोड 
पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले प्रदेश र संघको निर्वाचन र कर्मचारीहरूका कारण आफूहरूले सोचेजस्तो विकास निमार्ण गर्न नसकेको बताए । स्थानीय तहमा निर्वाचित भई आएको करिब एक वर्ष भएको अवसरमा आफूहरूले जनता सामु दिएका धेरै कामको सुरुवात भएको र केही काम बन्ने तर्खरमा रहेको उल्लेख गर्दै मेयर जिसीले केही काम सम्पन्न भएको दाबी गरे । 
सुशासन तथा संस्थागत विकासतर्फ २८ वटा ऐन, कार्यविधि निर्देशिका तथा नियमावली तयार र जेष्ठ नागरिकलाई १० प्रतिशत वृद भक्तामा वृद्धि, ३३ वटै वडा कार्यालयमा सचिव नासु र कम्प्युटर अपरेटरको ब्यवस्थालगायतको काम गरेको मेयर जिसीले बताए । आईटीतर्फ प्रविधिमैत्री सेवा ३३ वडामै इन्टरनेट सेवासहित अनलाइनमार्फत पञ्जिकरण घटना दर्ताको सुरुवात, महानगरपालिकाको नागरिक वडापत्र मोबाइल एप्प सिस्टमको विकाससमेत गरिएको मेयर जिसीले जनाए ।

-दीननाथ बराल

यो समाचार कारोबार दैनिक बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links