अनलाइनबाटै कर तिर्न सकिने

चितवन, जेठ २२ गते । आन्तरिक राजश्व कार्यालयमा अनलाइनबाट विवरण र राजश्व बुझाउन सकिने भएको छ । करदाताले बिक्री भएका र अग्रिम कर काटेर राखेको रकम कर कार्यालयलाई असार ७ गतेभित्र बुझाउन सूचना जारी गरेको छ ।

आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुभप्रसाद रिजालले फागुन, चैत र वैशाखमा उठाएको मूल्य अभिवृद्धि कर र अन्तःशुल्क रकम असार ७ गतेभित्र भुक्तानी गर्न सूचित गरिएको बताउनुभयो । उहाँका अनुसार अग्रिम कर कट्टी रकम र चैत महिनामा भुक्तानी गर्नुपर्ने चालू वर्षको दोस्रो किस्ताको आयकरको रकम पनि सोही समयमा भुक्तानी गर्नुपर्ने छ । लकडाउनको समयमा करदाताले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको काम नगरेको भए पनि विवरण भने बुझाउनुपर्ने छ ।

करदाताले उठाएर कार्यालयलाई तिर्न राखेको रकम मात्र भुक्तानी गर्न भनिएको उहाँको भनाइ छ । लकडाउनले हिँडडुल गर्न अप्ठ्यारो परेमा आन्तरिक राजश्व विभागको वेबसाइट www.ird.gov.np मा गई आफूले भर्नुपर्ने विवरण भरेर आफ्नो फार्मको खाताबाट सोझै राजश्व कार्यालयको खातामा भुक्तानी गर्न सकिने छ । जसका लागि अप्ठ्यारो छ उनीहरुले सम्बन्धित बैंकबाट भुक्तानी गर्न सकिने उहाँले बताउनुभयो । लकडाउनका समयमा अतिरिक्त कर तिर्न नभनेको भन्दै उहाँले भन्नुभयो, “करदाताले कार्यालयलाई तिर्न विभिन्न माध्यमबाट सङ्कलन गरेको कर तिर्नु भनेको हो ।” फागुनअघिका महिनाका विवरण र करका लागि भने म्याद थप नभएको उहाँले स्पष्ट पार्नुभयो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष राजु श्रेष्ठले अहिले लकडाउनै भएकाले कम्तीमा असार २५ गतेसम्म समय दिनुपर्ने बताउनुहुन्छ । लकडाउनका कारण व्यवसाय बन्द भएकाले सङ्कटको समयमा कर तिर्ने पैसा कर्मचारीको तलबलगायतमा खर्च भएको भन्दै लकडाउन खुलेपछि मात्र कर तिर्न सहज हुने उहाँले बताउनुभयो । यस कार्यालयमा करिब ६० हजार करदाता रहेका छन् । चितवन र नवलपुर जिल्ला हेर्दै आएको यस कार्यालयले गएको वैशाखसम्म रु २१ अर्ब राजश्व सङ्कलन गरेको छ । त्यस अवधिको लक्ष्य रु ३५ अर्ब रहेको थियो । यस वर्षको लक्ष्य रु ४३ अर्ब रहेको छ ।

(यो समाचार  गोरखापत्र अनला इन   मा , २२ जेष्ठ २०७७ प्रकाशित लेख बाट  साभार  गरिएको  हो  । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links