कोलकाता बन्दरगाहमा हडतालले वीरगंज भन्सार प्रभावित, माघमा लक्ष्यभन्दा ३ अर्ब कम असुली


वीरगंज। वीरगंज भन्सार कार्यालयको गत माघ महिनाको राजस्व असुली घटेको छ । विभिन्न कारणले निर्धारित लक्ष्यभन्दा १२ दशमलब ४१ प्रतिशत कम राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

वीरगंज भन्सारका सूचना अधिकारी मनीष महतोका अनुसार चालू आर्थिक वर्षको माघमा  १३ अर्ब ७२ करोड ८४ लाख ६८ हजार रुपैयाँ लक्ष्य तोकिएकोमा १० अर्ब ६६ करोड ५१ लाख ५४ हजार रुपैयाँ राजस्व मात्र संकलन भएको हो ।
लक्ष्यभन्दा करिब ३ अर्ब रुपैयाँ एकै महिनामा कम असुली हुँदा पछिल्लो ७ महिनाको राजस्व असुलीमा पनि असर पारेको कार्यालयका सूचना अधिकारी महतोले बताए ।

भन्सारबाट बितेको माघ महिनामा विविध कारणले आयात घटेपछि राजस्व संकलन पनि घटेको हो । सूचना अधिकारी महतोले माघ १४ गते देखि २४ गते सम्म कोलकत्ता बन्दरगाहमा क्लियरिङ एजेन्टहरुको १० दिने हडतालको कारण समान कम आउनुका साथै, बजारमा पैसा अभावले आयातको परिमाण घटिरहेको बताए ।

उनले लिक्विडीटी क्रन्चको कारण पनि चारपाङ्ग्रे विलासी गाडीहरुमा जिप, भ्यान, कारजस्ता सवारीसाधनको पनि आयातमा कमी आएको बताए ।

पहिले बैंकले ८० प्रतिशतसम्म डाउनपेमेन्टमा अटोमोबाइलमा ऋण दिने गर्थे भने हालको नयाँ मौद्रिक नीति अनुसार ५५ प्रतिशत डाउन पेमेन्टमा ऋण दिने गर्नाले गाडीको खरिद तथा आयातमा कमी हुन गएको उनको अनुमान छ ।

चालू आर्थिक वर्षको पछिल्लो ७ महिनामा लक्ष्य भन्दा वीरगंज भन्सार कार्यालयले साढे ४ प्रतिशत कम राजस्व अर्थात ४ अर्ब रुपैया राजस्व कम असुली गरेको छ । सबैभन्दा बढी माघको असुलीले असर पारेको हो ।

माघ सम्म ९२ अर्ब,२६ करोड ७१ लाख ५७ हजार रुपैयाँ राजस्व लक्ष्य तोकिएकोमा ८८ अर्ब ४७ करोड १५ लाख ८८ हजार रुपैयाँ राजस्व असुली भएको हो ।

वीरगंज भन्सारले गत आर्थिक वर्ष २०७४/०७५ को यही अवधीमा ७२ अर्ब ५७ करोड १९ लाख १० हजार रुपैयाँ राजस्व लक्ष्य थियो भने असुली ७० अर्ब ५१ करोड ७७ लाख ५२ हजार रुपैयाँ  भएको थियो ।

यो समाचार  बिजमाण्डू डटकम बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links