व्यवसायीले कर तिर्न थालेपछि सहज बन्दै राज्य कोष, ११ दिनमा ४२ अर्ब राजस्व संकलन

काठमाडौं। व्यवसायीले स्वफुर्त रुपमा कर तिर्न थालेपछि सरकारको खाता सहज बन्दै गएको छ। करिब ८० दिनको कडा प्रकृतिको लकडाउनबाट शिथिल बन्दै भएको राज्यकोष लकडाउन खुकलो बनेपछि विस्तारै सहज स्थितिमा फर्किन थालेको हो।

असार महिना सुरु भएपछि कर संकलनको गति बढ्दा सरकारी कोष ४० अर्बभन्दा बढि बचतमा गएको महालेखा नियन्त्रक कार्यालयका महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बताए। उनका अनुसार राज्यकोष बचत लकडाउन अवधिमा १९ अर्ब भन्दा कम भएको थियो।  

कार्यालयको तथ्यांक अनुसार सरकारले पछिल्लो ११ दिनमा सबैखाले आम्दानीबाट ४२ अर्ब राजस्व संकलन गरेको छ। यस्तै यो अवधिमा ३९ अर्ब खर्च गरेको छ। 
पछिल्लो ११ दिनमा आन्तरिक तथा भन्सार महसुल संकलनको दर वृद्धि हुँदै गएको छ। भन्सारबाट दैनिक ९० करोडसम्म राजस्व संकलन भैरहेको छ भने आन्तरिक राजस्व दैनिक १ देखि ३ अर्बसम्म संकलन भैरेहको छ। 

पछिल्लो ११ दिनमा २५ अर्ब आन्तरिक राजस्व संकलन भैसकेको विभागका महानिर्देशक  बिनोदबहादूर कँवरले बताए। यो महिना विभागले ८१ अर्ब राजस्व संकलनको लक्ष्य राखेको छ। उनका अनुसार साना तथा ठूला व्यवसायीहरुले धमाधम कर तिर्दा राजस्व संकलनको गति बढेर गएको छ। असार लागेपछि सूर्य नेपालले ९० करोड, एनसेलले १ अर्ब २० करोड कर तिरिसकेका छन्।

खर्च दबाब भौतिकमा
सरकारले कोभिड १९ को महामारी रोकथाम गर्नका लागि १० अर्ब बढि रकम खर्चिसकेको छ। जसमा साढे ६ अर्बभन्दा बढि रकम अर्थमन्त्रालयले निकासा दिइसकेको छ। अर्थमन्त्रलयमा सबैभन्दा धेरै दबाब भौतिक मन्त्रालयको रहेको छ। 

भौतिक अन्तर्गत सडक विभागले अर्थसँग ७ अर्बको भुक्तानी माग गरेको छ। विभागले सडक, पुल निर्माणको भुक्तानीका लागि ताकेता गरिरहेको छ। विभागले ३ अर्ब २२ करोड रुपैयाँको पुल निर्माणको बिल पेश गरेको छ भने अन्य सडक निर्माणको बिल रहेको छ। 

कोभिड १९ को कारण पुँजिगत खर्चमा सुस्तता आएको छ। आर्थिक वर्ष सकिन लाग्दा ३२.४६ प्रतिशत मात्रै खर्च भएको छ। विकास खर्चको धेरै हिस्सा ओगट्ने ठूला पुर्वाधारहरुको काम अघि नबढ्दा खर्च बढ्न सकेको छैन। 

यस्तै कतिपय आयोजनाले बजेट सरेन्डर समेत गरिसकेका छन्। सरकारले अहिले नियमित तलब भत्ताको चालु शिर्षकमै खर्च भैरहेको छ। असार महिना लागेयता सरकारले २६ अर्ब चालु खर्च शिर्षकमा खर्च गरेको छ। यस्तै पुँजिगत तर्फ ५ अर्ब ११ करोड मात्रै खर्च भएको छ। 

साँवा ब्याज नियमित भुक्तानी
सरकारले सार्वजनिक ऋण र बाह्य ऋणको साँवा ब्याज नियमित भुक्तानी गरिरहेको छ। 

लकडाउन अवधिको साँवा ब्याज भुक्तानीको समय सार्न अर्थमन्त्री डा. युवराज खतिवडाले दाता निकायसँग माग गरेका थिए। सरकारको माग दाता निकायले नमानेपछि सावा ब्याज नियमित भुक्तानी गरिरहेको छ।
 
(यो समाचार बिजमाण्डू  १४ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links