राजस्व लक्ष्यको ग्याप ७४ अर्ब रुपैयाँ पुग्यो, आन्तरिक भ्याटमा लक्ष्यभन्दा बढी संकलन

काठमाडौं । सरकारलाई चालु आर्थिक वर्षमा राजस्वको लक्ष्य भेट्टाउन अब असम्भव नै हुने देखिएको छ ।

कात्तिक मसान्तसम्ममा ७४ अर्ब रुपैयाँको राजस्व ग्याप भएको छ । आयात घटेपछि सरकारले राजस्वको लक्ष्य भेटाउन सकेको छैन ।कात्तिक मसान्तसम्ममा ३ खर्ब ३० अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा २ खर्ब ५६ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

कात्तिक सम्ममा भन्सार तर्फ ७६ अर्ब ६८ करोड रुपैयाँ लक्ष्य निर्धारण भएकोमा ५१ अर्ब ७७ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

जसमा निर्यात गर्दा हुने वस्तुको भन्सार महशुल लक्ष्यभन्दा बढी हुने पनि आयातमा ग्याप छ । आयात हुने वस्तुबाट सरकारले कात्तिक मसान्तसम्ममा ६७ अर्ब लक्ष्य रहेकोमा ४६ अर्ब मात्र संकलन भएको छ ।

मूल्य अभिबृद्धि कर तर्फ १ खर्ब ८ अर्बको लक्ष्यमा ८४ अर्ब मात्र संकलन भएको छ । जसमा आयात हुने वस्तुबाट ७० अर्बको लक्ष्य राखिएकोमा ४० अर्ब संकलन भएको छ ।

आयात हुने वस्तुबाट संकलन हुने भ्याट लक्ष्य अनुसार संकलन नभएपनि आन्तरिक उत्पादनमा भने सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । ३७ अर्ब रुपैयाँको आन्तरिक उत्पादन तथा सेवाबाट भ्याटको लक्ष्य राखिएकोमा सरकारले ४३ अर्ब रुपैयाँ संकलन गरेको छ ।

आयकर तर्फ भने सरकारले राजस्वको लक्ष्य भेटाउन सकेको छैन । आयकरमा ५३ अर्ब रुपैयाँको लक्ष्य कात्तिक मसान्तसम्म राखिएकोमा ४५ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

अन्तशुल्क तर्फ पनि ५६ अर्ब रुपैयाँको लक्ष्य राखिएकोमा ४३ अर्ब रुपैयाँ मात्र संकलन भएको छ ।

गैर कर तर्फ भने लक्ष्यको नजिक राजस्व संकलन भएको छ । २६ अर्ब रुपैयाँको लक्ष्यमा गैर कर तर्फ २४ अर्ब रुपैयाँ संकलन भएको छ । सरकारले कात्तिक मसान्तसम्म ७५ प्रतिशत मात्र लक्ष्य पुरा गरेको छ ।

चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य छ । अबको ८ महिनामा ८ खर्ब ५६ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्छ ।

कर प्रशासनका अधिकारीहरु चालु आर्थिक वर्षमा राजस्व संकलनको लक्ष्य पुरा नहुँने बताउँछन् । कर प्रशासकहरुले सार्वजनिक कार्यक्रममा नै राजस्वको लक्ष्य बढी राखिएको हुँदा त्यो पुरा नहुँने बताएका छन् ।

अर्थमन्त्री डा युवराज खतिवडाले भने आन्तरिक तर्फ लक्ष्यभन्दा बढी भ्याट संकलन भएकोलाई सफलताको रुपमा प्रस्तुत गरेका छन् ।

व्यवसायीहरु भने अघिल्लो वर्षको आयात भएको सामानको उत्पादनले यो वर्ष आन्तरिक तर्फ भ्याट लक्ष्यभन्दा बढी संकलन भएपनि अबको दिनमा त्यसमा कमी आउने बताउँछन् ।

‘औद्योगिक क्षेत्रलाई चाहिने कच्चा पदार्थको आयात घटेको छ, निर्माण क्षेत्रको बिक्रीमा कमी आइसकेको छ,सरकारले आन्तरिक उत्पादन तर्फको भ्याटको लक्ष्य यो वर्ष नै भेटाउन मुश्किल पर्न सक्छ,’एक व्यवसायीले भने ।

अर्थमन्त्री खतिवडाले भने लक्ष्य अनुसार राजस्व संकलन नभएको विषयमा आफु जबरजस्ती गरेर राजस्व संकलनको लक्ष्य पुरा गर्नेमा नभएको भन्ने प्रतिक्रिया दिने गरेका छन् ।

सरकारले बजेट निर्माण गर्दा प्रमुख स्रोतका रुपमा राजस्वलाई राख्ने गर्छ । राजस्व संकलन लक्ष्य अनुसार संकलन नभएमा सरकारले चालु खर्च चलाउनको लागि पनि ऋण लिनुपर्ने अवस्था आउन सक्ने अर्थविद्हरु बताउँछन् ।

क्लिकमान्डु

(मिति  २ मंसिर २०७६, सोमबार क्लिकमान्डु मा  प्रकाशित  यो समाचार  साभार गरिएको हो  एवं  क्लिकमान्डु को यो  लिंकमा गई पढ्न सकिनेछ । यो  लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  ।  ) 

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links