तल्ला सरकारलाई साढे २९ अर्ब राजस्व बाँडफाँड

चालू आर्थिक वर्ष ०७५/७६ को ८ महिनामा राजस्व बाँडफाँडका माध्यमबाट प्रदेश तथा स्थानीय सरकारसमक्ष साढे २९ अर्ब रुपैयाँ बजेट पुगेको छ । चालू आवमा पहिलोपटक राजस्व बाँडफाँडका माध्यमबाट संघीय सरकारमार्फत संघ र स्थानीय तहले बजेट प्राप्त गरेका हुन् । अर्थ मन्त्रालयका अनुसार त्यसमध्ये आवको ८ महिना (फागुन मसान्तसम्म) २९ अर्ब ४१ करोड २४ लाख रुपैयाँ स्थानीय र प्रदेश सरकारसमक्ष पुगेको छ ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनको प्रावधानअनुसार संघीय सरकारले उठाउने कुल राजस्वमध्ये मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनमा लाग्ने अन्तःशुल्कलाई स्थानीय र प्रदेश तहमा समेत बाँडफाँड गर्नुपर्छ । ऐनअनुसार यस्तो राजस्वको ७० प्रतिशत संघीय सरकारसमक्ष रहन्छ भने १५–१५ प्रतिशत राजस्व भने तल्ला दुई सरकारलाई बाँडफाँड हुन्छ । 

अर्थ मन्त्रालयले चालू आवमा तल्ला सरकारसमक्ष पुग्ने गरी १ खर्ब १४ अर्ब २४ करोड रुपैयाँ संकलन हुने प्रक्षेपण गरेको छ । सरकारले कुल ९ खर्ब ४५ अर्ब ५५ करोड राजस्व संकलनको लक्ष्य लिएको छ । त्यसमध्ये १ खर्ब १४ अर्ब २४ करोड रुपैयाँ राजस्व बाँडफाँड हुनेछ भने ८ खर्ब ३१ अर्ब ३१ करोड रुपैयाँ संघीय सर्वसञ्चित कोषमा दाखिला हुनेछ । 

कसरी बाँडफाँड हुन्छ राजस्व 
पहिले संघीय सरकारको विभाज्य कोषमा जम्मा हुने रकमलाई हरेक महिनाको सकिएपछिको १५ दिनभित्र प्रदेश र स्थानीय तहको अलग–अलग विभाज्य कोषमा हस्तान्तरण गर्नुपर्ने प्रावधान छ । संघीय सरकारले राजस्वबाट उठाउने रकमको बाँडफाँड गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सूत्र बनाएको हुन्छ । सोही सूत्रका आधारमा कुन स्थानीय तहले कति रकम पाउने भन्नेबारे तय हुन्छ । यसक्रममा आयोगले जनसंख्या तथा जनसांख्यिक विवरण, क्षेत्रफल, मानव विकास सूचकांक, खर्चको आवश्यकता, राजस्व संकलनमा गरेको प्रयास, पूर्वाधारजस्ता सूचकलाई बाँडफाँडका आधारमा मानेको छ । यो रकमले तल्ला सरकारहरूले आयका रूपमा गणना गरी सोही आधारमा बजेट बनाएका हुन्छन् । यो रकम संघबाट तल्ला सरकारसमक्ष जाने वित्तीय अनुदानभन्दा फरक विषय हो । 

यो समाचार  नया पत्रिका दैनिक बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links