७ अर्ब राजस्व संकलन


रुपन्देही- आन्तरिक राजस्व कार्यालय भैरहवा चालू आर्थिक वर्षको १० महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको छ । साउनदेखि वैशाखसम्म राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
यो अवधिमा ६ अर्ब ९० करोड २४ लाख राजश्व संकलनको लक्ष्य रहेकामा वैशाखसम्म कार्यालयले ७ अर्ब २५ करोड ६१ लाख राजस्व संकलन गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए । संकलित राजस्व लक्ष्यभन्दा ५ प्रतिशतले बढी हो । विभागले कार्यालयलाई आव २०७४-७५ का लागि ९ अर्ब ६२ करोड ९९ लाख रुपैयाँ लक्ष्य दिएको थियो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिकासहित ८ गाँउपालिका र नवलपरासीको सदरमुकाम रामग्रामसहित दक्षिणी भाग कार्य क्षेत्र यो कार्यालयअन्तर्गत छ । “कर शिक्षाको प्रभावकारिता, आमनागरिकमा कर तिर्नुपर्छ भन्ने भावनाको विकास, करको दर र दायराबारे बुझाउन सक्दा राजस्व संकलन बढेको हो,” प्रमुख कर अधिकृत ढकालले भने, “करको दायरामा नआएका करदातालाई दायरामा ल्याउन सक्नु, कर छली गर्नेहरूमाथि कारबाही र विभिन्न निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थालगायत सरकारी गैरसरकारी निकायको सहयोग र कर्मचारीको लगनशीलता र पारदर्शिताले गर्दा विभागले दिएको लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सकेका हौं ।” 
कार्यालयका अनुसार चालू आवको वैशाखसम्म मूल्य अभिवृद्धि करतर्फ ७३ करोड ४१ लाख राजस्व संकलन भएको छ । मुअकरमा ७३ करोड २७ लाख लक्ष्य राखिएको थियो । यस्तै अन्तःशुल्क लक्ष्य ५ अर्ब २० करोड ४८ लाख राखिएकोमा ५ अर्ब ४९ करोड ८७ लाख संकलन भएको छ । स्वास्थ्य सेवातर्फ ६८ लाख १८ हजार राजस्व संकलन भएको छ । स्वास्थ्य सेवामा ५६ लाख ९३ हजार रुपैयाँ लक्ष्य राखिएको थियो । शिक्षातर्फ १ करोड १ लाख लक्ष्य राएिकोमा जम्मा ८४ लाख मात्रै संकलन भएको कार्यालयले जनाएको छ ।
यस्तै आयकर लक्ष्य ८५ करोड ९९ लाख रहेकोमा ९२ करोड ९१ लाख राजस्व संकलन भएको छ । बहाल कर लक्ष्य ३ करोड ४ लाख रहेकोमा ४ करोड र ब्याज कर लक्ष्य ५ करोड ८६ लाख राखिएकोमा ३ करोड ८९ लाख संकलन भएको छ । कार्यालयले सेवावापत र वस्तुगत कारोबारमा मात्रै राजश्व संकलन गर्छ । सेवाका हकमा २५ करोड रुपैयाँसम्म कारोबार गर्ने संघसंस्थाले राजश्व दाखिला गर्ने गर्छन् । भने वस्तुगत कारोबारतर्फ ४० करोडसम्मका करदाताले कर दाखिला गर्छन् । ४० करोडमाथिको कारोबार गर्नेहरूले ठूला करदाता कार्यालयमा राजस्व बुझाउने प्रावधान छ ।

यो समाचार  कारोबार दैनिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links