मुख्य नाकामै उठेन लक्ष्यअनुसार राजस्व


काठमाडौं । सरकारले आयातनिर्यात कारोबारका आधारमा सबैभन्दा ठूलो नाका वीरगञ्जबाटै लक्ष्यअनुसार राजस्व उठाउन सकेन । वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष (आव) २०७७/७८ को पहिलो ६ महीनामा तोकिएको लक्ष्य भेट्टाउन असफल भएको हो ।

यो भन्सार कार्यालयले चालू आवको साउनदेखि पुससम्मको अवधिमा लक्ष्यको ८६ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार अधिकृत रमेश सुकमनीका अनुसार ६ महीनामा ७३ अर्ब ५५ करोड ४४ लाख रुपैयाँ राजस्व उठेको छ ।

वीरगञ्ज भन्सारलाई यो अवधिका लागि ८५ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य दिइएको थियो । यो राजस्व लक्ष्य गत आव २०७६÷७७ को समीक्षा अवधिको तुलनामा १२ अर्ब रुपैयाँ कम हो ।

कोरोना महामारीका कारण आयात, आवागमन, उत्पादन र आपूर्तिमा परेको असरका कारण भन्सारले लक्ष्यअनुसार राजस्व उठाउन नसकेको अधिकृत सुकमनीले बताए । ‘यति असहज अवस्थामा पनि यो ६ महीनामा यत्तिको राजस्व उठ्नुलाई उपलब्धि नै मान्नुपर्छ,’ सुकमनीले भने ।

वीरगञ्ज नाकाबाट हुने आयातनिर्यात विस्तारै लयमा फर्किइरहेकाले आगामी महीनामा राजस्वमा सुधार आउने भन्सारले बताएको छ । यो भन्सारले चालू वर्षको ६ महीनामा पैठारी महसुल २८ अर्ब रुपैयाँ उठाएको छ ।

निकासीबापत ७२ लाख रुपैयाँ राजस्व लिएको छ । मूल्य अभिवृद्धिकर २५ अर्ब ४४ करोड रुपैयाँ संकलन भएको छ । अन्तःशुल्क ८ अर्ब ६६ करोड उठाएको भन्सारले पेट्रोलियम पदार्थको आयातमा पूर्वाधार कर ६ अर्ब ८८ करोड र सडक निर्माण तथा सडक सुधार दस्तुर शीर्षकमा ३ अर्ब ८३ करोड रुपैयाँ उठेको भन्सारले जानकारी दिएको छ ।

यो वर्ष राजस्वमा योगदान दिने अधिकांश वस्तुको आयात घटेकाले त्यसको प्रभाव राजस्वमा देखिएको भन्सारको दाबी छ । राजस्वका मुख्य स्रोत मानिएका गाडी र पेट्रोलियम पदार्थ दुवैको आयात घटेको भन्सारको तथ्यांकले देखाउँछ । अधिकांश औद्योगिक कच्चापदार्थको आयात समेत खस्किएको भन्सार अधिकारीहरूले बताए ।

गाडी र पेट्रोलियम पदार्थको आयात घट्नुलाई सकारात्मक मानिए पनि औद्योगिक कच्चापदार्थको आयातमा आएको कमी भने नकारात्मक संकेत भएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया बताउँछन् । कोरोना महामारीले आवागमन, उत्पादन र मागमा कमी आएकाले कच्चापदार्थ र इन्धनको खपत पनि घटेको उनको भनाइ छ ।

(यो समाचार आर्थिक अभियान ५ माघ २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links