काठमाडौं महानगरपालिकाको बहाल कर बार्षिक १० प्रतिशत

महत्वका आधारमा क्षेत्र विभाजनः क्षेत्र, सम्पत्ति रहेको ठाउँ, बाटो, बहालमा उपलब्ध गराउने भवनको बनौट, बहालमा लिने सम्पत्तिको उपयोग र क्षेत्रफललाई आधार मानेर सूत्रका आधारमा बहाल निर्धारण हुने

काठमाडौं । काठमाडौ महानगरपालिकाले चालु आर्थिक बर्षका लागि बार्षिक १० प्रतिशत बहाल कर निर्धारण गरेको छ । बहालमा बस्ने पक्षले श्रोतमै अग्रिम बहाल कर काटेर महानगरपालिकामा दाखिला गर्नुपर्ने व्यवस्था सहित बहाल कर निर्धारण गरिएको हो । सम्पत्ति बहालमा दिँदा सम्पत्ति धनीले, बहालमा बस्ने पक्षसँग प्रचलित कानूनबमोजिम सम्झौता गरी ३५ दिनभित्र वडा समितिमा सम्झौता पेश गर्नुपर्छ । यदि सम्झौता अवधिभित्रै बहालको अवस्था हेरफेर भयो भने पनि त्यसको सूचना ३५ दिनभित्रै वडामा पेश गराउनु पर्छ । बहाल कर लिँदा यसरी बुझाइएको सम्झौता÷स्वघोषणा वा जग्गा र घरको मूल्य बहाल उपयोगजस्ता आधारमा महानगरले तयार गरेको गुणक सूत्रबाट कायम हुने दर अनुसारको बहाल रकममध्ये जुन बढी हुन आउँछ त्यसलाई बहाल रकम मानी कर निर्धारण हुने, राजस्व विभागका प्रमुख राज्यप्रकाश प्रधानाङ्ग बताउनुहुन्छ ।

गुणक सूत्रबाट बहाल निर्धारण गर्दा बहालमा बसेको जग्गाको प्रति आना मुल्यलाई १ लाखले भागा गर्दा आउने योगफलसँग घरको मुल्यको प्रति बर्गफिट मुल्यलाई १०० ले भागा गर्दा आउने योगफल जोडिन्छ । यी दुई योगफललाई जोड्दा हुन आउने अङ्कलाई प्रति बर्गफिट बहाल दर मानिनेछ । व्यवसायिक महत्वका आधारमा महानगरलाई २ क्षेत्र (सि १ र सि २) मा राखेर छुट्टाछुट्टै दर निर्धारण गरिएको छ । त्यस्तै आवासीय, कार्यालय सञ्चालन र व्यापारिक प्रयोजनका लागि पनि छुट्टाछुट्टै गुणक अङ्क कायम गरिएको छ । जसअनुसार दुवै क्षेत्रमा दिइने आवासीय प्रयोजनको बहालको फ्लोर एरियाको गुणक समान ०.२० कायम गरिएको छ । योबाहेक अन्य सवै गुणक फरक छन् । आवासीय प्रयोजनकै कार्पेट एरियाको सि १ मा ०.३० र सि २ मा ०.२५ कायम गरिएको छ । कार्यालय सञ्चालन प्रयोजनमा आएको ठाउँको फ्लोर एरियाको सि १ क्षेत्रमा ०.३५ र सि २ मा ०.३० तथा कार्पेट एरियाको सि १ मा ०.४० र सि २ मा ०.३५ कायम गरिएको छ । व्यापारिक क्षेत्रका लागि उपयोगमा आएको ठाउँको फ्लोर एरियाको सि १ मा ०.५० र सि २ मा ०.४० तथा कार्पेट एरियाको सि १ मा ०.७५ र सि २ मा ०.५० कायम गरिएको छ । यस अनुसार सि. २ को तुलनामा सि १ क्षेत्रको वहाल दर बढी हुन आउँछ ।

बहाल निर्धारण गर्न सुत्र ः बहाल उपलब्ध गराउने सम्पत्ति रहेको ठाउँ, बाटो र बहालमा उपलब्ध गराउने भवनको बनौट साथै बहालमा लिने सम्पत्तिको उपयोग र क्षेत्रफललाई आधार लिई प्रति महिना प्रति वर्ग फिट न्यूनतम बहाल दर निर्धारणको गरिन्छ ।



 
 

के हो कार्पेट एरिया र फ्लोर एरिया भनेको?

कार्पेट एरिया भन्नाले एकल प्रयोग गर्ने क्षेत्र जहाँ घर भित्रको बाटो, भान्छा, बाथरुम, भ¥याङ् समावेश हुँदैन तर फ्लोर एरिया भन्नाले एकल प्रयोगका साथै केही भाग सामुहिक प्रयोग स्थानसमेतलाई बुझाउँछ । यसमा घर भित्रको बाटो, भान्छा, बाथरुम, भ¥याङ्समेतलाई बुझाउँछ ।

यसलाई, घरभित्र कार्पेट लगाएर ढाक्न मिल्ने र आफूले मात्र उपयोग गर्ने क्षेत्रलाई कार्पेट एरिया भनेर बुझ्न सकिन्छ । यससँगै अर्थात् कार्पेट एरियासहित, प्रायः कार्पेट नलगाईने घर भित्र सामुहिक प्रयोगमा आउने बाटो, भान्छा, बाथरुम, भ¥याग सहितको क्षेत्रफललाई फ्लोर एरिया मानिन्छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को, दफा ५७ मा घर जग्गा बहाल करको ब्यवस्था छ । जस अनुसार गाउँपालिका वा नगरपालिकाले आफ्नो क्षेत्र भित्रका कुनै ब्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, कारखाना, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले बहालमा दिएकोमा त्यस्तो बहाल रकममा बहाल कर लगाउन सक्ने व्यवस्था गरेको छ ।

बहाल कर प्रयोजनका लागि बर्गीकरण गरिएका क्षेत्र 
क्षेत्र १ (सि १)

सिंहदरवार – माइतीघर – थापाथली – त्रिपुरेश्वर, त्रिपुरेश्वर – सुन्धारा – खिचापोखरी – रणमुक्तेश्वर – पुरानो महानगरपालिका (सिद्धिचरण चोक) – दमकल – बसन्तपुर – हनुमानढोका – सुरज आर्केड – आकाश भैरब – जुद्ध शालिक – न्युरोड गेट – भोंसिको – महाबौद्ध – बीर अस्पताल –कान्तिपथ), भोटाहिटी – असन चोक – कमलाक्षी, सुन्धाराबाट कान्तिपथ उत्तर तर्फ केशरमहल – त्रिदेबी मार्ग – नर्सिङ्ग चोक – जे.पी चोक – मनाङ्ग होटल – सोह्रखुट्टे उकालो – लेखनाथ मार्ग – नेपाल स्काउट चोक – केशर महल, केशर महल – नारायणहिटी संग्राहलयको दक्षिण – दरबार मार्ग (महेन्द्र शालिक) – कृष्ण पाउरोटी चोक – पुतली सडक – सिंह दरबार, रत्नपार्क – बागबजार – पुतली सडक चोक, माईतीघर – नयाँ बानेश्वर – तीनकुने – कोटेश्वर हुँदै बालकुमारी पुल, तीनकुने – सिनामंगल – गौशाला – चावहिल – बौद्ध जोरपाटी सिमानासम्म

त्यस्तै लैनचौर – लाजिम्पाट – पानीपोखरी – महाराजगञ्ज – बाँसबारी सिमाना सम्म, सोह्रखुट्टे ओरालो – बालाजु चोक – बाईसधारा – बाईपास हुँदै माछापोखरीसम्म, सानेपा पुल – बल्खु – कलंकी – स्वयम्भु – बालाजु – गोंगबु चोक – महाराजगञ्ज नारायणगोपाल चोकहुँदै चावहिल चोक सम्म, त्रिपुरेश्वर – टेकु – कालीमाटी – रविभवन हुँदै कलंकीसम्म, कालीमाटी – बल्खु हुँदै सडकको दाँया बाँया जोडिएको क्षेत्रमा रहेका घर जग्गालाई भाडामा लगाउँदा सि १ मा उल्लेख भएको अङ्कका आधारमा बहाल करको दर निर्धारण हुनेछ ।

क्षेत्र २ (सि २)

माथि उल्लेखित क्षेत्रहरु बाहेकका अन्य क्षेत्रहरुका लागि सि २ कायम गरिएको छ ।

छुटको व्यवस्था

बार्षिक रु. १ लाख भन्दा कम आम्दानी भएका, अन्य कुनै आम्दानी गर्ने श्रोत नरहेका करदाताहरुले बहाल कर छुट माग गरेमा वडा समितिले वस्तुगत अवस्था बुझेर वडा समितिको निर्णयका आधारमा वहाल कर छुट दिन सक्ने व्यवस्था पनि गरिएको छ ।

बक्यौता कर सम्बन्धी व्यवस्था

आव. व. २०७४/०७५ को बाल कर बुझाउन बाँकी करदाताले १२ प्रतिशत कर बुझाउनु पर्छ । त्यस बर्ष, संघीय सरकारलाई १० प्रतिशत बुझाइ सकेको प्रमाण भए, २ प्रतिशत मात्र कर लिने व्यवस्था मिलाइएको, राजस्व विभागका प्रमुख प्रधानाङ्गको भनाइ छ । यदि २०७४/०७५ अघिको पनि बाँकी भए २ प्रतिशतका दर करले कर लिइनेछ, प्रधानाङ्गले स्पष्ट पार्नुभयो ।

 

यो समाचार काठमाडौं अनलाईन डट कम बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links