राजस्व असुलीमा रसुवागढी भन्सारको छलाङ, अर्थमन्त्रीको कडार्इले दैनिक दुर्इ करोड राजस्व संकलन

काठमाडौं।नेपाल-चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी भन्सारमा राजस्व असुली दोब्बर हुन थालेको छ।६ महिना अघिसम्म लक्ष्य पुर्याउन समेत हम्मे पर्ने रसुवागढी भन्सारमा अहिले दैनिक दुर्इ करोड राजस्व संकलन भइरहेको छ।

जेठका लागि भन्सार विभागले यो कार्यालयलाई ३२ करोड ६७ लाख ४५ हजार रुपैयाँ लक्ष्य निर्धारण गरेकोमा २० गते आइतबारसम्ममा ४३ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ। रसुवागढी भन्सारबाट अहिले दैनिक २ करोड रुपैयाँभन्दा धेरै राजस्व संकलन भइरहेको छ। ६ महिनाअघिसम्म त्यहाँबाट दैनिक १ करोड पनि राजस्व असुली हुन मुस्किल पर्ने अवस्था थियो।

अर्थमन्त्री नियुक्त हुने वित्तिकै डा युवराज खतिवडाले सम्पूर्ण भन्सार कार्यालयहरुलाई सन्दर्भ मूल्यका आधारमा भन्सार मूल्यांकन गर्न निर्देशन दिएका थिए। अर्थमन्त्रीको निर्देशनपछि भन्सार कार्यालयबाट हुने राजस्वको असुलीमा गुणात्मक परिवर्तन देखिएको हो। 'मूल्यांकनलाई वस्तुनिष्ठ बनाउने प्रयास गरिएको छ। अर्थमन्त्री ज्यूबाट निर्देशन भएअनुसारकै सन्दर्भ मूल्यमा मूल्यांकन गर्दा राजस्व असुलीमा परिवर्तन देखिएको छ,' रसुवागढी भन्सार कार्यालय टिमुरेका प्रमुख गोपाल कोइरालाले भने।

उनका अनुसार वीरगञ्जबाट सामान आयात गर्ने टेलिफोन सेवा प्रदायक र जलविद्युत लगानीकर्ताले अहिले यो नाकाबाट सामान आयात गर्न थालेका छन्। जसका कारण भन्सारको राजस्व असुलीमा पनि थप योगदान भइरहेको छ। 'टेलिकम कम्पनी र जलविद्युतका लागि चाहिने ठूला सामान पनि आउन थालेका छन्,' कोइरालाले भने, 'त्यसले गर्दा हामीलाई लक्ष्य पुरा गर्न थप सहज हुनेछ।'

रसुवागढीबाट लक्ष्यभन्दा दोब्बर राजस्व असुली भइरहेको भए पनि भन्सार सञ्चालनका लागि आवश्यक न्यूनतम पूर्वाधार समेत निर्माण हुन सकेको छैन। भन्सार कार्यालयमा एक्सरे मेसिन छैन। 'निर्णय भइसकेको छ, अब केही दिनमा नै आउँछ होला,' कोइरालाले भने। भन्सार जाँचपास खुला ठाउँमा गर्नुपर्छ। भवन नभएका कारण पानी परेको समयमा जाँचपासको काम गर्न नसकिने उनले बताए। भूकम्पका कारण चीन र नेपालको प्रमुख व्यापारिक नाका तातोपानी बन्द भएपछि दुई देशबीचको व्यापार रसुवागढीबाट हुन थालेको छ।

नेपाल र चीनबीच प्रमुख व्यापारिक नाकाका रुपमा यसलाई अघि बढाउन दुवै देश अग्रसर बनेको भए पनि त्यसअनुसारको काम भने भएको छैन।रसुवाको स्याफ्रुबेसीबाट भन्सारसम्म जाने बाटो एक लेनको छ। चीन सरकारले यो सडक दुई लेनमा स्तरोन्नति गरी कालोपत्रे गरिदिने सम्झौता गरेको छ। आउँदो अगस्टबाट यसको काम सुरु हुनेछ।

यस्तै दुई देशको सीमामा सुख्दा बन्दरगाह निर्माणको काम पनि अझै सुरु हुन सकेको छैन। भन्सार विभागले जेठमा निर्धारित लक्ष्यभन्दा ६ अर्ब रुपैयाँ धेरै राजस्व असुलीको योजनासहित काम गरिरहेको छ। विभागका महानिर्देशक तोयम रायका अनुसार जेठमा विभागलाई २९ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य निर्धारण भएकोमा त्योभन्दा ६ अर्ब धेरै अर्थात ३५ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्यसहित काम अघि बढिरहेको छ।

चालु आर्थिक वर्षको १० महिना अर्थात वैशाख मसान्तसम्ममा राजस्वको लक्ष्यभन्दा १३ अर्ब रुपैयाँ कम असुली भएको छ। वैशाखसम्ममा ५ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्षय निर्धारण भएकोमा ५ खर्ब ६५ अर्ब रुपैयाँमात्रै असुली भएको छ।

यो समाचार  बिजमाण्डू डट कमबाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links