कर तिर्न आग्रह गर्दै रत्ननगरका जनप्रतिनिधि घरदैलोमा

रत्ननगरका जनप्रतिनिधिले राजस्व तिर्न आग्रह गर्न घरदैलो सुरु गरेका छन् ।

नगरपालिकाले सुरु गरेको कर संकलन अधियानअन्तर्गत वडास्तरबाट जनप्रतिनिधिले घरदैलो सुरु गरेका हुन् । जनप्रतिनिधिहरु जनताको घर, पसल र उद्योगमा पुगेर आफ्नो व्यवसाय नगरपालिकामा दर्ता गर्न, एकीकृत सम्पत्ती कर समयमै तिर्न र व्यवसाय नविकरण गर्न आग्रह गरेको कार्यपालिका सदस्य तथा कर संकलन अभियानअन्तर्गत वडा नं ९ र १० की संयोजक सरस्वती लामाले जानकारी दिइन् ।
 

सोमबारबाट वडा नं १० र १४ मा कर संकलन सुरु गरिएको छ । वडा नं १४ मा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी र वडा नं १० मा सो वडाका वडाध्यक्ष केशव आचार्य र कार्यपालिका सदस्य संयुक्तरुपमा अभियानको उद्घाटन गरेका थिए । सो वडामा पहिलो दिन भानुचोक बजारमा रहेका पसलहरुमा पुगेर नगरपालिकामा पसल दर्ता गर्न, नविकारण गर्न र समयमै कर तिर्न आग्रह गरिएको छ ।

घरदैलोमा अभियानमा वडा सदस्य सीता भेटवाल, वडा सचिव वासु रिजाल, सामाजिक परिचालिका मन्जु आचार्य र टोल विकास संस्थाका अध्यक्षहरु भोजराज लामिछाने र छविलाल आचार्यको सहभागिता रहेको थियो । वडा नं १४ मा कार्यपालिका सदस्य निर्मला खड्काको संयोजकत्वमा घरदैलो सुरु गरिएको हो । पहिलो दिन सो वडा अन्तर्गतको मुख्य बजार डुम्रीचोकका पसलहरुमा पुगेर नगरपालिकामा पसल दर्ता गर्न, नविकारण गर्न र नियम अनुसार नगरपालिकामा राजश्व बुझाउन आग्रह गरिएको वडा अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । घरदैलोमा कार्यपालिका सदस्य खड्का, वडा सदस्य गीता दाहाल, मेलमिलापकर्ता संयोजक विष्णु भण्डारी कट्टेल, कर्मचारी निर्मला सापकोटा र टोल विकास संस्थाका अध्यक्षहरु सहभागी थिए । उद्घाटन कार्यक्रम वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

यो समाचार  नारायणी अनलाइन डटकमबाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links