निजी क्षेत्रलाई प्रोत्साहनका लागि ऋण र कर छुटका व्यवस्थाहरू आउदै छन् : अर्थमन्त्री


काठमाडौँ, असार ५ गते ।
 अर्थमन्त्री डा खतिवडाले कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्रलाई क्रमशः गतिशील बनाउन निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिइने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७७ माथिको छलफलका क्रममा मन्त्री डा खतिवडाले भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणको अनुभवका आधारमा अगाडि जान सकिने बताउँदै हाल मानवीय स्वास्थ्य समस्याबीच अर्थतन्त्रका केही सबल पक्ष कायमै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “श्रम बजारमा टुटेको हाम्रो सम्बन्धलाई पुनः संयोजन र आपूर्ति शृङ्खलालाई सहज गरिनेछ । अहिले पनि आयातमा क्रमिक सुधार हुँदै छ । हामी निजी क्षेत्रलाई विश्वासमा लिएर प्रोत्साहन दिन ऋण र कर छुटका व्यवस्थाहरु लागू गर्दैछौँ । आत्मनिर्भर अर्थतन्त्रमा जाने हाम्रो लक्ष्यमा सबैको साथ र सहयोग आवश्यक छ ।”

मन्त्री डा खतिवडाले कोरोना सङ्कट कति लामो समयसम्म रहन्छ र सरकारका लक्ष्य कति सरल वा छिटो ढङ्गले जान्छ भन्नेमा अर्थतन्त्रको विकासमा भर पर्ने उल्लेख गर्दै आगामी आर्थिक वर्षको राजश्वको शीर्षकगत बाँडफाँटअन्तर्गत राजश्व, भन्सार, अन्तःशुल्क, अन्य कर र गैरकरका प्रक्षेपणको विवरण अवगत गराउनुभयो । सरकारले आगामी आवका लागि रु १० खर्ब ११ अर्बको राजश्वको लक्ष्यसहित त्यसको २९ दशमलब नौ प्रतिशत मूल्य अभिवृद्धि करबाट असूल गरिने विधेयकमा प्रस्ताव गरेको छ ।छलफलमा कांग्रेसका देवले अर्थतन्त्रलाई कसरी गतिशील र आत्मनिर्भर बनाउने भन्ने जिज्ञासा राख्नुभएको थियो । बैठकमा सो विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव बहुमतबाट स्वीकृत भएको छ ।

दुई विधेयक स्वीकृत
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक स्वीकृत भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७७ माथि विचार गरियोस्’ र ‘ऋण तथा जमानत (चौबीसौँ संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरिएको हो ।

नेपाली कांग्रेसका जीतेन्द्रनारायण देवले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिनुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा खतिवडाले उत्पादन बढाउँदै लैजाने र आन्तरिक ऋणलाई व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो । राष्ट्रियसभाको अर्को बैठक यही असार ८ गते अपराह्न १ बजे बस्नेछ ।

(यो समाचार  गोरखापत्रअनलाइन  ५ असार २०७७  मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन  )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links