कृषि कर लगाउने प्रस्तावको विरोध


हेटौंडा-प्रदेश नम्बर ३ को प्रदेशसभामा बुधबार ‘कर तथा गैरकर राजस्व लगाउने र उठाउनेसम्बन्धी विधेयक’ प्रस्तुत भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले विधेयक प्रस्तुत गरेसँगै छलफलका लागि स्वीकृत भएको छ । 
विधेयकमाथिको छलफलमा बोल्ने अधिकांश सांसदले प्रदेश सरकारले कृषि आयमा कर लगाउन लागेको भन्दै विरोध गरेका छन् । छलफलमा बोल्दै प्रदेशसभा सदस्य प्रभात तामाङले कृषि आयमा कर लगाउँदा मूल्यवृद्धि पनि बढ्ने र कृषकहरू पनि निरुत्साहित हुने बताए । “पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थलिएको बेला कृषि आयमा पनि कर लगाउँदा गरिब, किसानमाथि अन्याय हुन्छ, मूल्यवृद्धि झनै आकाशिन्छ,” उनले भने । प्रदेशसभा सदस्य रिना गुरुङले कृषिमा कर लगाउँदा किसानहरू मर्कामा पर्ने भन्दै त्यसलाई हटाउन माग गरिन् । 
अर्का प्रदेशसभा सदस्य विजया केसीले कृषिमा आयकर लगाउँदा भूमिको वर्गीकरणलगायत विभिन्न मापदण्ड तयार गर्नुपर्ने सुझाव दिइन् । कर लगाउँनै परे ५ प्रतिशत कर लगाउन सकिने उनको भनाइ थियो । प्रदेशसभा सदस्य सीता अधिकारीले कृषिमा कर लगाउने नभई बीउबिजन, कृषि औजारमा छुट दिनुपर्नेतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिइन् । कृषि उत्पादन बढाउनमा जोड दिनुपर्ने बेलामा कर थोपरेर किसानलाई हत्तोत्साहित गर्ने काम नगर्न उनले आग्रह गरिन् । प्रदेशसभा सदस्यहरूको जवाफ दिँदै मन्त्री ढुंगेलले कृषि करको विषयले चर्चा पाउनुलाई स्वाभाविक रूपमा लिएको र यसबारे आवश्यक छलफल गरिने बताए । “कृषि उत्पादनमा कर लगाउने कि कृषि उत्पादन बेच्नेलाई कर लगाउने हो भन्नेमा हामी छलफलमै छौं त्यसको उचित निकास निस्कन्छ,” ढुंगेलले भने । प्रदेशसभामा पेश भएको प्रस्तावित विधेयकमा भने ‘कृषि आयमा कर लगाउन सकिनेछ’ भन्ने बुँदा उल्लेख छ । विधेयकमाथि प्रदेशसभा सदस्य प्रदिपकुमार कटुवाल, लेखनाथ दाहाल, शान्तिप्रसाद पौडेल, रिता माझी, विजयभक्त श्रेष्ठ, रमेश पौडेल, निमा लामा, नरोत्तम वैद्य, शोभा शाक्यले धारणा राखेका थिए । 
प्रदेशसभाको बुधबारकै बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले प्रदेश आकस्मिक कोष विधेयक र वित्तीय हस्तान्तरणसम्बन्धी विधेयक प्रतिवेदनसहित पेश गरेका छन् । विधेयक एक साताअघि दफावार छलफलका समितिमा पठाइएको थियो । आवश्यक छलफलपछि सभापति नेपालले प्रदेशसभा बैठकमा प्रतिवेदनसहित पेश गरेका थिए ।

यो समाचार  कारोबार दैनिक बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links