कर फर्स्योट अनियमिततामा दोस्रो मुद्दाको तयारी

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्स्योट आयोगबाट भएका कर मिनाहाका बाँकी फाइलमाथि अनुसन्धान सकेर मुद्दा दायर गर्ने भएको छ ।
अख्तियारले २०७१ सालमा गठित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव भई काम गरेका आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चूडामणि शर्माविरुद्ध दोस्रो मुद्दा दायर गर्ने तयारी गरेको हो । शर्माको बयान लिइरहेको अख्तियारले बाँकी अनुसन्धानका सबै प्रक्रिया पूरा भइसकेको स्रोतले जनाएको छ ।
 

अख्तियारले २०७४ साउन १ मा आयोगका तत्कालीन पदाधिकारीहरू महत, ढकाल र शर्माविरुद्ध जनही ३ अर्ब ३४ करोड रुपैयाँ बिगो र त्यसको दोब्बर जरिवाना मागदाबीसहित मुद्दा दायर गरेको थियो । बिगो र जरिवाना जोड्दा हरेकमाथि करिब १० अर्ब रुपैयाँका दरले मागदाबी थियो । झन्डै चार वर्षदेखि विशेष अदालतमा उक्त मुद्दा विचाराधीन छ । आयोगबाट २१ अर्ब रुपैयाँ कर मिनाहा भएकामा अख्तियारले पहिलो चरणमा ३ अर्ब ३४ करोड रुपैयाँ बराबरको फाइलमाथि अनुसन्धान गरेर मुद्दा दायर गरेको थियो । सोही अभियोगपत्रमा बाँकी फाइलमाथि छानबिन भइरहेकाले अनुसन्धान सकिनासाथ मुद्दा पेस गरिने भनी निर्णयको प्रतिलिपि पठाइएको थियो ।

फेरि किन ?

‘अहिले विशेष अदालतले हरेक पटकको पेसीमा नयाँ मुद्दा आयो कि आएन भनेर जिज्ञासा राखिरहेको छ, अरू मुद्दा पनि आएपछि एकैसाथ हेर्ने भनेर पहिलो मुद्दाको सुनुवाइ नै अघि बढ्न सकेको छैन,’ अख्तियार स्रोतले भन्यो, ‘त्यही भएर बाँकी फाइलमाथिको अनुसन्धान टुंग्याएर मुद्दा दायर गर्ने तयारी भएको हो ।’ कर फर्स्योट आयोगका अध्यक्ष महत र सदस्य ढकालले बयान गरिसके पनि निलम्बित अवस्थामा रहेका सहसचिव शर्मा आयोगमा उपस्थित भएका थिएनन् । त्यतिबेला अख्तियारले करिब ४५ वटा फाइलमाथिको अनुसन्धान सकेर मुद्दा दायर गरेको थियो ।

कुल १ हजार ६९ फाइलमध्ये पहिलो चरणमा ४५ वटा फाइलमाथि अनुसन्धान टुंग्याएको थियो । त्यसमा एनसेललगायतका केही विवादास्पद र चर्चित कम्पनीहरूको फाइलसमेत थियो । छानबिन हुँदै गरेका फाइलमा प्रायः एक करोडभन्दा कम रकमका छन् । बयानमै नआएको भन्दै अख्तियारले यही वैशाख ८ गते एउटा सार्वजनिक सूचना निकालेको थियो । ‘कर फर्स्योट आयोगबाट कर फर्स्योटका लागि सम्झौता भएका विभिन्न करदातासँग गैरकानुनी रूपमा सम्झौता गरी राज्यलाई ठूलो आर्थिक हानि–नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्ने उजुरीको छानबिनका क्रममा उपस्थित हुन नआएमा कानुनबमोजिम भइजाने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइन्छ,’ एक साताभित्र बयानका लागि आउनु भनी निकालिएको अख्तियारको सूचनामा भनिएको छ । अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले कर फर्स्योट आयोगको अनियमितताको विषयमा पहिलो चरणबाट मुद्दा गएपछि बाँकी रहेका फाइलमाथि अनुसन्धान भइरहेको बताए । उनका अनुसार, त्यही क्रममा बयानका लागि नआएका व्यक्तिलाई अनुसन्धान अधिकृतले सार्वजनिक सूचना निकालेका हुन् । स्रोतका अनुसार शर्माको बयान प्रक्रिया चलिरहेको छ ।

महालेखाको त्यो छानबिन

महालेखा परीक्षकको कार्यालयले २०७३ चैतमा आफ्नो वार्षिक प्रतिवेदनमा कर फर्स्योट आयोगको अनियमितता औंल्याएको थियो । प्रतिवेदनअनुसार, कर फर्स्योट आयोगले कर व्यवस्थापनका नाममा ठूलो अनियमितता गरेकाले थप अनुसन्धान हुनुपर्ने थियो । २०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले कर फर्स्योट आयोग गठन गरेका थिए । चार्टर्ड एकाउन्टेन्ड लुम्बध्वज महतको संयोजकत्वमा गठित आयोगमा अर्का चार्टर्ड एकाउन्टेन्ट उमेश ढकाल सदस्य थिए ।

सिद्धान्ततः अधिकतम ‘बक्यौता’ उठाउन र नाममात्रैको छुट दिन गठन भएको आयोगका पदाधिकारीले भने निजी कम्पनीहरूलाई ९० प्रतिशतभन्दा बढी छुट दिएर नाम मात्रैको बक्यौता उठाएका थिए । आयोगले करिब २१ अर्ब रुपैयाँ ‘अनियमितता’ गरेको महालेखाको निष्कर्ष थियो । आयोगमा १ हजार ७ सय २६ वटा निवेदन परेकामध्ये १ हजार ६९ वटा निवेदनमाथि कारबाही गरी सम्झौता भएको छ । ४० अर्ब ८३ करोड रुपैयाँको बक्यौतामाथि निवेदन परेकामा ३० अर्ब ५२ करोड रुपैयाँ फर्स्योट भएको थियो । त्यसमध्ये ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै राज्यकोषमा आएको थियो । फर्स्योटबाट करिब ६९ प्रतिशत राजस्व राज्यकोषबाट गुमेको छ ।

शर्माको ह्याट्रिक !

अख्तियारले कर फर्स्योट आयोगका बाँकी फाइलमाथि अनुसन्धान सकेर मुद्दा दायर गरे शर्माले भ्रष्टाचार मुद्दामा ‘ह्याट्रिक’ गर्नेछन् । कर फर्स्योट आयोगको कामकारबाहीमा भ्रष्टाचार मुद्दा खेपेको छ महिनाभित्र उनले गैरकानुनी सम्पत्ति आर्जनको दोस्रो मुद्दा खेपेका थिए । उनीमाथि ४ करोड २९ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको अभियोग अहिले पनि विशेष अदालतमा विचाराधीन छ ।

सामान्य परिवारमा जन्मेका शर्माको २५ आना जग्गामा साढे ३ तले घर रहेको जनाउँदै अख्तियारले उनले किताब बिक्रीबाट आर्जन गरेको एक करोड ६ लाख रुपैयाँलाई अस्वाभाविक भनेको थियो । अनुसन्धानका क्रममा अख्तियारले उनको कुल ७ करोड ९३ लाख रुपैयाँको सम्पत्ति फेला पारेको थियो । शर्माविरुद्ध सुपारी निकासीपछि अनियमित ढंगले कर फिर्ता गरेको उजुरी पनि अख्तियारमा थियो । शर्मा २०७४ जेठ १९ गतेदेखि निलम्बनमा छन् ।

(यो समाचार कान्तिपुर २१ बैशाख २०७८ मा प्रकाशित लेख बाट साभार गरिएको हो । यो लेखमा व्यक्त रायमा नेपाल ट्याक्स अनलाइनको कुनै संग्लग्नता रहेको छैन )

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links