कावासोतीमा कर कार्यालय स्थापनाको तयारी

कावासोती । नवलपुरको कावासोतीमा कर कार्यालय स्थापना हुने भएको छ । नवलपुरमा कर कार्यालय नहुँदा यहाँका उद्योगी तथा व्यवसायी कर तिर्न चितवनको भरतपुर जानुपर्ने बाध्यता छ । कर कार्यालय स्थापना हुने भएपछि यहाँका व्यवसायीहरू उत्साहित भएका छन् ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ नवलपुरका अध्यक्ष बालकृष्ण पौडेलले जिल्लामा कर कार्यालय नहुँदा निकै सास्ती बेहोर्नुपरेको बताए । उद्योग वाणिज्य सङ्घको पहलमा कर कार्यालय स्थापना हुन लागेको हो । नवलपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा चुनिएलगत्तै अध्यक्ष डाँसुराज पोखरेलले कर कार्यालय स्थापना गर्ने कामलाई प्राथमिकतामा राख्दै आएका थिए ।

‘निरन्तरको प्रयासपछि सबैको पहलमा कर कार्यालय ल्याउन सफल भएका छौं,’ पोखरेलले भने, ‘अब कर तिर्न जिल्ला बाहिर जानुपर्ने उद्योगी व्यवसायीको बाध्यता हट्ने भएको छ’ । उनका अनुसार कावासोतीमा कर कार्यालयका लागि घर खोज्ने काम भइरहेको र छिट्टै कार्यालय स्थापना भई काम सुचारु हुनेछ ।

वार्षिक कार्ययोजना पारित
नवलपुर उद्योग वाणिज्य सङ्घ नवलपुरले आर्थिक वर्ष २०७५/७६ का वार्षिक कार्ययोजना पारित गरेको छ । सङ्घका अध्यक्ष पोखरेलको अध्यक्षतामा बसेको पूर्ण बैठकले २७ बुँदे वार्षिक योजना पारित गरेको हो । सङ्घले गर्ने कार्यहरूलाई छिटो, छरितो र मर्यादित तवरले सेवा प्रवाह गर्न कार्यालयमा सफ्टवेयर जडानलाई तीव्रताका साथ अगाडि बढाइने भएको छ । उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश र केन्द्रबाट सम्बन्धन प्राप्त नगरेकाले सम्बन्धन दिलाउन तदारुकताका साथ आवश्यक पहल गर्ने निर्णय भएको पोखरेलले जानकारी दिए ।

यो समाचार आर्थिक अभियान राष्ट्रिय दैनिक  बाट साभार गरिएको हो | यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन |

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links