जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर तथा अन्य दुई भन्सारबाट निर्यात शून्य


काठमाडौँ- मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट निर्यात शून्य रहेको पाइएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार जलेश्वर, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर तथा अन्य दुई भन्सारबाट निर्यात शून्य रहेको छ । 
ती भन्सारबाट आयातको मात्रा समेत असाध्यै नगन्य मात्रामा भएको पाइएको छ । यस्तै कञ्चनपुर, गौर, सिराहा भन्सारबाट पनि नगन्य मात्रामा मात्रै आयात र निर्यात भएको पाइएको छ । चालू आवको पछिल्लो पाँच महीनाको विवरणअनुसार वीरगञ्ज भन्सारबाट ३४ दशमलव २७ प्रतिशत बराबरको आयात भएको छ । सो भन्सारबाट रु दुई खर्ब सात अर्ब ९९ करोड ७५ लाख ३१ हजार बराबरको माल वस्तु आयात हुँदा रु छ अर्ब ७३ करोड ५७ लाख बराबरको मात्रै निर्यात भएको छ । प्रतिशतका आधारमा वीरगञ्ज भन्सारबाट १७ दशमलव ९६ प्रतिशत बराबरको माल वस्तु मात्रै निर्यात भएको छ । 
पछिल्लो दिनमा भैरहवा भन्सारबाट आयात हुने मालवस्तुको मात्रा समेत बढ्दै गएको पाइएको छ । चालू आवको पाँच महीनामा सो भन्सारबाट रु एक खर्ब एक अर्ब ९० करोड १९ लाख १९ हजार बराबरको सामान आयात भएको छ । प्रतिशतका आधारमा १६ दशमलव ७९ प्रतिशत सामान सोही भन्सारबाट आयात भएको छ तर सोही भन्सारबाट रु एक अर्ब ३६ करोढ ६१ लाख ३३ हजार बराबरको अर्थात तीन दशमलव ६४ प्रतिशत मात्रै निर्यात भएको छ । 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ दशमलव ५९ प्रतिशत मालवस्तु आयात भएको छ । त्यो भनेको रु ७६ अर्ब ४३ करोड ४७ लाख २० हजार बराबरको माल वस्तु आयात भएको छ । सो भन्सारबाट रु १० अर्ब ८५ करोड ८६ लाख ६९ हजार बराबरको निर्यात भएको छ । निर्यात गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रस्थानमा रहेको छ । प्रतिशतका आधारमा २८ दशमलव ९५ प्रतिशत सामान उक्त भन्सारबाट निर्यात भएको छ । 
चौथो स्थानमा विराटनगर भन्सार रहेको छ । सो भन्सारबाट रु ७२ अर्ब २३ करोड ३२ लाख ७१ हजार अर्थात् ११ दशमलव ९० प्रतिशत बराबरको माल वस्तु आयात हुँदा रु १० अर्ब ६० करोड ३४ लाख १७ हजार अर्थात् २८ दशमलव २७ प्रतिशत निर्यात भएको छ । 
वीरगञ्ज सुख्खा भन्सारबाट रु ६१ अर्ब ८५ लाख ४६ हजार ५० हजार अर्थात् १० दशमलव १९ प्रतिशतको आयात हुँदा रु एक अर्ब ८१ करोड ३६ लाख ७७ हजार अर्थात् चार दशमलव ८४ प्रतिशतको निर्यात भएको छ । नेपालगञ्ज भन्सारबाट रु २३ अर्ब ३० करोडको आयात हुँदा रु ८९ करोड ४५ लाख ९१ हजारको निर्यात भएको छ । 
रसुवा भन्सारबाट रु १७ अर्ब ३४ करोड ८१ लाख ५९ हजार बराबरको आयात भएको छ । सोही नाकाबाट रु ५३ करोड १६ लाख २८ हजारको मात्रै निर्यात भएको छ । मेची भन्सारबाट रु १६ अर्ब एक करोड ३५ लाख ६३ हजारको आयात हुँदा रु चार अर्ब १७ करोड छ लाख ६२ हजारको निर्यात भएको छ । 
कञ्चनपुर भन्सारबाट चालू आवको पाँच महीनामा रु १० अर्ब ५० करोड ५४ लाख ५३ हजारको आयात हुँदा रु १३ करोड ४७ लाख ७६ हजार बराबरको निर्यात भएको छ । कैलाली भन्सारले पाँच महीनामा रु आठ अर्ब २९ करोड ४५ लाख ५५ हजारको आयात गरेको छ भने निर्यात रु २८ करोड ५६ लाख ४९ हजारको मात्रै निर्यात गरेको छ । 
जलेश्वर भन्सारबाट रु चार अर्ब ३७ करोड १० लाख ९७ हजार बराबरको आयात हुँदा निर्यात भने शून्य रहेको छ । भन्सार विभागका अनुसार हाल देशभर ३१ भन्सार सञ्चालनमा छन् । 

यो समाचार  कारोबार दैनिक बाट साभार गरिएको हो । यो समाचार तयार गर्नमा नेपाल ट्याक्स अनलाइनको कुनै संलग्नता छैन ।

Media Roundup includes tax related news coverage in media, Nepal and abroad, that we find useful to share to our readers. We do not own the contents of these news articles, and Nepal Tax Online team is not included in the process of publication of these news. We also do not vouch for authencity when publishing. The source of the news article is published at the bottom of each news, where possible.

Social Links